काठमाडौं ।
सन् १९९० को दशकमा भुटानबाट विस्थापित हुन बाध्य भुटनिज शरणार्थीको कथामा ल्हो–छाम्पा नामक फिल्म बन्ने भएको छ।
ल्हो–छाम्पा भुटानको दक्षिण भेगमा बस्ने नेपालीलाई चिनाउने शब्द हो।
भुटानबाट नेपालीभाषी लखेटिँदाको अवस्था, शरणार्थी शिविरका पीडा र तेस्रो देश पुनर्वासमा जानुअघि शिविरमा देखिएका द्वन्द्वलाई प्रस्तुत गर्ने फिल्म नक्षत्र लाइभ म्युजिकका लागि अर्जुन सुवेदीले निर्माण गर्नेछन्। निर्माता सुवेदीले आफूले भोगेको कालबेला आउ“दा पुस्तामाझ दस्तावेजीकरण गर्ने उद्देश्यले फिल्म निर्माणमा अग्रसर भएको बताए।
‘भुटानदेखि नेपालका शरणार्थी शिविरसम्ममा हाम्रो पुस्ताले जे भोग्यो, त्यो पछिको पुस्ताका लागि पनि दृश्यको माध्यममा संरक्षित रहोस् भन्ने उद्देश्यले यो फिल्म निर्माण गर्न लागेका हौँ। तर यो कथालाई हामी रमाइलो गरी वाचन गर्नेछौँ’ सुवेदीको भनाइ छ।
फिल्म नरेशकुमार केसीले निर्देशन गर्नेछन्। उनको निर्देशनमा बन्ने यो तेस्रो फिल्म हुनेछ। नरेशले यसअघि डाइङ क्यान्डल र रोमियो एन्ड मुना नामका दुई फिल्म निर्देशन गरेका छन्। नरेशले फिल्मले मान्छेको स्मृतिदंश र पहिचानविनाको अवस्था प्रस्तुत गर्ने बताए।
‘मानिस जहाँ गए पनि उसलाई स्मृतिले पछ्याइरहन्छ। यो फिल्मले पनि स्मृति र मान्छेको भूगोलसँग जोडिएको पहिचानको कथा भन्छ। सँगसँगै कथाले आप्रवासनका आयाम पनि समेट्ने छ’, नरेश भन्छन्।
फिल्ममा सामीप्यराज तिमल्सेनाको पटकथा र अर्जुन पोखरेलको संगीत रहनेछ। फिल्मका लागि कलाकार तथा प्राविधिकको टुंगो लाग्न बाँकी छ। फिल्मको सुटिङ आगामी वैशाखको दोस्रो साताबाट गरिने भएको छ।











प्रतिक्रिया