भर्खरै काठमाडौंमा राष्ट्रिय योग दिवस मनाइँरहदा नेपाल स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले नागरिकको उपचार कसरी गर्ने र रोग नै लाग्न नदिन के गर्ने भन्नेबारेमा केही हदसम्म चिन्तन गरिएको भए पनि रोग नै लाग्न नदिने कुरामा सरकारले ठोस काम गर्न नसकेको बताउनुभएको छ।
यसले सरकारप्रतिको आम नागरिकको विश्वास र भरोसामाथि चिन्ता थपेको छ । सरकारले नै स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्न नागरिक गुहार्नु चिन्ताको विषय हो । आम नागरिकलाई कसरी स्वस्थ राख्ने भन्ने विषयमा जागरुक अभियान सञ्चालन गर्ने दायित्व सरकारको हो । तर सरकारले रोग निरोधात्मक क्षेत्रमा गर्नुपर्ने कामको शुरुवातसमेत गर्न नसकेको अवस्था रहेको कुरा स्वयं मन्त्रीले नै सार्वजनिक गर्नुले नागरिकमा निराशा पैदा गरेको छ ।
सरकारले उपचारात्मक क्षेत्रलाई व्यवस्थित गर्ने मात्र नभई रोग नै लाग्न नदिन अपनाउनुपर्ने उपायका बारेमा गम्भीर भएर काम शुरु गरोस् । सरकारले हालसम्म गरेका स्वास्थ्यका गतिविधिलाई नियाल्दा बिरामी हुन नदिने भन्नेबारेमा ठोस कामको शुरुवात नै गर्न सकेको छैन । सरकारको यति ठूलो जिम्मेवार निकायमा आसीन स्वास्थ्यमन्त्रीले नै रोग लाग्नै नदिने विषयमा सरकारी योजना नबनेको र बिरामीको संख्या यसरी नै बढ्दै गयो भने उपचार गर्न सक्दैनौँ भन्नुले सरकार नागरिकको स्वास्थ्यप्रति गैरजिम्मेवार बन्दै त छैन ? भन्ने प्रश्न उठेको छ । त्यसैले स्वस्थ नेपाली र स्वस्थ नेपाल निर्माण गर्नका लागि सरकारले जुनसुकै अवस्थामा जनस्वास्थ्यलाई बलियो बनाउँदै अघि बढ्ने नीति बनाओस् र कार्यान्वयनतर्फ ध्यान देओस् ।
कसैलाई पनि रोगी हुने रहर हुँदैन, रोग नै लाग्न नदिने कसरी हो भन्ने जान्न पाउने अधिकार नागरिकमा छ । यसका लागि मुख्य निकाय नै बेखबर हुँदा नागरिक आफैँ जागरुक बन्नु जरुरी छ । हामी निरोगी नेपालीको परिकल्पना गर्छौं भन्ने हैन । निरोगी नेपाली र स्वस्थ नेपाल बनाउन के–के काम गर्नुपर्छ, सरकारको दायित्व के हो, नागरिकको भूमिका के हुनुपर्छ र कसरी अघि बढ्ने भन्ने विषयमा सरकारले योजनासहित कार्यान्वयनमा उत्रनुपर्छ। सरकारले निरीह भएर नागरिकसामु लम्पसार पर्नु देशको लागि शोभनीय हुँदैन। देशमा दिन–प्रतिदिन सर्नेभन्दा नसर्ने रोगको चाप बढ्दै गएको छ।
यसको प्रमुख कारण अस्वस्थ खानपान, धूमपान, मद्यपान, प्रदूषित वातावरण भएको स्पष्ट देखिएको अवस्थामा सरकार योजना नै नबनाई सार्वजनिक कार्यक्रममा निरीहरुपमा प्रस्तुत हुनु लज्जाको विषय हो । क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मधुमेह, मानसिक समस्याजस्ता दीर्घरोगको चाप बढिरहेको अवस्थामा नागरिकलाई कसरी स्वस्थ बनाउने र रोग नै लाग्न नदिन के–के गर्नुपर्छ भन्ने विषयमा सरकारले दीर्घकालीन योजना बनाई लागू गरोस् । देश र नागरिकको अभिभावक सरकारले निरीह हुने होइन, नागरिकको मनोबल उच्च राख्दै योजनासहित काम गरोस् ।
नेपाल जडीबुटीको धनी देश हो । यसको सही रुपमा प्रयोग गरी नागरिकलाई स्वच्छ र स्वस्थ बनाउनेतर्फ सरकारको ध्यान पुग्नु जरुरी छ । विदेशमुखी उपचारात्मक विधि मात्र नअपनाई योग र आयुर्वेदसँग पनि जोडिन सक्नुपर्छ। सरकारले आफ्नै घर–आँगनमा भएको अमूल्य वस्तुको बेवास्ता गर्दै विदेशमा गएर उपचार गर्ने पद्धतिलाई प्राथमिकता दिएको देखिन्छ। सरकारको नेतृत्वमा बसेका व्यक्ति, राजनीतिज्ञहरु देशमा भएको स्रोत–साधन, जनशक्तिको सही सदुपयोग गर्नुको सट्टा विदेशमा गई उपचार गराउने र राष्ट्रिय ढुकुटी रित्याउनेतर्फ केन्द्रित हुनुले देशमा भएको स्वास्थ्य अवस्थामा सुधार आउन नसकेको हो। यतातर्फ सरकार गम्भीर बनोस्।
प्रतिक्रिया