अमेरिकामा नेपालको हिउँको गीत


काठमाडौं ।

फिल्म साँघुरोका निर्देशक जोयस पाण्डे र नायिका वर्षा राउतको मुख्य भूमिका रहेको फिल्म हिउँको गीतको छायांकन अमेरिकामा सम्पन्न भएको छ।

ओहायो राज्यको क्लिभल्याण्ड सहरमा हलिउडका चलचित्र छायांकन गरिने सुविधा सम्पन्न स्टुडियोमा सुटिङ गरिएको चलचित्र पेन्सलभेनिया राज्यको पिट्सबर्ग सहरमा अन्तिम दृश्यको छायांकन गरेस“गै फिल्म सम्पादन चरणमा प्रवेश गरेको छ। जोयश पाण्डेयसँगको संयुक्त लेखनमा तयार फिल्मलाई विमल सुवेदीले निर्देशन गरेका छन्।

नेपाली भाषी भुटानी तथा नेपाली आप्रवासीको कथा समेटिएको फिल्ममा भुटान, नेपाल र अमेरिकामा जन्मे हुर्केका फरक फरक पुस्ताका सपना, आकांक्षा र संघर्षको कथा प्रस्तुत गरिएको निर्माण समूहले जानकारी गराएको छ। एउटा परिवार तर फरक पुस्ता, परिवेश र अनुभव बोकेका सदस्यमार्फत् फिल्मले समग्र नेपाली भाषी भुटानीको आफ्नै देशबाट लखेटिनुअघि सरकारबाट योजनाबद्ध बर्बर यातनादेखि लखेटिएपछि नेपालको शरणार्थी शिविर र अमेरिका पुगिसकेपछि परिवारका फरक फरक सदस्यमा देखिने संरचनात्मक र मनोवैज्ञानिक असरलाई फिल्ममा समेटिएको निर्माता समुन्द्र राज घिमिरेले जानकारी गराएका छन्।

भारतको नयाँ दिल्लीस्थित नेसनल स्कुल अफ ड्रामाबाट रंगमञ्चका विभिन्न आयाम अध्ययन गरेपश्चात् नेपाल फर्किएर थिएटर भिलेजमार्फत् नाटक लेखन, निर्देशन र कला निर्देशन तथा अध्यापनमा सक्रिय सुवेदीले भुटानी शरणार्थीका विषयमा नेपाल तथा भारतमा थुप्रै काम गरिसकेका छन्।

१२ वर्षअघि बीजारोपण भएको हिउँको गीतलाई पछि सुवेदीले नाटकको रूपमा भारतमा प्रस्तुत गरेका थिए। जसबाट उनले अत्यन्त प्रसिद्धी कमाउनुका साथै ३ वटा मेटा अवार्ड पनि जितेका थिए। गत वर्ष अमेरिकामा सोही कथामा हिटलर आउँदैछ नाममा सांगीतिक नाटकसमेत बनाएका थिए।

‘यो फिल्म नेपालीभाषी भुटानीको पहिलो दृश्यात्मक ऐतिहासिक दस्तावेजसमेत हुनेछ’ निर्देशक सुवेदीको दाबी छ ‘बच्चा अवस्थादेखि पढेका, सुनेका र कथा लेखनका विभिन्न चरणमा नेपालको शरणार्थी क्याम्पदेखि नाटक निर्माणका क्रममा भेटेका सयौँ व्यक्तिसँग भेटेर सुनेको अनुभवको आधारमा यो फिल्म तयार भएको हो। यसले भुटानी नेपालीको मात्र कथा भन्दैन, अमेरिका आएका संसारका आप्रवासीको कथा समेट्छ।’

सुवेदीले फिल्म नेपाली र अंग्रेजी गरी दुई भाषामा खिचिएको जानकारी गराए। उनका हनुसार फिल्म सम्पादन, ध्वनि, संगीत, रंग संयोजन तथा पर्दा पछाडिका कार्यमा फरक फरक समूहले समानान्तर रूपमा काम गर्नेछन्। कथ्य संरचना नै बेग्लै रहने फिल्मको अर्को नाम द स्नो इज सिङ्ङिङ राखिएको छ ।

ह्याप्पी होम स्टुडियोजको ब्यानरमा जोयश पाण्डेय, विमल सुवेदी र समुन्द्र राज घिमिरेद्वारा निर्मित फिल्ममा जिया कुईंकेल खतिवडा, करुण कुईंकेल र कौशिला खनाल कर्माचार्य कार्यकारी निर्माता, मनोरथ खनाल, राकेश भट्टराई, रमेश लुइ“टेल र पुण्य कुइंकेल सह निर्माता रहेका छन्। ओहायो राज्यको एक्रोन, कोलम्बस, पेन्सिलभेनिया वरिपरिका नेपाली भाषी भुटानी समुदायको सहजीकरणमा तयार भएको फिल्म निर्माणको अन्तिम चरणसम्म थिएटर भिलेज र गाउ“ स्टुडियोले सहकार्य गर्ने छन्।

वर्षा र जोयशबाहेक पूजा आर लामा, आकाश खतिवडा, ईशिर कर्माचार्य, थोमस किथ स्कट, केदार उप्रेती, आरबी खड्का, अर्जुन रसाइली, समीर रेग्मी, मनोरथ खनाल, नीलम खनाल, इशान कर्माचार्य, कृस्टल पराजुली, एन्जेलिना पराजुली, जोशन रामदाम, निर्मल खनाल, विष्णु रामदाम, मिसेल स्कट, आयुष भट्टराई, नवीन खनाल, जोशिका रामदामलगायतको कलाकारका साथमा पेन्सलभेनियाको ह्यारिसबर्ग तथा ओहायोको कायाहोगा फल्स, एक्रोन, कोलम्बस, सनसाइन तेक्वान्दो तथा नृत्य एकेडेमी, इन्टा फाउन्डेसनका चार दर्जनभन्दा बढी कलाकारले अभिनय गरेको फिल्ममा नेपाल, भुटान, ताइवान, चीन, मेक्सिको मूलका फिल्मकर्मीले काम गरेका छन्।

फिल्ममा कौशिला खनाल कर्मचार्य, आरबी खड्का, डम्बर नेपाली, प्रतिमा श्रेष्ठको शब्द रचना तथा कालिप्रसाद बास्कोटा, मदन गोपाल, डम्बर नेपाली, अर्जुन रसाइलीको संगीत र गायन, देउकुमार राई नेतृत्वसमूहको कला निर्देशन, शंकर बिसी र कौशिला खनाल कर्मचार्यको नृत्य निर्देशन, चिनइन गाउलेको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ।