जुना : एक व्यथामा महिला पीडा


काठमाडौं ।

बाल विवाह तथा महिला हिंसाका विषयमा निर्मित फिल्म जुनाः एक व्यथाको टिजर मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच सार्वजनिक गरिएको छ।

ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक टिजरमा फिल्मकी प्रमुख कलाकार अस्मिता ढकालको पीडा देखाइएको छ। अनमेल विवाहले एउटी नारीको जीवनमा कस्तोसम्म असर पर्न सक्छ भन्ने विषय अस्मितामार्फत टिजरमा प्रस्तुत गरिएको छ।

टिजरमा अस्मितासँगै कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, अनिता बस्नेत, कमल बोहोरालगायतका कलाकारलाई स्थान दिइएको छ। फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपानेलगायतले अभिनय गरेका छन्।

आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा दीपकप्रसाद घिमिरेले निर्माण र जीवन सेञ्चुरीले निर्देशन गरेका हुन्। निर्देशक सेञ्चुरीले फिल्म एक ऐतिहासिक फिल्म भएको बताए। नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडीजस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको निर्देशक सेञ्चुरीले दाबी गरे।

पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द रचना, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर तथा रामेश्वर हुमागाईंको डिओपी छ।