पोखराको थिएटरमा सपना डिलक्स कोच


पोखरा ।

पोखराबाट काठमाडौं र काठमाडौंबाट पोखरा भुइँबाट होस् या हवाईबाट दैनिक आउजाउ हुने गरेकै छन्। हवाईबाट अलिक हुनेखाने र सम्पन्न बढी जाने–आउने गरेको पाइन्छ भने सामान्य व्यक्ति सवारीबाटै आउजाउ गर्छन्।

पोखरा–काठमाडौंको यात्रा लामो छ, त्यही यात्रालाई समेट्दै सपनाको डिलक्स कोच नामक नाटक मञ्चन हुने भएको छ। नया“ मौलिक नाटक सपना डिलक्स कोच माघ ११ गतेदेखि मञ्चन शुरू हुनेछ। जसका लागि यतिबेला नाटकको रिहर्सल पोखरा नदीपुरस्थित निर्माणाधीन हंसध्वनि नाटकघरमा चलिरहेको छ।

उक्त नाटकघर चर्चित कलाकार अनुप बरालको सक्रियतामा निर्माण भइरहेको छ। नाटकको प्रदर्शन इन्द्रेणी थिएटरले गर्ने थिएटरका अध्यक्ष केदारनाथ पौडेलले बताए।

इन्द्रेणीको छैटौं प्रस्तुतिमा निर्माण हुन लागेको नाटकमा लेखन केदारनाथकै रहेको छ। झण्डै एक वर्ष अगाडि लेखिएको नाटकमा पोखराबाट काठमाडौं जाने यात्रुबाहक बसमा हुने विभिन्न क्रिया प्रतिक्रिया समेटिएको छ।

एउटा परिवारले सामान्य हिसाबले कसरी गाडी चलाएर जीविकोपार्जन गरिरहेको छ र त्यो भित्र कस्ता खालका समस्या छन् भन्ने विषयलाई प्रमुख बनाइएको छ। पोखराबाट काठमाडौं जाने क्रममा देखिएका दृश्यलाई मञ्चमा उतार्न लागिएको लेखक पौडेलले सुनाए। सबै मानिस बस चढेर गन्तव्यमा पुगे पनि यसरी गन्तव्यमा पुर्‍याउने बस र त्यसका कामदारका समस्या के हुन् भन्ने यात्रुले खासै ध्यान नदिने गरेको अवस्थामा नाटकमार्फत बाहिर ल्याउन लागिएको उनको भनाई छ।

करिब एक महिनादेखि नाटकको रिहर्सल भैरहेको छ। नाटक मञ्चन हुने दिन आउन केही दिन बाँकी रहँदा टिमको मेहनतको कारण दिनप्रतिदिन नाटकमा निखारता थपिँदै गएको उनले बताए। सामान्य शैलीमा कथा भन्ने तरिकालाई फरक गर्ने प्रयास गरिएको र गाउँघरमा धेरैले भोगेको बाँदर आतंकलाई समेत जोडिएकोले दर्शकलाई मनोरञ्जन मिल्ने उनको विश्वास छ।

पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा माघ १९ गतेसम्म लगातार मञ्चन हुने नाटकमा कपिल शर्मा, दिलप्रसाद गुरुङ, विभु प्रसाद भुसाल, उमा पुन, रामहरि अधिकारी, विजयराज अधिकारी, अभिषेक भुसाल, श्रद्धा अधिकारीलगायतका कलाकारले अभिनय गर्नेछन्।

नाटकको निर्देशन लक्ष्मण डुम्रेले गरेका छन्। निर्देशक डुम्रेले नाटक सुन्दर बनाउन कलाकार र नेपथ्यबाट विभिन्न प्रयास भइरहेको बताए। आफूहरूको तर्फबाट शतप्रतिशत दिने कोसिस गरिरहेका भन्दै दर्शकले नाटक मन पराउने आशा बढ्दै गएको उनले बताए।

नाटकमा रात्रीबस चलाउने ड्राइभरको मनोविज्ञानलाई केन्द्रित गरिएको उनले जानकारी गराए। सवारी साधन चलाउ“दा उसको दिमागमा खेलिरहेका कुराहरू समावेश गरिएको र यो खालको नाटक पोखरामा पहिलोपटक मञ्चन गर्न लागिएको दाबी उनको छ। स्टेजमा यात्रा देखाउनुपर्ने भएकोले चुनौती भएपनि राम्रो बनाउने कोसिस गरिरहेको निर्देशक डुम्रेले बताए।