काठमाडौं ।
त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले राम्रोलाई छाडेर पार्टीनिकट हाम्रोलाई क्याम्पस प्रमुख नियुक्ति गरेको खुलेको छ। त्यसमा कारबाहीमा परेका व्यक्तिदेखि उपप्राध्यापक समेतलाई छनोट गरेको खुलेको छ। त्रिविले आइतबार राती २४ वटा क्याम्पस प्रमुख नियुक्ति गरेको थियो।
त्रिवि रजिस्टार कार्यालयले भोजपुर बहुमुखी क्याम्पस पुस्तकालय भवन निर्माणगर्दा ६ लाख ९२ हजार ६२६ रुपियाँ बढी देखाएर बाँडचुँड गरेको तत्कालीन क्याम्पस प्रमुख उपप्राध्यापक पर्वतकुमार राईलाई नियुक्ति गरेपछि विवाद चुलिएको छ।
भवन निर्माण गर्दा अनियमितता गरेको प्रमाण फेला पारेपछि त्रिविको केन्द्रीय अनुगमन टोलीले कारबाहीको लागि सिफारिस गरेको थियो । छानबिन समितिले क्याम्पस प्रमुख राई, लेखाअधिकृत र निर्माण कम्पनीलाई जरिवाना गराएको थियो । त्यसबेला तत्कालीन प्रमुख राईले १ लाख १९ हजार ३ सय १३ रुपियाँ बढी खर्च गरेको देखाएर भुक्तानी लिएको फेला पारेपछि कारबाही गरेको थियो । क्याम्पस प्रमुख राईले जरिवाना तिरिसक्नुभएको छ।
कारबाहीमा परेका उपप्राध्यापक राई पुनः भोजपुर क्याम्पसको प्रमुुख नियुक्ति हुनुभएको छ । रजिस्टार कार्यालयको प्रशासन महाशाखाले उहाँसँगै लेखा अधिकृत कृष्णकुमार राईलाई पनि १ लाख १९ हजार ३ सय १३ र मर्सेनी निर्माण सेवालाई ४ लाख ५४ हजार रुपियाँ जरिवाना तिराएको थियो । छानबिन समितिले कारबाही गरी रकम असुल गर्न निर्देशन दिएको थियो । तर, त्रिवि कार्यकारीले राईलाई रकम तिराएर कारबाही नगरेको आरोप लागेको छ।
क्याम्पसका पूर्वप्रमुख भोलानाथ राईले व्यक्तिसँग रकम लिने उपप्राध्यापकलाई क्याम्पसप्रमुख नियुक्ति गर्नु कार्यकारीको गम्भीर गल्ती भएको आरोप लगाउनुभयो। उपकुलपति प्राडा केशरजंग बरालले जबरजस्ती क्याम्पस प्रमुख बनाएको आरोप लागेको छ। जरिवाना तिरेर कारबाही भोगेका उपप्राध्यापक राईको नियुक्ति फिर्ता लिन माग गर्दै प्राध्यापकहरूले उपकुलपति, रेक्टर र रजिस्टारसमक्ष बैंकमा रकम गरेको रसिद पेस गरिएको छ।
छानबिन समितिले विवादबारे स्थलगत अध्ययन गरी पेस गरेको प्रतिवेदनमा पुस्तकालय भवनसम्बन्धी भए गरेका कामका आधारमा देखिएका त्रुटि, कमजोरी, लापरबाही आदिका कारणबाट भुक्तानी दिनुपर्ने निश्चित रकम दायराभन्दा बाहिर गई मार्सेली निर्माण सेवा भोजपुर–३ लाई स्वीकृत बोलपत्रभन्दा बढी दिएकोमा बढी भुक्तानी भएको रकम क्याम्पस प्रमुख राई र लेखा अधिकृत श्रेष्ठबाट तुरुन्त असुल उपर गरी नियमअनुसार कारबाही हुनुपर्ने उल्लेख भएको थियो ।
‘सोही प्रतिवेदनको आधारमा क्याम्पस प्रमुख राईलाई कारबाही गर्नुपर्ने अवस्थामा कार्यकारी परिषद्ले फेरि कारबाही नगरी क्याम्पस प्रमुखको पुरस्कार दिएकोमा अचम्म भएको छ’ –पूर्वक्याम्पस प्रमुख भोलानाथ राईने नेपाल समाचारपत्रसँग भन्नुभयो ।
मेरिटोक्रेसीको आधारमा नियुक्ति गरेको दाबी गरेका पदाधिकारीले आर्थिक अनियमिततम प्रमाणित भएका उपप्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्ति गर्नदेखि केही क्याम्पसमा प्राध्यापकलाई हटाएर पाटी निकट सह र उपप्राध्यापकलाई क्याम्पसप्रमुख नियुक्ति गरिएको छ ।
स्रोतका अनुसार छनोट समितिमा विज्ञ राख्नु नै गडबड देखिन्छ । त्रिवि प्राध्यापक संघका अध्यक्ष वसन्त ढकालले के आधारमा छनोट गरिए भन्ने विषय नै प्रस्ट नभएको रहेको तर्क राख्नुभयो । ‘केको मेरिटोक्रेसी मेरिटोक्रेसी भए, कोको छनोटमा परे भन्ने जानकारी हुनुपथ्र्यो, त्यसो नगरी भाग लगाएर छनोट गरियो’ –उहाँको आरोप थियो । उहाँले सबै प्रक्रिया सही भएपछि अन्तिममा नाम सार्वजनिक गर्दा पारदर्शिता नदेखिएको आरोप लगाउनुभयो ।
त्यसो त प्रमुख छनौट गर्दा एकजना महिला पनि परेनन् । कतिपय क्याम्पसमा उपप्राध्यापकलाई क्याम्पस प्रमुख नियुक्ति गरियो। पाटन संयुक्त, रत्नराज्य, सानोठिमी, बुटवल, पाल्पा, नेपालगञ्जका क्याम्पस प्रमुख छनौट गर्दा मेरिटोक्रेसि उल्लंघन भएको आरोप पदाधिकारीमाथि लागेको छ । पदाधिकारीले सबै प्रक्रिया पूरा गरेर नियुक्ति गरेको दाबी गरेका छन्।
प्रतिक्रिया