कृषाको पिताम्बर चैतमा आउने


काठमाडौं ।

निर्मात्रीबाट निर्देशक बनेकी कृषा चौलागाईंद्वारा निर्देशित फिल्म पिताम्बर आगामी चैत २९ गते रिलिजमा आउने भएको छ।
ऐंचोपैंचो नामक फिल्मबाट निर्देशनमा डेब्यु गरेकी निर्मात्री चौलागाईंद्वारा निर्मित दोस्रो फिल्म पिताम्बरको सोमबार राजधानीमा आयोजित एक समारोहबीच एक्सनपूर्ण टिजर सार्वजनिक गरिएको छ।

फिल्मका कलाकार दिव्य देवले महाभारतको उद्धरण यदा यदा हि धर्मस्य वाचन गरेपछि शुरू हुने टिजरमा फिल्मका कलाकारहरू प्रदीप खड्का, अनुपविक्रम शाही, दयाहाङ राई, सौगात मल्ल, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, रविन्द्र झालगायतलाई प्रस्तुत गरिएको छ।

बुढासुब्बा डिजिटलबाट सार्वजनिक टिजरमा प्रदीप र सौगातको एक्सनलाई विशेष स्थान दिइएको छ। टिजरमा कलाकार रविन्द्र झाले बोलेको ‘कथामा बहुत ट्वीस्ट भयो, दुई वटा पिताम्बरको एउटै कथा छ’ भन्ने संवादले फिल्मप्रतिको कौतुहलता बढाएको छ। निर्देशक कृषाले हरेक कथाअनुसार नयाँ फिल्म बन्ने भएकाले पिताम्बर पनि नयाँ कथा रहेको बताइन्। उनले आफ्नो टिमले ठूलो क्यानभासमा राम्रो फिल्म बनाएको दाबी पनि गरिन्।

नायक प्रदीप खड्काले एक्सनले सबै कुरा बोल्ने भन्दै टिजरमा सबै कुरा केही हदसम्म देखिएको खुलाए। उनले पिताम्बरमा स्क्रिप्ट भन्दा पनि निर्देशक कृषाको इन्टेन्सन हेरेर काम गरेको जनाउँदै आफ्नो करियरमा पिताम्बर नयाँ खुड्किलो हुने दाबी गरे।

निर्माता विशाल चौलागाईंले निर्देशक दिदी कृषाको फिल्मप्रतिको लगावप्रति आफू नतमस्तक रहेको बताए। पेशाले मेडिकल व्यवसायी विशालले यसअघि कृषाको निर्देशन रहेको फिल्म एैंचोपैंचो निर्माण गरेका थिए। नायिका सुरक्षा पन्तले एउटा राम्रो टिमस“ग सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन्।

अर्की नायिका सुपुष्पा भट्टले फिल्ममा इमोसनल चरित्र निभाउनु परेकाले चरित्र विकासमा सहयोग पुगेको बताइन्। नायिका दिव्या रायमाझीले फिल्म आफ्ना लागि राम्रो बनेको बताइन्।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्म्स्को ब्यानरमा निर्मित फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, आशिष पुरुष, ललित विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले, रविन्द्र भट्टराई, बाल कलाकार आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं, सुप्रोल बुढाथोकी (अनमोल) लगायतले अभिनय गरेका छन्।

पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता तथा सुमन गौतम कार्यकारी निर्माता रहेको फिल्ममा प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, आशिष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।