रंगीको डान्सिङ नम्बरमा रंगिए दिलीप, सलोन र नम्रता


काठमाडौं ।

आगामी फागुन २ गते रिलिजमा आउने फिल्म रंगीमा समावेश गीत छ भने माया आइतवार राजधानीमा आयोजित एक समारोह बीच सार्वजनिक गरिएको छ।

सार्वजनिक गीतमा आनन्द कार्की र सुजता केसीको स्वर, दुर्गेश थापाको शब्द रचना, संगीत र एरेन्जमेन्ट रहेको छ। ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा फिल्मका प्रमुख कलाकारहरू सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, विशाल पहारी र उत्तम केसी फिचर्ड छन्।

डान्सिङ नम्बरको गीतमा मायाको कुरा गरिएको छ। गीतमा सलोन र नम्रताको जोडी निकै सुहाएको छ। कलाकारहरूलाई कोरियोग्राफर कविराज गहतराजले नचाएका छन्। संगीतकार दुर्गेश थापाले १० वर्ष पछाडिसम्मको मेलोडीलाई छ भने मायामा समेटेको बताए।

गायक आनन्द कार्कीले दुर्गेशको शब्द र संगीतमा गीत गाउने चाहना पुरा भएको बताए। गायिका सुजाता केसीले आफूलाई सुन्दर गीतमा स्वर दिने अवसर दिएकोमा आभार व्यक्त गरिन्।

फिल्मका प्रस्तुतकर्ता तथा नायक सलोन बस्नेतले अष्ट्रेलियामा रह“दा यो गीत भर्चुअल माध्यममार्फत सुनेको स्मरण गर्दै एउटा राम्रो गीत दर्शकलाई दिन पाएकोमा खुशी व्यक्त गरे। निर्देशक सुरेश न्यौपाने र आफ्नो सानो प्रयासले रंगीको अवधारणा ल्याएको भन्दै उनले त्यो अहिले सार्थक बनेको बताए।

डेब्यू नायिका नम्रता श्रेष्ठले सामाजिक कथाको फिल्ममा जोडिन पाउनु र डान्सिङ नम्बरको गीतमा काम गर्न पाउनु खुशीको कुरा भएको बताइन्। फिल्मकी निर्मात्री करिस्मा केसी बस्नेतले फिल्म निर्माणमा पहिलो प्रयासलाई दर्शकले साथ दिनेमा ढुक्क रहेको बताइन्। डेब्यू निर्देशक सुरेश न्यौपानेले रंगी सलोन र आफ्नो सोचको परिणाम रहेको जनाउँदै फिल्मबाट दर्शकले सामाजिक कथासँगै हासो र रोदनको मिश्रण पाउने बताए।

सान्भी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा सक्षम सुवेदी, करिस्मा केसी बस्नेत र अनिश गौतमद्वारा निर्मित फिल्ममा सलोन बस्नेत, नम्रता श्रेष्ठ, दिलीप रायमाझी, आयुषी ढकाल, उत्तम केसी, सुमिन गुरुङ, विशाल पहारीललगायतले अभिनय गरेका छन् भने सुमन गजमेरको लेखन, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको संगीत, आनन्द कार्की, आमेश भण्डारी, भीम बिसी, समीक्षा अधिकारी र सुजता केसीको स्वर, दुर्गेश थापा, आमेश भण्डारी र भीम बिसीको शब्द, कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी, सौरभ लामाको छायांकन र बन्दे प्रसादको सम्पादन रहेको छ।