एजेन्सी ।
विनाशकारी डढेलोका कारण हलिउड सेलिब्रेटीहरूको शहर लस एन्जलस निक्कै प्रभावित भएको छ।
अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा लागेको विनाशकारी डढेलोको कारण विभिन्न हलिउड सेलिब्रेटीका घर जलेर नष्ट भएका छन् भने विभिन्न फिल्मका प्रिमिएर र अवार्ड समारोह प्रभावित भएको छ।
लस एन्जलसस्थित प्यासिफिक प्यालिसेड्समा लागेको आगो तथा तीव्र हावाका कारण डढेलो नियन्त्रण गर्न कठिन भएपछि हलिउडमा आयोजना गरिएका विभिन्न कार्यक्रमहरू रद्ध गरिएको अमेरिकी सञ्चार माध्यमले जनाएका छन्।
हलिउड सञ्चारमाध्यमहरूका अनुसार डढेलोमा हलिउड स्टार बिली क्रिस्टल, जेमी ली कुर्टिस, म्यान्डी मुर्रे, पेरिस हिल्टनलगायतको घर जलेर ध्वस्त भएका छन्। मंगलबार बिहान प्यालिसेड्स क्षेत्रको २ सय एकभन्दा ठूलो क्षेत्रमा सुक्खा झाडीमा समेत डढेलो लागेपछि वरपरका घरबाट मानिसलाई उद्धार गर्न निर्देशन दिइएको थियो। सो आगो बुधबार राति हलिउड हिल्समा पुगेपछि त्यहा“ वरपर बस्ने अन्य कलाकारले समेत घर छाडेर हिँड्न थालेका छन्।
टेलिभिजन र संगीतका स्टार बसोबास गर्ने सान्ता मोनिका र मालिबुको बीचमा रहेको रमणीय स्थल डढेलोका कारण डरलाग्दो स्थितिमा पुगेको छ। आगलागीका कारण आफ्नो घर गुमाएका र गुम्ने डरले सेलिब्रेटीहरू विक्षिप्त भएका छन्। मिडियाकर्मी पेरिस हिल्टनले आफ्नो घर जलेको फुटेज सामाजिक सञ्जालमा सेयर गर्दै दुःखद् खबर सार्वजनिक गरेकी छन्।
त्यस्तै अभिनेता मार्क ह्यामिल तथा क्यारी एल्वेसले पनि घर जलेको भिडियो सेयर गरेका छन्। यसैबीच, दक्षिणी क्यालिफोर्निया क्षेत्रमा भीषण डढेलोको कारण लस एन्जलस प्रभावित भएपछि स्क्रिन एक्टर्स गिल्ट अवार्डले मनोनयन समारोह नै स्थगित भएको जनाएको छ।
लसएन्जलस टाइम्सका अनुसार नेपाली समयानुसार बिहीबार बिहानसम्म हलिउड हिल्समा फैलिएको नयाँ डढेलोका कारण पाँच जनाको मृत्यु भएको छ भने दुई हजारभन्दा धेरै संरचना नष्ट भएका छन्। एडम स्यान्डलर, बेन एसलेक, टम ह्यान्क्स र स्टीवन स्पिलबर्गजस्ता कलाकारको घर पनि सोही स्थानमा रहेका छन्।
हलिउड हिल्समा तीव्र रूपमा फैलिएको आगोका कारण सोही नजिक रहेको डल्बी थिएटरमा जोखिम बढेपछि अस्कर अवार्डको मनोनयन पनि दुई महिना पर सरेको छ। त्यस्तै बुधबारका लागि तय गरिएको अन्तर्राष्ट्रिय फिचर सर्टलिस्ट स्क्रिनिङ र क्रिटिक्स च्वाइस अवार्ड पनि केही समयका लागि सारिएको छ।
रद्द भएका कार्यक्रममा अमेजन एमजीएम स्टुडियो र युनिभर्सल स्टुडियोले आयोजना गर्न लागेका अनस्टपेबल र वल्फ म्यान रहेका छन्। त्यस्तै प्यारामाउन्ट र म्याक्सले बुधबार गर्ने भनेको बेटर म्यान र द पिटको प्रिमियर पनि रद्द गरिएको छ। प्यारामाउन्टका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै डढेलोले लस एन्जलसलाई असर गर्ने खतरा रहेकाले सो कार्यक्रम रद्ध गरेको जनाएका छन्। त्यस्तै नेटफ्लिक्सले पनि फिल्म इमिलियन पेरेजको कार्यक्रम रद्ध गरेको छ।
दक्षिणी क्यालिफोर्निया क्षेत्रमा भीषण डढेलोको कारण लस एन्जलस प्रभावित भएपछि स्क्रिन एक्टर्स गिल्ट अवार्डले मनोनयन समारोह नै स्थगित भएको जनाएको छ। अग्नि नियन्त्रकहरूले केही घण्टाभित्रै आगो पाँच वर्ग किलोमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको बताएका छन्। विमान र दमकलहरूले आगो निभाउने प्रयास गरिरहेका छन्। तर सुक्खा अवस्था र १ सय ६० किलोमिटर प्रतिघण्टासम्मको तीव्र हावाले आगो अझ फैलाएको छ।
जोखिमकै कारण वाल्ट डिज्नीले बरब्यांकस्थित मुख्यालय बन्द गरेको छ भने पोस्ट प्रोडक्सन र उत्पादनका सम्पूर्ण कार्य स्थगित भएको जनाएको छ। युनिभर्सल स्टुडियो र युनिभर्सल सिटी वाक बन्द भएका छन् भने ग्रेज एनाटोमी र डक्टर ओडिसीलगायत सिरिजको काम नै रोकिएको छ।
सो स्थानमा तीव्र गतीमा फैलिइरहेको डढेलो नियन्त्रण बाहिर भएको हुँदा दशौँ हजार मानिस प्रभावित भएका छन्। अमेरिकी मौसम विभागले यो साताभर सान्टा एन्ना नामक आँधी आइरहने भन्दै चेतावनी समेत जारी गरेको छ।
प्रतिक्रिया