मेट गालाबाट कार्डर्सियनलाई हटाउने रिहानाको योजना


एजेन्सी ।

हलिउड अभिनेत्री रिहाना यति बेला चर्चित फेसन शो मेट गाला २०२५ लाई लिएर चर्चामा छिन्। उनी चाहन्छिन् कि हलिउड अभिनेत्री किम कार्डर्सियन र उनको परिवार यस समारोहको हिस्सा नबनुन्। राडर अनलाइनमा प्रकाशित एक रिपोर्टअनुसार रिहानाको लामो समयदेखि कार्डर्सियन परिवारसँग कलह छ।

यस कारण पनि रिहाना सो कार्यक्रममा कार्डर्सियन परिवारले हिस्सा लिएको हेर्न चाहँदिनन् र उनीहरूलाई मेट गालाबाट निकाल्ने कोसिस गरिरहेकी छिन्। रिहानालाई किम भन्दा पनि बढी रिस किमकी सौतेनी बहिनी मोडल एवम् सञ्चारकर्मी केन्डर जेनरको साथ रहेको बताइन्छ।

समाचारअनुसार सन् २०१४ मा केन्डल रिहानाको पूर्वप्रेमी एवम्  र्‍यापर क्रिस ब्राउनको साथ नजिकिएकी थिइन्। जुन रिहानालाई फिटिक्कै मन परेको थिएन।  र्‍यापर क्रिस उनै व्यक्ति हुन्, जसले रिहानाको साथ प्रेममा रहँदा सन् २००९ मा रिहानामाथि शारीरिक हमला गरेका थिए। जसका कारण रिहानाको हालत दर्दनाक बनेको थियो।

यति मात्र होइन, सन् २०१७ मा केन्डलले रिहानाको लङ्ग टर्म ब्वाईफ्रेन्ड आसाप रकीका साथ डेट गरेकी थिइन्। रिहानाले तिनै रकीको साथ लामो समयको दोस्तीपछि सन् २०२१ मा प्रेममा रहेको खुलासा गरेकी थिइन् तथा सन् २०२२ र २३ मा दुई छोरालाई जन्म दिएकी थिइन्।

उनै रिहानाका प्रेमी आसाप रक्की हाल मेट गाला २०२५ आयोजना समितिमा छन्। जसको कारण मेट गालामा रिहानाको सिधा प्रभाव रहने र उनले कार्डर्सियन परिवारलाई मेट गालाबाट बाहिर निकाल्न सक्दो प्रयास गरिरहेको विषयले विवाद उब्जाएको छ।

किमले आफ्नो पूर्वपति कान्याका साथ विवाहपछि रिहानासँग दोस्ती बढाउने कोसिस गरेकी थिइन्। तर रिहानाले यसलाई ठाडै अस्वीकार गरिन्। यसले पनि रिहानाको कार्डर्सियन परिवारप्रतिको तित्तता देखाउँछ। कार्डर्सियन परिवार लामो समयदेखि मेट गालाको हिस्सा बन्दै आएका छन्।

उनीहरूको सहभागितालाई समारोहको एक महत्वपूर्ण र चाख लाग्दो भागको रूपमा पनि लिइन्छ। सुपरफाइन : टेलरिङ ब्ल्याक स्टाइल थिमका साथ अमेरीकाको न्युयोर्क सिटीस्थित मेट्रोपोलिटन म्युजियम अफ आर्टसमा आगामी मे ५ मा हुने मेट गाला समारोहमा उनीहरूको सहभागिता हुने वा नहुने भन्ने चाखलाग्दो विषय बन्ने भएको छ।