काठमाडौं ।
तपाईं हामीले पेट्रोल पम्पहरूले पानी, मट्टितेल, कमसल पदार्थ मिसावट गरेर पेट्रोल बिक्री गरेको विषय त सुन्दै आएका छौँ । तर, कसैले थाहा नपाउने गरी डिजिटल मिटर नै तोडमोड गरी उपभोक्तालाई कम तेल दिने गरेको भने तपाईंले हामीले सुनेका छैनौँ ।
नेपालका केही पेट्रोलपम्प व्यवसायीले भारतको विभिन्न ठाउँबाट डिजिटल पम्प तोडमोड गर्ने प्राविधिक बोलाई उपभोक्तालाई कम तेल दिने गरेको पाइएको छ । लामो समय पेट्रोलपम्पमा जागिर खाई र साहुका दाहिने हात भएर काम गर्ने एक पेट्रोल पम्पमा कार्यरत कर्मचारीका अनुसार मिटर तोडमोड गर्नमात्रै भारतीय प्राविधिकले ५ देखि १० लाख रुपियाँ लिने गरेको बताएका छन् । स्रोतका अनुसार प्राविधिकले मेसिनलाई ५ लिटर देखिमाथि तेल लिने ग्राहकको थोरैथोरै गरेर पेट्रोल कम हुने गरी अटो बनाइदिएको हुने बताएको छ ।
सरकारी निकायले थाहा पाउँदैन भन्ने नेपाल समाचारपत्रको प्रश्नमा स्रोतले सरकारी निकायका कर्मचारी आउँदा कुनै एक अंक थिच्न भनिएको हुन्छ र त्यो थिचेपछि मेसिन अटो हुने र भनेको जति नै तेल मेसिनबाट आउने गरेको बताएको छ । स्रोतका अनुसार धेरैजसो नेपाल गुणस्तर तथा नापतौल विभागका कर्मचारी पेट्रोलको नापतौल गर्न आउने र उनीहरूसँग पनि पेट्रोलपम्प व्यवसायीले सेटिङ गर्ने गरेको बताएको छ । स्रोतका अनुसार प्राविधिक कर्मचारी थोरै हुने र अन्य कार्यालयमा सरुवा नहुने भएको हुनाले आफ्नो पेट्रोल पम्पको क्षेत्रमा आउनेलाई महिनावारी दिनुपर्ने जनाइएको छ ।
त्यसै गरी अन्य विभिन्न सरकारी निकायबाट पनि अनुगमन गरिने हुँदा त्यति बेला भने अटोमेटिक रूपमा छिटो नम्बर थिचिने गरेको छ । त्यसका अलवा विभागका कर्मचारीले ५ लिटरको भाँडो लिएर अनुगमन गर्न जाँदा केही पेट्रोल पम्पले भने ५ लिटरसम्म सही दिने र त्यो भन्दामाथि तेल लिनेलाई कम कम गर्दै तेल बिक्री गर्न डिजिटल पम्प सेटिङ गर्ने गरेको पनि पाइएको छ । कतैकतै १० लिटरको भाँडो पनि प्रयोग गर्ने गरिएको स्रोतको भनाइ छ ।
यस विषयमा नेपाल गुणस्तर तथा नापतौल विभागको महानिर्देशक कुमारी ज्योति जोशी (भट्ट) सँग कुरा गर्न खोज्दा सम्पर्क हुन सकेन । स्रोतका अनुसार यस्तो ठग्ने कुरामा महानिर्देशकभन्दा पनि तल्ला तहका कर्मचारीको बढी हात हुने गरेको छ । यसै गरी उपभोक्तावादी माधव तिमल्सिनाले आकस्मिक रूपमा नियमन अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो । सबै कार्यालय मिलेर अनुगमन गर्दा ठगी गर्ने पेट्रोल पम्प कम हुने उहाँको दाबी छ ।
पेट्रोलियम पदार्थमा कसरी ठगिन्छन् उपभोक्ता
मापनमा गडबडी
पम्पको मेसिनमा फेरबदल गरेर कम पेट्रोल वितरण गर्ने र पम्पको नोजललाई रोकिराखेर मिटर चलाइराख्ने, जसले गर्दा उपभोक्ताले कम पेट्रोल पाउँछन् ।
मिश्रण (पेट्रोलमा अन्य पदार्थ मिलाउने)
पेट्रोलमा केरोसिन वा अन्य सस्ता पदार्थ मिसाएर गुणस्तर घटाउने तथा यसले गाडीको इन्जिनमा नकारात्मक असर पार्छ र उपभोक्ताको खर्च बढाउँछ ।
अशुद्ध पेट्रोल बेच्ने
पेट्रोल पुरानो वा अशुद्ध भएर गुणस्तरहीन भए पनि बेच्ने गरिन्छ ।
मूल्यमा हेरफेर
सरकारी मूल्यभन्दा महँगोमा पेट्रोल बेच्ने र पेट्रोलको वास्तविक मूल्यबारे उपभोक्तालाई जानकारी नदिने गरिन्छ ।
ध्यान भंग गर्ने रणनीति
पेट्रोल भराउने क्रममा उपभोक्तालाई व्यस्त बनाउने, जस्तै– कुराकानी, असावधानीपूर्वक व्यवहार गर्ने यसले उपभोक्ताले कति पेट्रोल भर्नुपर्ने र कति भर्नुभयो भन्ने हिसाब राख्न गाह्रो हुन्छ ।
कम नापतौल उपकरणको प्रयोग
समयमै क्यालिब्रेसन नगरिएका वा जानाजान गडबडी गरिएको उपकरण प्रयोग गर्ने गरिएको छ ।
प्रतिक्रिया