बुटवल।
ब्राह्रमण समाज नेपालका अध्यक्ष डा. नारायण प्रसाद अधिकारीले जातको आधारमा दिइने आरक्षणका कारण ठुलो सङ्ख्यामा नेपाली युवा युवती बिदेसिन बाध्य हुनु परेको खुलासा गरेका छन् ।
उनले जातको आधारमा दिइने आरक्षण अन्त्य गरी विपन्नताको आधारमा आरक्षण प्रदान गर्न ब्राह्रमण समाजले अभियान सञ्चालन गर्ने चेतावनी पनि दिए । ब्राह्रमण समाज नेपाल रुपन्देहीको चौथो वार्षिक साधारण सभामा विहिवार तिलोत्तमाको डाईभरटोलमा वोल्दै केन्द्रिय अध्यक्ष अधिकारीले परिक्षामा कम नम्बर पाएका धनाड्यहरुले जातको आधारमा अवसर पाएको तर गरिब तथा जेहेन्दार ब्राह्मणले अवसरवाट बन्चित हुनु पर्दाको पीडाले युवा जमात बिदेसिन बाध्य हुनु परेको दाबी गरे।
उनले कुनै पनि व्यक्तिको नामको पछाडी ब्राह्रमणको थर झुन्डिएकाले अवसरवाट बन्चित हुनुपर्दाको पीडासंगै उनिहरुलाई सामन्ति, शोषक र शासकको संज्ञा दिनु गलत भएकोले सोका विरुद्ध आबाज बुलन्द गदै आरक्षणको अन्त्यका लागि समाज गम्भिर रुपमा लागेको बताए । उनले ज्येष्ठ नागरिकहरुलाई दिइने वृद्ध भत्तामा पनि जातको आधारमा रहेको विभेदलाई अन्त्य गर्न समाज लडिरहेको खुलासा गरे ।
कार्यक्रममा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँणले संसारमा धेरै प्रकारका धर्म रहेको भन्दै हिन्दु धर्म धर्महरुको माउ भएको बताए । उनले ब्राह्रमण समाजको कार्यक्रममा जाँदा मनमा भएको तनावको समेत व्यवस्थापन हुने गरेको भन्दै नगरपालिका ब्राह्रमण समाजसंग सहकार्य र एकता गरी अगाडी बढने प्रतिबद्धता व्यक्त गरे । नगर प्रमुख खाँणले विभिन्न समाजलाई रुखको पात, हाँगा र जरासंग जोडेर विश्लेषण गदै ब्राह्रमण समाज रुखको जरा भएको तर्क गरे ।
समाजकी महिला नेतृ पार्वती भण्डारीले अधिकार सुरक्षित गर्नका लागि ब्राह्रमणहरुलाई संगठित गर्न जरुरी रहेको भन्दै अधिकार प्राप्तिका खातिर एकता अहिलेको आवश्यकता भएकोले संगठन विस्तारमा जोड दिइन्।
ब्राह्रमण समाज रुपन्देहीका अध्यक्ष टोपलाल भुसालले एक वर्षको समयमा समाजले विभिन्न रचनात्मक काम गरेको भन्दै जिल्लामा १ हजार २३७ जना आजीवन सदस्य बनाई सकेको बताए ।
उनले समाजको पोसाक बनाउने, छाडा चौपाएको व्यवस्थापन र खाद्यानका लागि पालिकाहरुसंग सहकार्य गर्ने, ब्राह्रमणहरुले लगाउने जनै आफै तयार गर्नका लागि सबै स्थानीय तहमा तालिमको व्यवस्था गर्न लगाउने अभियान सञ्चालन गर्ने धारणा राखे ।
कार्यक्रममा कोषाध्यक्ष गोविन्द प्रसाद बस्यालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको सचिव दिवाकर अधिकारीले बताए ।
प्रतिक्रिया