काठमाडौं ।
आफूलाई खासै नाच्न नआउने बताउने अभिनेता दयाहाङ राई यसपाली नाङ्गो खुट्टा आगोमा नाचे। झाँक्री बनेर आगोको भुङ्ग्रोमा नाचेका दयाहाङलाई केही पनि भएन। आगोमा नाङ्गै खुट्टा नाचेको देखेका उनले फिल्म कार्साङका लागि आफैँ त्यसरी नाच्नु्पर्ने भयो। तर उनले फिल्म भएकाले त्यसमा केही उपाय अपनाउने होला भन्ने सोचेका थिए।
सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिकास्थित यार्सा गाउँका शेर्पा जातिको संस्कृतिमा आधारित फिल्म कार्साङमा काम गर्दा आफूले सुनेका कतिपय कुरा प्रत्यक्ष महसुस गर्न पाएको दयाहाङ बताउँछन्।
‘मैले झाँक्रीहरू आगोमा नाचेको त देखेको थिएँ, तर आफैँ त्यसरी नाच्नुपर्ला भन्ने सोचेको थिइनँ। फिल्म भएकाले चिटिङ सट लिने होला भन्ने सोचेको थिएँ। तर सुटिङको समयमा केही हुँदैन नाच भन्नु भयो। मन्त्र पढेर नाच्न भनिएको थियो। तर म मन्त्रतिर गइनँ र गाउँकै ४ /५ जना झाँक्रीले मन्त्र पढ्नु भयो। म दनदनी बलेको आगोमा नाङ्गो खुट्टा नाचेँ। तर अचम्म मलाई पोल्दै पोलेन। बरू आगो उछिटिएर छेउमै रहेको अर्को व्यक्तिलाई भने पोल्यो’ उनले अद्भुद क्षणको स्मरण सुनाए।
दयाहाङले सुनेको अर्को एक कुरा पनि प्रत्यक्ष अनुभव गरे। ‘मैले झाँक्रीले पर्न लागेको पानी रोक्न सक्छन् रे भन्ने सुुनेको थिएँ। तर प्रत्यक्ष देखेँ। एकदिन सुटिङ गर्दागर्दै धेरै राती भयो, पानी पर्ला जस्तो भयो। काम जसरी पनि सक्नु पर्ने थियो। हामी चिन्तामा थियौंँ, तर झाँक्रीहरूले हामीले पानी अलि बेर सार्दिएका छौँ। काम नसकी पानी पर्दैन भन्नुभयो। मैले रोक्न चाहिँ मिल्दैन भनेँ, उहाँहरूले रोक्नै चाहिँ सकिँदैन, तर सार्दिन्छौ भन्नुभयो। नभन्दै १२ बजे काम सकियो। काम सकिनासाथ ठूलो पानी पर्यो’ फिल्ममा झाक्रीको रूपमा देखिएका दयाहाङले उत्साहित हुँदै आफ्नो अनुभव सुनाए।
फिल्मका अर्का महत्वपूर्ण पात्र अभिनेता जितु नेपाल आफूले फरक भूमिका पाएका कारण फिल्ममा जोडिएको खुलाए। ‘फिल्मको लागि अफर आएपछि मलाई रोल निकै मन पर्यो। म सिन्धुपाल्चोकमै हुर्किएको मान्छे। त्यो क्यारेक्टरकै मान्छे देखिरहेकै हो, त्यस कारण माईला विकको क्यारेक्टर गर्दा रमाईलो लाग्यो’ जितुले सुनाए। उनले फिल्म विषय, प्रस्तुति र अभिनय सबै हिसाबले राम्रो भएको दाबी गरे।
यही फिल्मबाट ठूलो पर्दामा डेब्यु गरेकी अभिनेत्री सिर्जना निम्लेखुले आफूलाई अभिनयमा रुचि भएकाले रंगमञ्चमा पनि काम गरेको खुलाउँदै फिल्ममा राम्रो मिहिनेतका साथ अभिनय गरेको बताइन्। फिल्मका निर्देशक तथा लेखक यम शेर्पाले आफू शेर्पा समुदायको भएको र कार्साङमा समावेश संस्कृति आफ्नो समुदायमा मात्र भएको कारण यही विषयमा फिल्म निर्माण गरेको बताए।
‘कार्साङमा देखाइएको शेर्पा संस्कृति मेरो गाउँमा मात्र पाइन्छ। जुन अन्य क्षेत्रको शेर्पा समुदायमा हुन्न। त्यस कारण यो विशुद्ध भौगोलिक फिल्म हो’ उनले भने। उनका अनुसार शेर्पा समुदायको कथामा आधारित पारिवारिक फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्नेछ।
आगामी शुक्रवार रिलिज हुने फिल्ममा दयाहाङ, सिर्जना र जितुको साथमा दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेका छन्। यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को ब्यानरमा छायाँकार पुरुषोत्तम प्रधानद्वारा निर्मित फिल्ममा छायांकन उनकै छ भने अभि लामाको कोरियोग्राफी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ।
प्रतिक्रिया