काठमाडौं ।
बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म जुनाः एक व्यथाको पोस्टर सार्वजनिक गरिएको छ।
पोस्टरमा फिल्मका प्रमुख कलाकार अस्मिता ढकाल र कृष्णप्रसाद धिताललाई प्रस्तुत गरिएको छ। विवाहित अस्मिता काखमा सन्तान बोकेर निराश भावमा टोलाइरहेकी छन्।
कलाकार कृष्ण भने कोहीप्रति रिस व्यक्त गरिरहेका छन्। दाह्री जुंगा र दौरा, टोपीको गेटअपमा देखिएका उनले कर्के नजर र अनुहारको भावले रिसाएको देख्न सकिन्छ। फिल्ममा अस्मिता ढकाल, कृष्णप्रसाद धिताल, देशभक्त खनाल, रश्मी भट्ट, कमल बोहोरा, अस्मिता बस्नेत, खगेन्द्र न्यौपानेलगायतले अभिनय गरेका छन्।
आगामी माघ २५ गते रिलिज हुने फिल्म गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा दीपकप्रसाद घिमिरेले निर्माण तथा जीवन सेञ्चुरीले निर्देशन गरेका हुन्। ‘नेपाली समाजमा व्याप्त महिला हिंसा, बाल विवाह, अनमेल विवाह, बहुविवाह, बलात्कार, जबरजस्ती करणी, छाउपडीजस्ता कुप्रथालाई अन्त्य गर्ने राष्ट्रिय आवश्यकतालाई यस फिल्मको माध्यमबाट सम्बोधन गर्ने प्रयास गरिएको छ’, निर्देशक सेञ्चुरीको भनाइ छ।
पर्वतको सालिजा ओख्रेनीमा छायांकन गरिएको फिल्ममा राजबहादुर सानेको कथा, बीबी अनुरागी र रमेश सेञ्चुरीको संगीत, जीवन सेञ्चुरी र भीमबहादुर पौडेलको शब्द रचना, अञ्जु पन्त, पूर्णकला बिसी र यदुराई लकान्द्रीको स्वर तथा रामेश्वर हुमागाईंको डिओपी रहेको छ।
प्रतिक्रिया