माझचौरको पीडा कि बाध्यता ? महिलाले नै बोक्छन् बिरामी, गाउँ रित्तै

282
Shares

मुगु ।

मुगु जिल्लाको पश्चिम खत्याड गाउँपालिका–४ माझचौर भन्ने स्थानमा एक कारुणिक दृश्य देखियो । एउटा स्ट्रेचरमा ४–५ जना अधबैंसे महिलाले बिरामी बोकेर माझचौरस्थित निजी औषधि पसलतर्फ लैजाँदै थिए। उनीहरू गाउँपालिकाकै वडा नम्बर–३ माथिखर्क गाउँका स्थानीय महिला थिए।

खत्याड गाउँपालिका–३ माथिखर्क गाउँकी ७० वर्षीया पन्चा टमटा दमले थला परेर गाउँमा उपचार सम्भव नभएपछि उहाँलाई गाउँकै ४–५ जना महिला मिली उपचारका लागि बोकेर औषधि पसल पुर्‍याएर उपचार गराएका थिए।

खत्याड–४ माझचौरमा देखिएको यो दृश्य बिरामी बोकेकी नजिकैको खर्कगाउँकी महिलाको हो। करिब डेढ घण्टाको पैदल दूरीमा रहेको गाउँदेखि ४–५ जना महिलाले स्ट्रेचरमा बिरामी बोकी उपचार गराउन मेडिकल पुग्नु सम्भवतः जिल्लाका लागि पहिलो घटना हो।

यो दृश्य माझचौरमै स्टेसनरी पसल गर्दै आएका खत्याड–११ रातापानीका कमल कार्कीको आँखामा ठोकियो। कार्कीले नै तस्वीर खिचेर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै लेख्नुहुन्छ– ‘देशको अवस्था यतिसम्म भइसकेछ जबकि गाउँमा कोही बूढापाका बिरामी हुँदा बोकेर स्वास्थ्य चौकीसम्म लैजानका लागि युवाहरू छैनन्; हुन त कसरी गाउँमा युवाहरू बसून् रोजगारी छैन, श्रम गरेर खान पुग्दैन, काम गरे पनि १/२ वर्षसम्म ज्याला मिल्दैन; अनि कसरी गाउँमा बस्ने, कसरी परिवार पाल्ने ?’ उहाँको चिन्ता थियो– ‘देशका ७५३ स्थानीय तहका वडादेखि केन्द्रसम्म भ्रष्टाचारी नेतालाई पालनपोषण गर्न सबै पार्टी लागिपर्ने, अनि कसरी देश अगाडि बढ्ला अबको एक वर्षपछि गाउँमा युवा देखियो भने कि त्यो नेताको गुलाम हो; कि त अशक्त छ भनेर बुझ्दा हुन्छ । अनि बूढापाका घरभित्रै मरेर कुहिने अवस्था हुन्छ। के बिजोक देख्नु पर्‍यो नि यी आँखाले !’

यस विषयमा उहाँका छोरा चन्द्रबहादुर विक भन्नुहुन्छ– ‘म माझचौरमा पसल गरेर बस्छु; घरमा आमा दमले थला परेको थाहा पाएपछि उपचारका लागि घर गएँ । गाउँमा युवाहरू कोही छैनन् सबै रोजगारीका लागि भारततिर गएका छन्।’ उहाँले दुःखेसो गर्दै भन्नुभयो– ‘बिरामी आमालाई एक्लै बोक्न सम्भव नभएपछि गाउँकै महिला दिदीबहिनीहरूले बोकेर मेडिकल पु¥याए, अरू कुनै विकल्प नै थिएन।’ यतिमात्रै नभई आमाको उपचारपछि पुनः डेढ घण्टा महिलाहरूले नै बोकेर घरमै पु¥याएको छोरा चन्द्रबहादुरले बताउनुभयो। ‘यो कुनै रहर नभएर बाध्यता हो’, उहाँले थप्नुभयो– ‘६० घरधुरी रहेको माथिखर्क गाउँका दलित बस्ती यति बेला युवाविहीनजस्तै छन्।’

खर्क गाउँमा मात्रै होइन दशैंतिहार र कात्तिकको काम सकेर युवाहरू मजदुरीका लागि भारततिर पस्दा मुगुका दर्जनौं गाउँबस्ती युवाविहीन जस्तै छन्। आज गाउँमा यस्तै दर्दनाक अवस्था छ; राज्य कानमा तेल हालेर बसेको जस्तै महसुस स्थानीयले गरेका छन्।