जाजरकोट ।
जाजरकोटका भूकम्पपीडित पुसको चिसो रात काट्न नसक्दा बिचल्लीमा परेका छन्। पुनर्निर्माणको कामले गति नलिँदा तथा स्थानीय सरकार दोस्रो किस्तामा अड्किएपछि चिसो मौसममा भूकम्प प्रभावितलाई पुसको कठ्याङ्ग्रिदो जाडोमा रात काट्न मुस्किल भएको हो ।
गत वर्ष कार्तिक १७ गते बारेकोट गाउँपालिका–१ रामिडाँडा केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको गएको १४ महिना बिते पनि सरकारले पुनर्निर्माणको कामलाई अगाडि नबढाउँदा घुमिफिरी आएको अर्को पुस महिना कटाउन मुस्किल भएको छ। उनीहरू क्षतिग्रस्त घर निर्माण गर्न नसक्दा अस्थायी टहरामा रात बिताउन बाध्य भएका छन् । ज्यालामजदुरी गरी न्यानो बासमा जीवन निर्वाह गरेका नागरिक डरत्रासमै बस्नुपरेको छ।
सरकारले घर बनाइदेला र बसौंला भनी पर्खिबसेका भूकम्पपीडित १४ महिना बित्दासमेत पुनर्निर्माणको काम कछुवाको गतिमा बढाउँदा साहुबाट कर्जा लिएर घरबास बनाउन थालेका छन्। ज्यालामजदुरीको भरमा जीविकोपार्जन गरेका नागरिकले पुनर्निर्माण त परको कुरा हो दोस्रो किस्तासमेत पाउन नसकेपछि अस्थायी आवास निर्माणका लागि साहुबाट लिएको कर्जा तिर्न नसकेपछि अस्थायी टहरामा बस्न सकेका छैनन्।
भेरी नगरपालिका–१ मैदेका सुरेन्द्र रानाले अस्थायी आवासमा रात बिताउन निर्माण गरेका टहरा यता साहुले उता चिसोले सताउन थालेपछि चिन्तित हुनुपरेको बताउनुभयो। स्थानीय सरकारले भूकम्पपीडितको समस्यालाई हल्का रूपमा लिएपछि चिसो मौसममा ज्यान जोगाउन मुस्किल भएको छ। भेरी नगरपालिका–१ की डिलसरा रानाले भूकम्प गएको १४ महिनासम्म पनि नागरिकले सरकारबाट पाउने सेवा नपाउँदा ज्यादै गाह्रो भएको बताउनुभयो।
भौगोलिक विकटता दुर्गम बस्तीका नागरिक चिसो मौसममा आगो तापेर रात बिताउने गरेका छन् । ज्येष्ठ नागरिक, बालबालिका, सुत्केरी गर्भवती महिला, सीमान्तकृत समुदाय, फरक क्षमता भएका व्यक्ति समस्यामा परेका छन्। दोस्रो किस्ता छिटोछरितो वितरण गरी तत्काल पुननिर्माणको कामलाई अगाडि बढाउन पीडितले माग गरेका छन्।
प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले दोस्रो किस्ता रकम माग गरेका स्थानीय तहको विपद् व्यवस्थापन कोषमा तत्काल रकम जम्मा गरेको बताउनुभयो । स्थानीय सरकारको ढिलासुस्तीका कारण दोस्रो किस्ता वितरणमा विलम्ब भएको छ। उहाँले दोस्रो किस्ता रकम वितरण भएपछि पुनर्निर्माणको कामलाई अघि बढाउने बताउनुभयो।
नागरिकको घरआँगनमै भएको स्थानीय सरकारले रकम निकासाका लागि ताकेता गर्नुको सट्टा स्थानीय प्रशासनले रकम लिन बारम्बार सम्पर्क गरेको बताउनुभयो । विपद् पोर्टलमा प्रभावितहरूको नाम इन्ट्री भएको खण्डमा ढिला नगरी स्थानीय विपद् व्यवस्थापन कोषमा रकम जम्मा गरिदिने प्रमुख जिल्ला अधिकारी मंग्रातीको भनाइ छ।
उता, भूकम्प प्रभावित अस्थायी टहरामा चिसोले बस्न नसकेपछि चर्किएका जोखिम घरमा बस्न थालेका छन् । यस वर्ष पनि बारेकोटको नायकवाडा केन्द्रबिन्दु भएर गत पौष ११ गते भूकम्प गएको थियो। भूकम्पको परकम्प जान थालेपछि डर त्रासमै बस्ने गरेका छन्। भौगोलिक विकटता भिरालो जमिन अन्नबाली उत्पादन तथा उत्पादकत्व नहँुदा ग्रामीण बस्तीका नागरिकलाई छाक र रात बिताउन समस्या भएको छ। यातायातको पहुँच नपुगेका ग्रामीण वस्तीका नागरिक बिरामी परेपछि औषधि उपचारका लागि स्वास्थ्य संस्था आउन कठिन छ ।
प्रतिक्रिया