–देशभर ५८ दशमलव ४ प्रतिशत छात्रा, छात्रको संख्या ४२ प्रतिशत
–त्रिविमा ५८ प्र्रतिशत, मेडिसिन विषयमा ५९ प्रतिशत छात्रा
–स्वास्थ्यमा छात्रा, कृषि, विज्ञान र सूचना प्रविधिमा छात्र बढी
काठमाडौं ।
देशका अधिकांश विश्वविद्यालयमा छात्राको संख्या ह्वात्तै बढेको छ । विश्वविद्यालय अनुदान आयोगले सार्वजनिक गरेको शैक्षिक व्यवस्थापन तथा सूचना प्रणाली एजुकेसन म्यानेजमेन्ट इन्फरमेसन सिस्टम (इमिस) मा छात्राको संख्या ह्वात्तै बढेको देखाएको छ।
विश्वविद्यालयगत रुपमा त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत ४ लाख ९१ हजार २ सय ९९ मध्ये ५८ दशमलव ४ प्रतिशत छात्रा रहेका छन्। छात्रको संख्या ४२ प्रतिशत मात्र छ। त्रिविमा स्नातक तहमा छात्राको संख्या बढी छ । सो तहमा ५७ दशमलव ६१ प्रतिशत अध्ययनरत छन्।
प्रतिवेदनमा प्राविधिक र गैरप्राविधिक विषयमा गरी छात्राको संख्या ३ लाख ५८ हजार १ सय ४० जना छन् भने छात्रको संख्या २ लाख ७४ हजार ९ सय १३ छ। तीमध्ये व्यवस्थापन संकायमा २ लाख ८२ हजार ८ सय ३६ विद्यार्थी छन् । यो संकायमा छात्राको संख्या १ लाख ६२ हजार ७ सय ३३ उल्लेख छ । शिक्षा संकायमा १ लाख ३९ हजार ४ सय १७ छन् । सो संकायमा छात्राको संख्या १ लाख २ सय ३० छ।
देशभरका विश्वविद्यालयअन्तर्गतका शिक्षण संस्थामा ६ लाख ३३ हजार ५३ विद्यार्थी अध्ययनरत छन्। यो तथ्याङ्क चालु शैक्षिक सत्रको हो । तीमध्ये पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७५, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ७४ दशमलव ८, नेसनल एकेडेमी अफ मेडिकल साईन्स (न्याम्स) मा ७४ दशमलव ३ प्रतिशत छात्रा अध्ययनरत छन्। सुदूरपश्चिम विश्वविद्यालयमा ६६ दशमलव ३ प्रतिशत छात्रा अध्ययनरत छन्।
इमिसको प्रतिवेदनअनुसार सबै विद्यार्थीको अनुपातमा ७१ दशमलव ८९ प्रतिशत छात्रा विभिन्न विश्वविद्यालयका संकायहरुमा अध्ययरत छन् । मेडिसिनमा ५९ दशमलव ४७, व्यवस्थापन संकायमा ५७ दशमलव ५४ प्रतिशत छात्रा अध्ययनरत छन्।
मानविकी तथा सामाजिक संकायमा समेत छात्राको संख्या बढेको छ । सो संकायमा ५३ दशमलव ६८ प्रतिशत छ।
इन्जिनियरिङ, विज्ञान तथा प्रविधि र संस्कृत संकायमा छात्राको संख्या कम रहेको जनाएको छ। इन्जिनियरिङमा २४ दशमलव ४, विज्ञान तथा प्रविधिमा ३९ दशमलव १७ र संस्कृतमा १४ दशमलव ५० प्रतिशत छात्रा अध्ययनरत छन्।
तथ्याङ्गत रुपमा त्रिविमा ४ लाख ९१ हजार २ सय ९९ अर्थात् ७७ दशमलव ६१ प्रतिशत विद्यार्थी अध्ययनरत छन्। त्यसबाहेक अन्य विश्वविद्यालयका करिब २४ प्रतिशत विद्यार्थी अध्ययन गरिरहेका छन्।
त्यसपछि पूर्वाञ्चल विश्वविद्यालयमा ३९ हजार ७ सय ८० अर्थात् ६ दशमलव २८ प्रतिशत, पोखरा विश्वविद्यालयमा ३५ हजार २ सय ५ दशमलव ५६, काठमाडौं विश्वविद्यालयमा २१ हजार ५३ अर्थात् ३ दशमलव ३३, सुदूरपश्चिममा १९ हजार ३ सय ५६ अर्थात् ३ दशमलव ६ प्रतिशत विद्यार्थी अध्ययनरत छन्।
कृषि तथा वनमा ४ हजार ६६ अर्थात् शून्य दशमलव ६४, नेपाल संस्कृतमा ३ हजार २ सय ९५ अर्थात् शून्य दशमलव ५२, मध्यपश्चिममा ११ हजार १ सय ७१ अर्थात् १ दशमलव ७६ प्रतिशत, नेपाल खुला विश्वविद्यालयमा १ हजार ६ सय ३४ अर्थात् शून्य दशमलव २६ प्रतिशत अध्ययनरत छन्।
अन्य विश्वविद्यालयमा अत्यन्तै न्यून संख्यामा अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ।
मेडिकल र स्वास्थ्य सेवाका लागि खुलेको स्वास्थ्य प्रतिष्ठानहरुमा १ हजार ४ सय ५९ विद्यार्थी अध्ययनरत छन् । तीमध्ये पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ सय ५०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ सय ८१ जना विद्यार्थी अध्ययन गरिरहेका छन्।
प्रतिक्रिया