वेपत्ता कसरी भयौ शहर वा गाउँ कि पाखा तिरै,
खोज्दामा किन भेटिएन सहजै वा खोजिएन कतै ।
सेना ए! प्रहरी जवानहरू हो खोज्नै नसक्ने हो र,
या खोज्न नसकि हताश मन भो उच्च सर्वोच्च तिर।।
हजारौं झरना नदी विरहमा चिच्याउदै छन् अझ,
चम्केका बिजुली र चट्याङ अझै खोज्दैछ ती मानव।।
वेपत्ता परिवारका नजरमा आँखा जुधाई हेर,
साँचेका सपना त बाहुबलले खोसेछौ है ! आखिर ।।
देख्यौं कि र? जनता जनार्दनहरू राजेन्द्र दाजु कतै ?
प्रचण्डै पथमा प्रकाश किरणै खोजी दिनु है त्यतै ।
रोजीयो दरबार भित्र सपना आफ्नै घरबारमा,
मेटायौ सपना सहिद मनका त्यो वालुवाटारमा ।।
वेपत्ता परिवारका ती सपना इच्छा र लक्ष्यहरू,
रोपिएन अझै विधानहरूमा खाली छ पानाहरू ।।
छाडेका पथका नियाल सपना फर्केर जाउ रोज,
देखेनौ किरु बुंदा विधान तिरको खैरु संविधान खोज ।
भित्र्यायौ अब शान्ति यो मुलुकमा आयो लोकतन्त्र नै,
वेपत्ता जन खोजिए सदनमा भेटिन्छ होला अझै ।।
लौ ! खोजी गर है महान गण हो योद्धा हराए जति,
देऊ है! समचार खोज्न सजिलै भेटिन्छ भेटिन्छ किरु
२०५५ साल पौष २४ गते गोरखा जिल्ला साविक हर्मी गा.वि.स. निवासी राजेन्द्र ढकाललाई राज्यद्वारा वेपत्ता बनाएको स्मरणको अवसरमा सोही ठाँउ निवासी मीरा घिमिरेद्वारा रचना गरिएको हो ।
रचनाकार मीरा घिमिरे सोही हर्मी गा.वि.स. वडा नं. ६ निवासी गीता घिमिरे सहादत २०५६ पौष १९ गते राज्यद्वारा हत्या गरिएका सहीदका सहोदर बहिनी हुनुहुन्छ ।
प्रतिक्रिया