भारतमा ह्युमन मेटान्युमो भाइरस ८ जनामा पुष्टि, नेपालमा अहिले सम्म देखिएको छैन- डा.बुढाथोकी 


काठमाडौँ। 

भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) ८ जनामा पुष्टि भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मङ्गलवार बिहान महाराष्ट्रको नागपुरमा २ जना यो भाइरस पुष्टि भएको छ ।

सङ्क्रमितमध्ये एक जना १३ बर्षीया बालिका हुन् भने अर्का ७ वर्षका बालक हुन् । सोमबार बिहान मात्रै कर्नाटकमा तीन महिनाका बालिका र ८ महिनाको बालकमा यो भाइरस पुष्टि भएको पाइएको थियो ।

यसैगरी पश्चिम बंगालमा एक जना, तमिलनाडुको चेन्यईमा पनि दुई जना बालबालिकामा यो भाइरसको सङ्क्रमण देखा परेको बताइएको छ । यसैगरी अहमदावादमा पनि दुई जना बालबालिकामा यो भाइरस देखिएको छ ।

भारतीय स्वास्थ्य मन्त्री जेपी नाड्डाले विशेषज्ञहरुलाई उदृत गर्दै नयाँ भाइरस भने नभएको बताए । उनले विश्व स्वास्थ्य संगठनसंग सरकार समन्वयमा रहेको भन्दै भाइरसबारे नयाँ जानकारी आउनासाथ जानकारी गराउने उल्लेख गरेका छन् ।

एचएमपीभी भाइरसको लक्षण पनि कोभिड १९ को जस्तै देखिने गरेको छ । तर स -साना उमेरका बालबालिकाहरु यसबाट बढी प्रभावित देखिएका छन् । 

यो भाईरसका बिषयमा नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकी भने – नयाँ भाइरस होइन, नेपालमा पनि १० वर्ष पुरानै हो । 

स्वासप्रस्वासमा समस्या ल्याउँछ । बृद्ध र बालबालिकालाई निमोनिया जस्ता समस्या ल्याएको छ । जनस्वास्थ्यको मापदण्डको पालना गर्नुपर्छ यदि त्यसो गरिएन भनै कहिले कहीँ ज्यानै पनि जान सक्छ । सरकारका हरेक निकाय तयारी अवस्थामा छन् र नेपालमा पछिल्लो समय यो रोग पहिचान भएको छैन।