मातृभाषाको संरक्षणका लागि दक्षिण एसियाका पत्रकारहरुबीच सहकार्यको खाँचो

भारतमा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न 


काठमाडौं ।

मातृभाषाको संरक्षणका लागि पत्रकारिताको भूमिकालाई प्रभावकारी बनाउन दक्षिण एसियाका पत्रकारहरुबीच आपसी सहकार्य र ऐक्यबद्धताको खाँचो सम्बद्ध वक्ताहरुले औँल्याएका छन् ।अम्रपाली कला साहित्य सम्मेलन बैशालीले सार्क जर्नलिष्ट फोरम भारत च्याप्टर, वैशालीसंग मिलेर बासोकुण्ड महावीर जन्मभूमीको सभाहलमा हालै आयोजित समारोहका वक्ताहरुले सो खाँचो औँल्याएका हुन्।

सो अवसरमा अन्तर्राष्ट्रिय लोक संस्कृतिका विज्ञ डा. सरिता बधुले मातृभाषाको संरक्षणका राज्य र जनताको महत्वपूर्ण भूमिका रहेको बताइन् । उनले बैशालीमा प्रचलित बज्जिका भाषाको इतिहास र त्यसले निर्माण गरेको सभ्यताको उल्लेख गर्दै बज्जिकासंगै भोजपुरी भाषालाई भारतको आठौं भाषाको सूचीमा राख्नुपर्नेमा जोड दिइन् । बैशालीबाट उत्पति भएको बज्जिका भाषा नेपालका पूवी तराई मधेशका पाँच वटा जिल्लाहरुमा पनि प्रचलित रहेको छ ।

समारोहमा उच्च न्यायालय पटनाका पूर्व न्यायाधीश राजेन्द्रप्रसादले बैशाली भाषा, संस्कृति र धार्मिक हिसाबले ऐतिहासिक भारत वर्षको महत्वपूर्ण ठाउँ रहेकोले यहाँको सभ्यता जोगाउन भाषा र लोकसंस्कृतिको संरक्षण हुनुपर्नेमा जोड दिए।

सार्क जर्नलिष्ट फोरम बैशालीका अध्यक्ष डा.शशि भूषण कुमारले मातृभाषा संस्कृति र सभ्यताको संवाहक रहेकोले पत्रकारहरुले मातृभाषाको संरक्षणलाई पनि एउटा महत्वपूर्ण दायित्वकोे रुपमा आत्मसात गर्नुपर्ने बताए । बैशालीबाट प्रकाशित हुने मानवअधिकार टुडेका सम्पादक समेत रहेका डा. कुमारले मातृभाषाको संरक्षणका लागि पत्रकारिताको भूमिकालाई प्रभावकारी बनाउन सार्क क्षेत्रका पत्रकारहरुबीच सहकार्य खाँचो औल्याए। 

सो अवसरमा नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले नेपालमा मातृभाषा शताब्दी वर्ष मनाईरहँदा भारतको बैशालीमा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन आयोजना गर्नु स्वयंमा गौरवको विषय रहेको धारणा राखे।यसले पत्रकारिताको माध्यमबाट मातृभाषाको संरक्षणमा ठोस योगदान पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष श्रेष्ठले विश्वास व्यक्त गरे ।

समारोहमा डा. जितेन्द्रकुमार सिंहले मातृभाषामा दैनिक बोलचाली र प्रयोगमा जोड दिदै कुनै पनि भाषाको प्रयोगबाट त्यसको जीवन्त शक्ति बढ्ने बताए।उनले मातृभाषाबाट सम्प्रेषणीय क्षमता, त्यसले बोक्ने संस्कृति, संस्कार र सभ्यतालाई जर्गेना गर्न मातृभाषाको अत्यन्त महत्वपूर्ण रहेको बताए।

नेपालमा सबै मातृभाषालाई राष्ट्रभाषाको स्थान दिइएको उल्लेख गर्दै नेवाः पत्रकार राष्ट्रिय दबूका वरिष्ठ उपाध्यक्ष सुनील महर्जनले यसले मातृभाषाको विकासको थप आशावादी तुल्याएको बताए । उनले मातृभाषाको पत्रकारिता सूचना दिने, शिक्षा दिनेसंगै भाषा जोगाउन पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकोले मातृभाषाको पत्रकारितालाई सबैपक्षबाट बढावा दिनुपर्नेमा जोड दिए । मातृभाषाको पत्रकारिताको विकास सार्क जर्नलिष्ट फोरमको एउटा महत्वपूर्ण कार्यसूची हुनुपर्नेमा वरिष्ठ उपाध्यक्ष महर्जनको जोड रहेको छ ।

 विहार हिन्दी साहित्य सम्मेलनका अध्यक्ष डा अनिल सुलभ,कौसर प्रवेज खान लगायतले बोलेको उक्त  समारोहमा डा. शशिभूषण कुमार र अमितकुमार विश्वासले लेखेको  मानव अधिकार एक दृष्टि नामक पुस्तक लोकार्पण गरिएको थियो ।