काठमाडौं ।
आगामी शुक्रवार रिलिजमा आउने फिल्म कार्साङको ट्रेलर सार्वजनिक गरिएको छ। फिल्मका मुख्य पात्र दयाहाङ राईलाई समाजले पानीबाट काढ्ने चेतावनीबाट शुरू हुने ट्रेलरले मनको तीतो र अभाव देखाउँछ।
झाँक्री विद्याप्रति विद्यमान विश्वास, सामाजिक परम्परा, आर्थिक कारोबार, प्रशासन र समाजले गर्ने बहिष्कार ट्रेलरमा प्रस्तुत गरिएको छ। रिस, द्वेष र समाजको निर्णयले परिवारमा देखिने विचलन र फाटो देखाउँदै ट्रेलरले फिल्मको मुख्य पात्रले स्वाभिमानका लागि गर्ने संघर्ष र सम्झौता प्रस्तुत गरेको छ।
फिल्मको ट्रेलरलाई दर्शकले मन पराएका छन्। सार्वजनिक भएको २४ घण्टामै ट्रेलर ट्रेन्डिङको दुई नम्बरमा पुगेको छ। ट्रेलर मुभि सेक्सनको दुई नम्बरमा छ।
फिल्म ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित रहेको निर्देशक यम शेर्पाले जानकारी गराए। दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायत कलाकारले अभिनय गरेको फिल्म यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को ब्यानरमा छायाँकार पुरुषोत्तम प्रधानले निर्माण गरेका हुन्।
प्रतिक्रिया