महानगरमा भाँडभैलो : निमित्त प्रमुख प्रशासकीय अधिकृतले दिए राजीनामा

11.75k
Shares

–कामपामा कार्यकारी अधिकृत खाली, छानबिन अन्योलमा, मेयर घुमघाममा मस्त, निर्णय गर्न डराउँछन् कर्मचारी

काठमाडौं ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको सचिवालयका कारण काठमाडौं महानगरपालिकाको काम कारबाही भद्रगोल भएको छ । भद्रगोल प्रशासनका कारण एक साताअघि निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएका गोविन्दप्रसाद शर्माले राजीनामा दिनुभएको छ । उहाँले मेयर सचिवालयकोे दबाब थेग्न नसकेर राजीनामा दिनुभएको हो ।
स्रोतका अनुसार अवकास हुनै लाग्दा विवादमा परिन्छ कि भन्ने तनावका कारण राजीनामा दिनुभएको हो।

शर्माले राजीनामा दिएपछि अब के गर्ने भन्ने विषय अन्योलमा छ । उच्च स्रोतका अनुसार मेयर सचिवालयको दबाबका कारण त्यहाँका कर्मचारीसमेत त्रसित भएका छन् । सचिवालयको हर्ताकर्ताको रूपमा स्वकीय सचिव भूपदेव शाह, विकास पूर्वाधार, वातावरण व्यवस्थापनको जिम्मा पाएका सुनील लम्साल, नक्सा विभागको जिम्मा पाएका सन्तोष पाण्डे, सूचना प्रविधिका सुदीप ढकाल र कुमार व्यञ्जनकारका कारण महानगरका कर्मचारी आतंकित भएका छन् । ‘सबै काम उनीहरूकै आदेशअनुसार गर्नुपर्छ, नमाने कारबाही भोग्ने कि फस्ने त्रास हुने गरेको छ’ –एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने।

मेयर साहले सबै विभागमा आफ्नो मान्छे खटाएर तनाव दिने र भनेका काम नगरेमा विभिन्न आरोप लगाएर कारबाही गर्ने प्रवृत्ति बढेपछि उच्च तहका कर्मचारीले राजीनामा दिएका हुन् । निमित्त प्रमुख प्रशासकीय अधिृकृत शर्माले पनि त्यही त्रासका कारण राजीनामा दिनुभएको हो । लामो समय शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानवस्रोत केन्द्र र मन्त्रालयको जागिर खानुभएका शर्माले कामपाको शिक्षा विभाग प्रमुख हुनुहुन्थ्यो। कामपामा वरिष्ठ कर्मचारीको हैसियतमा मेयर साहले शर्मालाई निमित्त कार्यकारीको जिम्मेवारी दिनुभएको थियो। उहाँ दशौं तहको अधिकृत हुनुहुन्छ।

निमित्तको जिम्मेवारी दिएलगत्तै शर्मालाई आर्थिक अधिकार दिनुपर्ने दबाब मेयर साहको थियो । मेयर साहले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाही गर्ने जनाएपछि कानुनी बाटो खोजेको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय कामपामा तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन सक्ने अवस्थामा छैन ।

अवकास हुने बेलामा विवादरहित हुन चाहेका निमित्त प्रमुख प्रशासकीय प्रमुख शर्माले जागिर अवधि १५ महिना बाँकी रहँदै राजीनामा दिनुभएको हो । उहाँको राजीनामा प्रदेश सरकारले स्वीकृत गर्ने कानुनी व्यवस्था छ। नयाँ कार्यकारीले पदबहाली गरेपछिमात्रै शर्माको राजीनामा स्वीकृत हुने सम्भावना रहेको छ। शर्माले आइतबार मेयरको सचिवालयमा राजीनामा छाड्नुभएको थियो।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले रत्नपार्कस्थित काठमाडौं टाबरको नक्सापास गर्दा हार्डकपीमा हस्ताक्षर गरेको विषयमा अनुसन्धान गर्न कामपाका कानुनी सल्लाहकार पूर्वन्यायाधीश शेखरप्रसाद पौडेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । सो समितिका संयोजक पौडेलले राजीनामा दिएका कारण प्रमुख प्रशासकीय अधिकृत गुरागाईंको छानबिन प्रक्रिया अवरुद्ध भएको छ । मेयर साहले अब कसको संयोजकत्वमा समिति बनाउने तयारी भएको छ भन्ने विषयमा कसैलाई जानकारी छैन।

महानगरमा भाँडभैलो भइरहँदा प्रमुख साह सचिवालयका सुनील लम्सालसहितको पारिवारिक टोली थाइल्यान्ड भ्रमणमा हुनुहुन्छ । स्रोतका अनुसार साह २४ गते फर्कने कार्यक्रम छ। सचिवालयको कुरा सुनेर कर्मचारीमाथि कारबाहीको डण्डा चलाउने मेयर साहलाई सहयोग गर्ने कर्मचारीहरूको समेत अभाव हुन थालेको स्रोतको भनाइ छ।

‘राम्रो सोचेर काम गर्‍यो, सचिवालयका सदस्यको दबाबले फसिएला भन्ने डर, यस्तो अवस्थामा कसरी काम गर्ने ?’ –कामपाका अधिकांश कर्मचारीको गुनासो छ। मेयर साहले आफूलाई चित्त नबुझेमा वागमती प्रदेश सरकारसँग सहमति लिएर धमाधम हेटौंडामा सरुवा गर्ने गर्नुभएको आरोप लागेको छ।