भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) तीन जनामा पुष्टि


नयाँदिल्ली। 

कोरोनाजस्तै घातक मानिने ह्युमन मेटान्युमो भाइरस  (एचएमपीभी) फैलिदो क्रममा रहेको छ । एचएमपीभी भाइरत चीनपछि भारतमा ३ जनामा देखा परेको छ। भारतमा ह्युमन मेटान्युमो भाइरस (एचएमपीभी) तीनजनामा पुष्टि भएको समाचार एजेन्सीले जनाएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भाइरस पुष्टि भएका तीनै जना बालबालिका रहेका छन् । 

भारतीय चिकित्सा अनुसन्धान परिषद्का अनुसार कर्नाटका राज्यका दुई जनामा  विभिन्न श्वासप्रश्वाससँग सम्बन्धित भाइरसको नियमित निगरानीको क्रममा उक्त रोग पत्ता लागेको थियो ।

बेंगलुरुको बेप्टिस्ट अस्पतालमा ब्रोंकोन्युमोनिया भएकी तीन महिने  बालिकालाई यो भाइरस देखिएको थियो र उनी डिस्चार्ज भइसकेकी छिन् । साथै, आठ महिनाका बालकलाई पनि ब्रोंकोन्युमोनिया भएका कारण अस्पताल भर्ना गरिएको थियो र उनलाई ३ जनवरीमा यो भाइरसको परीक्षणमा पोजेटिभ आएको थियो । उनको अवस्था अहिले सामान्य नै छ ।

यस्तै गुजरातका एक बालकमा पनि यो भाइरस पुष्टि भएको छ । गुजरातको राजस्थान डुंगरपुरका एक बालकलाई डिसेम्बर २४ मा अहमदाबादको चांदखेडा क्षेत्रको निजी अस्पतालमा श्वासप्रश्वास सङ्क्रमणको लक्षणसहित भर्ना गरिएको थियो । परीक्षण पछि उनलाई यो भाइरस पोजेटिभ देखाइएको थियो ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यी तीनै जना  बालबालिकाले अन्तर्राष्ट्रिय यात्रा गरेका छैनन् । मन्त्रालयले भनेको छ कि ह्युमन मेटान्युमो भाइरस पहिले नै विश्वभरि फैलिएको छ । जसमा भारत पनि समावेश छ र यससँग सम्बन्धित श्वासप्रश्वास रोगका घटनाहरू विभिन्न देशहरूमा रिपोर्ट भएका छन् ।

एजेन्सी