काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रवार साँझ सरकारका सबै सचिवलाई राखेर साढे ३ घण्टा छलफल गर्दै मन्त्रायहरूले परिणाम दिने गरी काम गर्न नसक्नुका कारणहरू सोधखोज गर्नुका साथै जनतामा आशा जाग्ने गरी काम गर्न निर्देशन दिनुभयो।
प्रधानमन्त्री ओलीले सचिवहरूले भोग्नुपरेका समस्याका बारेमा समेत जानकारी लिनुभयो। ओलीले सेवा प्रवाह, सुशासन र विकास निर्माणका कार्यमा किन परिणाम आउन सकेन भन्दै सचिवहरूलाई प्रश्नसमेत गर्नुभयो ।
ओली नेतृत्वको सरकार बनेको ६ महिना पुगिसक्दासमेत सरकारले जनतामा कुनै आशा जगाउन नसकेको र उल्लेख्य काम गर्न नसकेको भन्दै नागरिकस्तरमा निराशा छाइरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीले सबै मन्त्रालय र निकायका सचिवहरूलाई बोलाएर जनतामा आशा जाग्ने गरी काम गर्न निर्देशन दिनुभएको हो।
मन्त्रालय र सम्बन्धित निकायको कार्यसम्पादन उपलब्धि, समस्या र चुनौतीलाई छलफलको मुख्य विषय बनाइएको थियो। सो छलफलमा प्रधानमन्त्री ओलीले विकास, सुशासन, सेवा प्रवाह र जनताले पाउने सुविधा जनतासमक्ष पुर्याउने प्रमुख माध्यम नै सचिवहरू भएकाले सचिवहरूले विशेष सक्रियताका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
उहाँले कानुनअनुसार हरेक काम निर्धक्क साथ गर्न सचिवहरूलाई निर्देशन दिँदै कुनै समस्या आइपरेमा त्यसको समाधान खोजिने स्पष्ट पार्नुभयो। ‘जनतालाई सेवा दिँदा अब सूचना र प्रविधिको उच्चतम प्रयोग गर्दै नवप्रवद्र्धनात्मक उपाय खोज्नुपर्छ’, ‘प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘सधैं परम्परागत र यथास्थितिवादमा रुमल्लिएर परिणाम दिन नसक्ने हो भने त्यसले झनै समस्या ल्याउन सक्छ, यसमा सबै सचिवहरू सचेत र सतर्क रहनुपर्छ।’
सरकारको उपस्थिति देखिने गरी सबै क्षेत्रमा काम हुन नसकेकाले अब त्यस्तो प्रवृत्ति अन्त्य हुनुपर्ने र हरेक मन्त्रालय र निकायले सरकारको उपस्थिति देखिने गरी काम गर्नुपर्ने आवश्यकता प्रधानमन्त्री ओलीले औंल्याउनुभयो। उहाँले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्नेमा जोड दिँदै आगामी दिनमा असाधारण किसिमले काम गर्नुपर्ने बताउनुभयो।
उहाँले पुँजीगत खर्च निकै न्यून हुनु दुःखद् भएको बताउँदै सही किसिमले काम गर्ने र पुँजीगत खर्च बढाउनु अहिलेको आवश्यकता भएको स्पष्ट पार्नुभयो। प्रधानमन्त्री र सचिवबीच बेलाबेलामा यस प्रकारका छलफल र अन्तक्र्रिया हुने भए पनि यस्ता छलफलहरू औपचारिकतामा सीमित हुन पुग्दा परिणाम देखिन सकेको छैन।
५ महिनाअघि गत साउन ४ गते पनि प्रधानमन्त्री र सचिवहरूबीच यसरी नै छलफल हुँदा प्रधानमन्त्री ओलीले मुलुकको विकास निर्माण, सुशासन र सेवा प्रवाह प्रभावकारी बनाउन सचिवहरूलाई यसरी नै निर्देशन दिनुभएको थियो। त्यति बेला नै प्रधानमन्त्रीले सचिवहरूसँग आफूले प्रगति योजना सुन्न चाहेको बताउनुभएको थियो । त्यति बेला सचिवहरूले प्रधानमन्त्रीको निर्देशनअनुसार काम गर्ने बताए पनि ५ महिनापछि खासै परिणाम आउन नसकेको भन्दै प्रधानमन्त्रीले सचिवहरूसँग कार्यप्रगतिका बारेमा सोधखोज गर्नुभएको हो ।
छलफलमा सहभागी केही सचिवहरूले विभिन्न समस्याका बाबजुद आफूहरूले प्रभावकारी कार्य गरिरहेको भन्दै परिणाम भने आउन नसकेको स्वीकार गरेका थिए। प्रधानमन्त्री ओलीले सचिवहरूलाई कुनै समस्या भए त्यसको समाधान खोज्न र समस्या समाधान गरी परिणाम निस्कने गरी काममा खट्नुपर्नेमा जोड दिनुभयो।
सो कार्यक्रममा मुख्य सचिव एकनारायण अर्यालले सचिवहरूले आफ्नो जिम्मेवारीमा रहेका कार्यहरू इमानदारीतापूर्वक सम्पन्न गर्नुपर्ने, ऐननियमअनुसार काम गर्दा कुनै डर त्रास नमानी निर्धक्कका साथ गर्नुपर्ने र त्यस्तो अवस्थामा कुनै समस्या आइपरेमा अभिभावकको हैसियतले त्यस्ता समस्या समाधान गर्न आफू तयार रहेको बताउनुभयो।
प्रतिक्रिया