डा. सन्दुक रुइत श्रीपति समाजसेवा पुरस्कारबाट सम्मानित


काठमाडौँ।
आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत श्रीपति समाजसेवा पुरस्कारबाट सम्मानित भएका छन्।शनिबार पोखरामा आयपजित श्रीपति कोइराला गुठीले उनलाई २ लाख २२ हजार २ सय २२ रुपैयाँसहित पुरस्कृत गरेको हो।

गुठीको ३२ औं साधारणसभामा उक्त पुरस्कार ग्रहण गर्दै डा. रुइले आफूलाई थप उर्जा प्राप्त भएको बताए। ‘मैले गण्डकी प्रदेशको मुस्ताङबाट सन् १९९२मा आँखाको क्षेत्रमा असाध्यै महत्त्वपूर्ण काम सुरु गरेको थिएँ,’ उनले भने, ‘यही क्षेत्रको पोखरा मेरो पेसाको नजिक छ। यो पुरस्कार पाएर म धन्य भएको छु।’

तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक डा रुइत यसअघि नेपाल र अन्तर्राष्ट्रियस्तरका थुप्रै सम्मान र पुरस्कारले विभूषित भइसकेका छन्। आँखाको उपचारमार्फत सामाजिक न्याय र मानवताको सेवामा केन्द्रित रहेकोले उनलाई यो पुरस्कार प्रदान गरिएको गुठीका अध्यक्ष फणिन्द्रराज कोइराला बताए।

यसअघि यो पुरस्कारबाट मानव बेचबिखन न्यूनीकरणको क्षेत्रमा काम गर्ने संस्था माइती नेपाल, महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र, सर्लाहीको पद्म भुवनेश्वरी नमुना वृद्ध सेवा आश्रम र पोखराको विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति पुरस्कृत भइसकेका छन्।