काठमाडौं ।
आगामी २६ गते रिलिजमा आउने फिल्म कार्साङमा समावेश सात भञ्ज्याङ बोलको गीत सार्वजनिक गरिएको छ।
गीतमा डीपी खनालको शब्द रचना, एसडी योगीको संगीत, एसडी योगी र रेश्मा पुन मगरको स्वर तथा रिकेश गुरुङको एरेन्जमेन्ट रहेको छ।
गीतको भिडियोमा फिल्मका मुख्य कलाकारद्वय दयाहाङ राई र सिर्जना निङलेखुलाई फिचर्ड गरिएको छ। प्रेमिल गीतमा दयाहाङ र सिर्जनाको प्रेम देखाइएको छ। प्रेम, त्यसका सम्झना, सँगै जिउने रहर र त्यसका लागि दुई पात्रको योजनामा गीत केन्द्रित छ।
मौलिक शब्द र भेषभूषाले गीतलाई जीवन्त बनाएको छ। गीतको भिडियोमा पूर्वी नेपालको शेर्पा समुदाय र राई समुदायको संस्कृतिको झल्को पाइन्छ। बिटा लगाउँदै दाइँ गरेको दृश्यले ग्रामीण परिवेश चित्रण गरेको छ।
यम शेर्पाको डेब्यु निर्देशनमा बनेको फिल्म ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा केन्द्रित छ। फिल्मले अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई प्रस्तुत गर्ने निर्देशक शेर्पाले जानकारी गराए।
दयाहाङ र सिर्जनास“गै जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डितलगायतका कलाकारले अभिनय गरेको फिल्म यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्सको ब्यानरमा छायाँकार पुरुषोत्तम प्रधानले निर्माण गरेका हुन्।
प्रतिक्रिया