बालगायक सचिन रहेनन्


काठमाडौं ।

भाइरल गायकका रूपले परिचित बालगायक सचिन परियारको निधन भएको छ। उनको उपचारको क्रममा बिहीबार बिहान १०ः४५ बजे त्रिभुवन विश्वविद्याय शिक्षण अस्पतालमा निधन भएको हो।

१३ वर्षीय उनी केही दिनदेखि आईसीयूमा उपचाररत थिए। गत वर्षदेखि नै स्वास्थ्य समस्यासँग जुध्दै आएका उनको मस्तिष्कमा पानी जम्ने समस्या थियो भने कम्मरमुनिको भाग राम्रोसँग चल्दैन थियो। स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएका उनको अवस्थाको बारेमा उनका पिता तेजेन्द्र परियारले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए।

केही समयअघि शल्यक्रिया गरेका सचिनलाई उभिनसमेत गाह्रो थियो। उनी केही समयअघि टेलिभिजन कार्यक्रम इन्दे्रणीमा प्रस्तुत भएका थिए भने राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन्।

सचिनले रातो रबर एक, रुमाल खस्छ कि, के छ र हजुर, बरको छायाँलेजस्ता गीत गाएका छन् भने कमला घिमिरे, करुणा राई र गोविन्द पौडेलको स्वर रहेको वरको छायाँले बोलको गीतमा अभिनेता राजेश हमालसँग अभिनय गरेका छन्। अन्य केही म्युजिक भिडियोमा अभिनय गरेका सचिनले हास्य श्रृङ्खला मेरी बास्सैमा पनि अभिनय गरेका थिए।

बालगायक परियारको असामयिक निधनप्रति विभिन्न क्षेत्रमा मानिसले दुःख व्यक्त गरेका छन्। यसै क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत उनको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले प्रतिभाशाली बालकमाथि पारिवारिक बेमेल र सामाजिक सञ्जालको भाइरल प्रवृत्तिले असर पुर्‍याएको उल्लेख गर्दै यस घटनाले सामाजिक सम्बन्धका संवेदनशील विषयमा सजग भएर मात्र प्रतिक्रिया दिनुपर्छ भन्ने पाठ सिकाएको जनाएका छन्।