रास्वपा अन्तिममा मसँगै आउँछ


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संस्थापक महामन्त्री मुकुल ढकाल पार्टीबाट कारबाहीमा परेसँगै यति बेला पार्टीको मुख्य कामबाट फुर्सदमा हुनुहुन्छ । यद्यपि उहाँ स्वतन्त्रसहित विभिन्न राजनीतिक दलका नेता–कार्यकर्ता, विभिन्न भूगोल, क्षेत्र र विभिन्न ओहदाका व्यक्तिहरुसँगको भेटघाट तथा राजनैतिक कुराकानीमा व्यस्त हुनुहुन्छ । प्रस्तुत छ– ढकालसँग पत्रकार जीवन शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश :

आफ्नै अग्रसरतामा निर्माण गरेको रास्वपाको महामन्त्री मात्रै होइन साधारण सदस्यबाटै अलग हुनुप¥यो । यसलाई कसरी लिनुभएको छ ?
यसलाई राजनीति र कानुनी दुई तरिकाले हेर्नुपर्छ । कानुनी हिसावले आजका दिनसम्म राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्री र प्रवक्ता म नै छु । यसलाई राजनीतिक कोणबाट पनि हेर्नुपर्ने भएकाले त्यतातिर मैले धेरै जिद्धि गर्ने कुरा आउँदैन । कहिलेकाहीं साथीहरुले पार्टीको सदस्य छैनस् भन्छन् । तर, मैले त्यसलाई अस्वीकार गर्दैै आएको छु । यो पार्टी निर्माण गर्नका लागि मैले देखेको सपना, मैले गरेको काम र मैले राजनीतिकको तिक्डम प्रयोग नगरी निःस्वार्थ रूपमा पार्टी बनाउन र बचाउन गरेको काम सम्झन्छु ।

पार्टीका सांसद होस् वा कुनै जिम्मेवारीमा पठाउँदा मैले मेरो मान्छे भनेर कसैलाई सिफरिस गरिनँ । तर, पार्टीलाई रवि लामिछाने क्लब बनाउने काम भयो । व्यक्तिगत कम्पनीजस्तो गरी चलाउन खोजियो । त्यसमा मैले व्यक्तिगत क्लब बनाउनबाट माथि उठ्नुपर्छ भन्दा यो अवस्था आयो । राजनीतिक सम्बन्धको आधारमा व्यक्तिगत सम्बन्धलाई खराव पार्नु हुँदैन भन्ने कुरा हामीले बुझेनौं । पार्टी सभापति रवि लामिछाने र व्यक्ति रवि लामिछाने बीचको फरक वा पार्टी महामन्त्री मुकुल ढकाल र व्यक्ति मुकुल ढकालबीच फरक छुट्याउन सकेनौं । त्यसो हुँदा रास्वपा एउटा क्लब अर्थात् निश्चित घेराबाट माथि निस्कन सकेन । त्यो क्लबबाट चाहिँ म निष्काशित भएको हो तर पार्टीबाट निष्काशित भएको होइन ।

पार्टीको साधारण सदस्य नै नरहने गरी कारबाहीमा पर्नुभएको सात महिना भइसक्यो । अझै पार्टीमै छु भन्ने लाग्छ ?

निर्वाचन आयोगको विवरणमा चाहिँ महामन्त्री मै छु । यो कानुनी रूपमा विवादित विषय हो । विधानमा पनि महामन्त्रीलाई हटाउन मिल्ने व्यवस्था थिएन । महामन्त्रीकै निर्देशनमा बैठक बस्ने व्यवस्था छ । मैले प्रमाणीकरण गरेको विधान निर्वाचन आयोगमा पेस गरेको छ । विधानमा रवि लामिछाने र मैले हस्ताक्षर गरेर आयोगमा बुझाएका छौं । दुवै जनाको हस्ताक्षरबिना केही गर्नै मिल्दैन । यस प्रकारको निर्णय नेकपा कालमा आयोगले केपी ओलीको पक्षमा दुवै अध्यक्षको अनिवार्य हस्ताक्षर चाहिन्छ भनेर गरेको थियो । कानुनी पक्षबाट हेर्दा मलाई हटाउन मिल्दैन, राजनीतिक कुरालाई राजनीतिक तरिकाले नै बार्गेनिङ गर्नुपर्छ । जसरी सांसद भइसकेपछि पाँच वर्ष हटाउन पाइँदैन त्यस्तै पार्टीमा महाधिवेशन प्रक्रियाबाट बाहेक महामन्त्रीबाट हटाउन पाइँदैन । जुन संविधानको धार २६९ ले व्याख्या गरेको छ ।

रास्वपा स्थापना गर्दा रवि र मुकुल दुवै जनाको प्रयत्नमा निर्माण भयो, पार्टी यो अवस्थासम्म आउँछ कि भनेर तपाईंले सोच्नुभएको थिएन ?
पार्टीमा जटिल स्थिति आउँछ, संकट आउँछ र पार्टीको अस्तित्व रक्षा गर्नका लागि तयार हुनुपर्छ भन्ने चाहिँ सोचेको थिएँ । तर, सभापति र मेरो बीच यति चाँडै यस्तो द्वन्द्व हुन्छ भन्ने सोचेको थिइनँ । २०८४ पछि पार्टी ठूलो सिटसहित प्रधानमन्त्री बन्न सक्ने अवस्थामा आएपछि चाहिँ पार्टीभित्र मेरो उपयोगिता सकिन्छ र ममाथि प्रहार हुन्छ । त्यसपछि रवि र मबीच यो अवस्था आउन सक्छ भन्ने आँकलन गरेको थिएँ । पार्टीभित्र ममाथि निरन्तर प्रहार भइरहन्छ, तर त्यो प्रहारलाई रवि लामिछानेले छेकिरहन्छन् भन्नेमा थिएँ । पार्टीका जति पनि खराव पक्ष थिए वा सांसद र नेताहरुले नसुनेका जति पनि समस्याहरु थिए ती सबै ममाथि आउँथे । पार्टीको नेतृत्वको निर्णय वा सांसदका गतिविधिमा चित्त बुझेन भने महामन्त्रीका रूपमा मैले सबै नेता–कार्यकर्ताको गाली खानुपरेको थियो । जिम्मेवारी लिनुपरेको थियो । ती सबै कुराको बिष मैले नीलकण्ठ बनेर पिएको थिएँ । मैले जति साथीहरुलाई नेता, सांसद बनाएँ मलाई कसैले धन्यवाद समेत दिएनन् ।

पार्टी स्थापना गर्दा पहिलो चुनावमै २१ सिटसहित संसद्को चौथो दल बन्छ भन्ने आँकलन थियो वा अप्रत्यासित आएको भन्ने लाग्छ ?

मेरो आँकलन २१ सिट नै थियो । त्यो अहिले पनि मेरो कम्प्युटरमा सुरक्षित छ । तर, चुनावमा २० सिट मात्रै आयो र पछि उपनिर्वाचनमा १ थपेर २१ पुग्यो । कुन–कुन उम्मेदवारले जित्छन् भन्ने चाहिँ थाहा थिएन । तर, ८ प्रत्यक्ष र १३ समानुपातिक आउँछ भन्ने थियो । कुनै अप्रत्यासित होइन । केही नेताका लागि चाहिँ यो अनपेक्षित नै हो । कतिपय उम्मेदवार नै नपाएर समानुपातिक लिस्टमा पठाउन जबरजस्ती गर्नुपरेको थियो । प्रत्यक्षमा पनि उम्मेदवार नपाएर १ सय ३१ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएका थियौं । पछि समानुपातिक सांसद हुने बेलामा उहाँहरुबीच नै मारामार भयो ।

पार्टीमा खास समस्या चाहिँ के थियोे ?

पार्टी एउटा डुंगा (नाउ) हो । म त्यही नाउमा थिएँ । त्यो डुंगामा प्वाल परेको मैले देखेर यहाँ प्वाल रहेछ टाल्नुपर्छ भनेपछि त्यहाँ दुई वटा तर्क आयो । एउटा तर्क पार्टीमा प्वालै छैन भन्ने भयो र अर्को तर्क प्वाल भए पनि तेरो कारणले प्वाल भएको हो भन्ने भयो । तर, प्वाल टाल्नतिर कोही लागेनन् । बरु मलाई डुंगाबाट निकालेर फुत्त फाले । अहिले म किनारामा छु । पार्टीको प्वाल अझै ठूलो बन्दै गएर नाउ नै डुब्ने अवस्थामा पुगेको छ । मैले देशभरको साथीहरुसँग छलफल गरेर फर्कंदा पार्टी डुब्न लागेको छ, कसरी उतार्ने भन्ने थियो । त्यस बेला हामी सरकारमा थियौं । पार्टी सरकारमा १ सय ५० दिन बसेका बेला सहकारी प्रकरणमा गृहमन्त्री रहेका सभापति रवि लामिछानेले जीबी राईसहित सहकारी ठगहरुलाई पक्राउ गरेको भए र सहकारी पीडितलाई न्याय दिन सकेको भए जनताको अपेक्षा अनुसार काम हुन्थ्यो ।

सरकारमा गए पनि पुरानै दलहरु जस्तै गरेपछि जनतामा निराशा थियो । पार्टी अझै सरकारमै थियो भने निराशा थप बढ्दै भयावह स्थितिमा जाँदै थियो । तर, सरकारबाट निकालेपछि घटनाक्रम फेरि अर्कै ढंगले बग्यो र समस्या मैले भनेकै ठाउँमा आइपुगेको छ । पहिला रवि लामिछानेले सरकारमा जानका लागि विभिन्न अफवाह फैलाएका थिए । माओवादी शान्ति प्रक्रियामा आइसकेपछि संसद्वादी दलका नेताहरुले माओवादी नेता जहाँ छिर्न खोज्छन् त्यही ढोका खोलिदिनु, विदेश भ्रमणदेखि ठूल्ठूला होटलहरुमा बस्न दिनु उनीहरु पनि हामी जस्तै भइहाल्छन् भनेका उदाहरण दिएर साथीहरुलाई हतार नगर्नुस् भनेको थिएँ । तर, लामिछानेले पहिलो सरकारमा जान अनेक प्रपञ्च गरे । गइसकेपछि पुरानैको जस्तै स्कटिङ, अइस–आराम, सेवा–सुविधा, सरुवा–बढुवामा डुम्बनुभयो । त्यसमा मैले यो खतरनाक खेलो भइरहेको छ, हामीलाई उस्तै हुन भन्ने बनाउने प्रयास भइरहेको छ भनेको थिएँ । तर, लामिछानेको इच्छामै धेरै भर पर्ने अवस्थाले यो स्थिति आएको हो ।

सहकारी काण्डमा रवि लामिछाने फसेकै हुन् कि फसाइयो ?

रवि लामिछानेलाई हिरासतमा राख्नका लागि पार्टी भित्रैबाट प्रपञ्च रचिएको थियो । पहिलो कुरा नै रास्वपालाई रविको पार्टी बनाउने रास्वपा नबनाउने निर्णय नै गलत थियो । रविमाथि पोखरामा खोया काण्ड भएपछि लामिछाने स्वयंले नै यो मुद्दालाई राजनीतीकरण गरेका हुन् । उनले ७ पुस, २०८० मा पहिलोपटक बिनाप्रसंग कसैले प्रश्न नै नगरी ‘सहकारीको विषयमा म जोडिएको छैन’ भनेर गरेको टिप्पणीपछि यो विषय उजागर भएको होे ।

यसको मतलब उनले ठूल्ठूलो स्वरमा बाहिर जति नै ढाँटछोप गर्न खोजे पनि भित्रदेखि एकैचोटी आएको यो अभिव्यक्ति नै अहिले वास्तविकता बन्यो । मैले रविको हितका लागि पटक–पटक भन्दै आए पनि पार्टीभित्रका एकाथरी मान्छेले रविलाई सकेपछि मात्रै आफ्नो पालो आउँछ भन्ने ढंगले काम गरिरहेका थिए । त्यसैको परिणाम अहिलेको हो । रास्वपा भनेकै रवि र रवि भनेकै रास्वपा भन्ने तरिकाले निर्णयहरु हुने, अनुसन्धान र अदालति प्रक्रियामा गएको मुद्दालाई लिएर जिम्मेवार नेता र सांसदहरु नै सडकमा उत्रनुले पुराना दलहरुभन्दा खराव रहेछ भन्ने सन्देश गएको छ ।

वैकल्पिक राजनीतिक रूपमा उदाएको दलका नेताले अनुसन्धान गर भन्न सक्नुपथ्र्यो । एउटा व्यक्ति मर्दैमा देश बनाउने अभियान मर्दैनथ्यो । तर, एउटा व्यक्तिको बचाउमा सिंगो पार्टी र अभियान नै फस्नु हुँदैनथ्यो ।

अब तपाईं रास्वपा र पार्टीको पुरानो जिम्मेवारीमा फर्कने सम्भावना कत्तिको छ ?

एउटा विषयमा के विश्वस्त छु भने पार्टी एक जना रवि लामिछाने र अर्को मुकुल ढकालले बनाएको हो । यो बीचमा हामीबीच के–के भयो सबैलाई थाहै छ । तर, अदालती प्रक्रियाबाट लामिछाने पनि नआउने र जसलाई (मुकुल) पार्टीमा फर्काउन सकिन्छ त्यसलाई पनि नल्याउने हो भने हामीले लिएको उद्देश्य प्राप्ति हुँदैन । आन्तरिक प्रतिस्पर्धाको डरबाहेक मलाई पार्टीमा फर्काउन नपर्ने कारण के छ ? न मैले घूस खाएको, न पार्टीको अहित हुने गतिविधि गरेको, न त कहीं सेटिङमा फसेको छु । मैले गरेका कुराहरु त सबै सत्य सावित हुँदै आएका छन् । लामिछाने पनि अब फर्कन नसक्ने अनि मुकुल ढकाललाई पनि फिर्ता नल्याउने हो भने कसले खेलेको भन्ने प्रस्ट हुन्छ ।

रास्वपालाई रवि लामिछानेको पार्टी हैन रास्वपा नै बनाउ भनेर असार १९ गते महामन्त्रीका रूपमा मैले राखको प्रस्तावकै आधारमा मलाई पार्टीबाट निकालियो । बैठकलाई लाइभ गरौं भनेको थिएँ । मैले भने अनुसार त्यस बेला लाइभ गर्न सकेको भए त्यही छर्लंग भइहाल्थ्यो नि । अहिले फरक तरिकाले पार्टी अघि बढ्ेको हुन्थ्यो । रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔं भन्दा त्यो प्रस्तावलाई फेल गरेर उपसभापतिसहितका नेताहरुले रविकै पार्टी बनाउने भनेर निर्णय गरे ।
मेरो कुरा अझै पनि के हो भने पार्टी जोगाउने भएर रविको पार्टी नभई रास्वपा बनाउनुपर्छ र मलाई बोलाउनुपर्छ । इगो राखेर मलाई फिर्ता नबोलाउने हो भने को कहाँ अघि बढ्छ ? मसँग नमिलेर प्रचण्डसँग मिलेको चाहिँ वाहवाही हो त ? यो त्रुटि नसच्याउनु भनेको नियत नसच्याउनु हो ।

पार्टीमा फर्कने अवस्था आएन भने के गर्नुहुन्छ ?

पहिलो कुरा निर्वाचन आयोगमा मेरो मुद्दा विचाराधीन छ । उपयुक्त समयमा आयोगको फैसला माग्छु । त्यहाँ भएन भने अदालत जान्छु । त्यहाँबाट पनि न्याय पाइनँ भने म एउटा कुरा ढुक्कका साथ भन्न सक्छु कि पार्टी सग्लो आउँछ वा सबै भताभुंग भएर आउँछ अन्तिममा मसँगै आउँछ । तर, पार्टी भताभुंग बनाएर चाहिँ नल्याउनुहोला । अहिले पनि पार्टीका धेरै नेता–कार्यकर्ता साथीहरुले पार्टी बचाइदिनुप¥यो बाहिर धेरै नबोल्दिनू भन्ने गर्नुभएको छ । तर, यो अवस्थामा म पार्टी जोगाउने ठाउँमा त छैन ।

केही गरी पार्टीमा फर्कने अवस्था रहेन भने बालेन साहसहितका स्वतन्त्र राजनीतिक व्यक्तिहरुसँगको सहकार्यमा पार्टी निर्माणको नयाँ यात्रा सम्भव छ ?

मेरो आजको उद्देश्य पार्टीमा फर्किए पनि नफर्किए पनि कांग्रेस, एमाले, माओवादीलगायत पुराना दलबाहेक धेरै भन्दा धेरै स्वतन्त्र, नयाँ सोच भएका युवाहरुलाई एकठाउँमा ल्याउनुपर्छ भन्ने नै हो । पुराना दलका असन्तुष्ट व्यक्तिहरु समेतलाई समेटेर कतिपय विचार सिद्धान्तलाई पर राखेर सुशासन र जनताको सेवा प्रवाहलाई मुख्य एजेन्डा बनाउँदै जानुपर्छ । पार्टीमा फर्कंदा पनि रास्वपाको लिडरसिपमा त्यो गराउनेछु । अब तपाईंले भने जस्तो परिस्थिति आयो भने चाहिँ अहिले जो सहयात्रा गरिरहेका साथीहरु छन् उनीहरु छुट्छन् । तर, अन्तिम कुरा के हो भने पुराना विरुद्ध नयाँहरु एक ठाउँमा आउनुपर्छ । त्यसका लागि विभिन्न फर्मुला मैले पनि कोरेको छु ।

मैले बुझेको आजको स्थिति सम्म बालेनले २०८३ भन्दा अघि पार्टी बनाउने कुरा सोच्नुभएको छैन । पार्टी खोल्नु भनेको पनि पाप हो भन्ने बालेनको स्टेटम्यान्ट हो । किनकि उहाँ अहिले जनप्रतिनिधि हुनुहुन्छ । मेयर स्वतन्त्र हुनुपर्छ म सबै जनताको प्रतिनिधि हो भन्ने उहाँको अभिव्यक्ति हो । २०८३ को परिस्थिति हेरेर बालेनले पार्टी बनाउने÷नबनाउने निर्णय लिन्छन् । स्वतन्त्र व्यक्तिहरुसँग मेरो भेटघाट बाक्लिएको छ । धेरै व्यक्ति र समूह, धेरै चर्चित अनुहारहरु यो अभियानमा छन् । उनीहरुले भित्रभित्रै तयारी गरिरहेका छन् । यसलाई इगोरहित ढंगले व्यवस्थित गर्न सकियो भने नयाँहरुको एउटा वृहत्तर शक्ति बन्छ ।