सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१० कि दिलमाया चौधरीलाई अचेल भ्याइनभ्याइ छ। एकाबिहानै उठेर घरधन्दा सक्नैको हतारो हुन्छ। घर धन्दापछि उनको काम सुरु हुन्छ। उनी कुशबाट बनेका सामाग्रीहरू बनाएर बेच्ने काम गर्छिन्।
कुशका सामाग्री बनाउँन सिक्दै हुर्किएकी उनले अहिले यसैलाई आफ्नो पेशा बनाएकी छिन्। हतको सिपले आयआर्जन गर्न थालेपछि उनको दैनिकी फेरिएको छ। ‘यो पेशा अंगालेपछि दैनिकी मात्र हैन जिन्दगी नै फेरिएको छ मेरो। हातमा सिप भएपछि आर्थिक अवस्था पनि बलियो बन्ने रहेछ,’ उनले भनिन्। स्नातक तहसम्म पढेकी उनले जागरिको लागि दौडधुप नगरेकी हैनन्। सरकारी सेवामा उनले तयारी गरिनन् गैरसरकारी क्षेत्रमा काम गर्ने रहर थियो । प्रयास गरिन् तर काम पाइनन्।
आफूले चिनेजानेका कोही नभएकाले जागिरे बन्न गाह्रो भएको ठान्छिन्।
पढेपनि जागरि नभएपछि उनी घरकै चुलौचौकोमा मात्र सिमित थिइन्। सामान्य तरिकाले उनको दैनिकी बितिरहेको थियो।
‘घरको काम त मैले टन्नै गर्ने हो । तर पढेर पनि बाहिरफेरको केही काम नगर्दा मलाई असहज हुन्थ्यो,’ उनले भनिन्।
एकपटक (वि.स २०७६ सालमा) उनी साथीहरुसँग बर्दियाको ठाकुरद्धार घुम्न गएकी थिइन्। त्यहाँ उनले कुशका सामाग्रीहरु बनाएर बेच्ने गरेको देखिन्। त्यही बेला उनको मनमा आफूले पनि यस्तै सामाग्री बनाएर बेच्ने विचार आएको हो।
उनले आफ्नो घरमा कुशका सामाग्रीहरु बनाउँथिन्। त्यसैले यो काम गर्न उनलाई त्यति गाह्रो होला जस्तो लागेन। सुर्खेत फर्केर आफूले पनि कुसका धेरै सामान बनाउने र बेच्ने निधो गरिन्। उनले मनमा आएको विचारलाई निधोमा बदल्न सकेको यो काममा धेरै लगानी नचाहिने भएर पनि थियो। फेरि उनी कुस लिन बर्दिया गइन्। उनको खर्च जाने आउने मात्र भयो। बर्दियाबाट ल्याएको कुसका सामाग्री टन्न बनाएर राखेकी थिइन्। ती सामाग्री उनको गाउँ घुम्न आएका विदेशीहरूले किने। आफूले बुनेका सामान पहिलोपटक विदेशीले किन्दा उनी बहुत खुसी भइन्। राम्रै मूल्य पनि पाएकी थिइन्।
‘सुरूमै मैले टोकरी बेचेर २ हजार कमाएँ। त्यसपछि मलाई यी सामाग्रीको बजार राम्रै रहेछ कि भन्ने लाग्यो। उत्साहित भएँ,’ उनले भनिन्। पहिलो लटमा बनाएका सामान विकेपछि फेरि बनाइन्। उनका सामानहरू विक्दै गए गाउँसमाजमा थाहा हुँदै गयो। अनि सुर्खेतमा हुने मेलामहत्सोवमा पनि उनका सामाग्रीको माग हुन थाल्यो। अनि दिलमायालाई जागिर भएन भन्ने तनाब कम हुन थाल्यो। पैसा नकमाइ घरको काममात्र गरेर बस्दाको छटपटि सकियो। छोरीको आत्मनिर्भरता देखेर बुवाआमा खुसी भए।
त्यतिमात्र होइन अहिले त उनको परिवारमा भूमिकै फेरियो। पहिले पहिले आमाबुवासँग खर्च माग्ने उनी अहिले घरखर्च चलाउँछिन्। घरका निर्णय गर्दा आमाबुवाले उनलाई सोध्न थालेका छन्। आफ्नो उद्यम बढ्न थालेपछि दिलमायाको मनमा एक्लैले भन्दा धेरैले मिलेर काम गरे अझ बढी बेच्न सकिन्छ भन्ने विचार आइरहेको थियो। आफ्नो मनको कुरा गाउँका केही महिलालाई सुनाइन् । उनीहरूले सँगै काम गर्न आफूहरू राजी भएको बताए। उनीहरू मिलेर वि.स.२०८० सालमा समूह दर्ता गरे। नाम राखे–पातालगंगा हस्तकला सामाग्री उद्यमी समूह। अनि गाउँका महिला समूहमा मिलेर काम गर्न थाले।
अहिले दिलमाया सँगै ३७ जना महिलाले थारु परम्परा जोगाउन ढकिया, पुष्प ढक्की, पुजा ढक्की, किस्ती, झोला, टोपी, नाँउ र गमला जस्ता सामाग्री बुन्ने गर्छन्। यसरी बुनेका काशका सामाग्री उनीहरुले व्यक्तिगत रूपमा सम्पर्क गरेर र मेला महोत्सवसम्म पुराएर विक्रि वितरण गर्दै आएका छन्। ‘थारु समुदायमा छोरीको विवाहका लागि मानिसहरू काशबाट बनेका सामाग्री किन्न आउछन्, पछिल्लो समय घर तथा होटलमा सजावटको लागि पनि किनेर लैजान्छन्,’ दिलमाया भन्छिन्, ‘हामीले बुनेको ढकिया, व्याग, पुजादानी र गमला मेलामहोत्सबमा लैजान्छम् त्यँहा आउने बाहिरका मानिसले लैजानुहुन्छ।’
उनीहरु सबैले आम्दानीबाट मासिक ५ सयका दरले जम्मा गर्ने गरेका छन्। अहिले यो समूहको अध्यक्ष मानकुमारी चौधरी छिन्।
‘आफ्नो घरमा सानैबाट आमाले बुनेको देखेको थिए । हाम्रो समुदायको यो परम्परा पनि हो, यसो सोचेँ गाँउका सबै महिला दिदिबहिनिलाई समयको सदुपयोगसँगै आम्दानी पनि हुन्छ,’ अध्यक्ष मानकुमारीले भनिन्, ‘खाली बसेर समय खेर फाल्नुभन्दा आम्दानी पनि हुन्छ, आत्मनिर्भर पनि भइन्छ भन्ने सोच भयो।’
यी सामाग्री बुन्न सिप चाहिने त छँदैछ, मिहिनेत पनि धेरै लाग्ने उनीहरू बताउँछन्। ‘बुट्टा मसिनो हुन्छ, सजाउन धेरै समय लाग्छ,’ मानकुमारीले भनिन्, ‘एउटा ढकिया तयार पार्न १० देखि १५ दिन लाग्छ।’ उनका अनुसार ढकियाको साइज अनुसार मूल्य पर्छ। जस्तो ठूलो ढकिया २ हजार भन्दा मा बिक्रि हुन्छ। सानो ढकियालाई अलि कम। आफूहरूले यही हस्तकलाका सामाग्री बिक्रि गरेर प्रति व्यक्ति मासिक १५ हजार भन्दा बढी आम्दानी गरिरहेको पनि उनले बताइन्।
‘घरको काम सकेर फुर्सदमा बनाएका सामाग्रीबाट आम्दानी भएपछि हामीलाई आफू आत्मनिर्भर भएको महशुस गरेका छौँ,’ उनले भनिन्, ‘खुसी लाग्छ।’ दिलमायाले गरेको काम देखेर आफूहरू समूहमा जोडिएको शितली चौधरीले बताइन्। ‘हामीलाई त दिलमाया दिदीले गर्दा कस्तो राम्रो भएको छ। उहाँले हामीलाइ आत्मनिर्भर हुन सिकाउनु भयो। यो पेशामा लागेबाट घरको आर्थिक कुरामा मैले पनि सहयोग गर्ने गरेकी छुँ। श्रीमानसँग माग्न परेको छैन,’ उनले भनिन्, ‘माग्न नपरेपछि त कति आनन्द हुने।’
दिलमायाको कामबाट समूहका महिला मात्र होइन उनको परिवार र समाज समेत खुसी छ।
उनलाई समाजले छोरीमान्छेलाई हेर्ने नजरै फेरिएको छ। महिलाहरूले चाहेपछि गर्न सक्छन् भन्ने कुरा दिलमायाले देखाइदिएको ७० वर्षकी टिकुली थारूलाई लाग्ने रहेछ। भन्छिन्, ‘हाम्रो बेलामा घरकै प्रयोगको लागि बनाएका सामाग्रीहरू गाउँका छोरीबुहारीहरूले व्यवसायनै बनाएको देख्दा खुसी लाग्छ। दिलमायाले गरेर देखाइन्।’ यसरी महिलाहरूले आफै कमाएको देख्दा उनलाई लाग्छ – छोरी बुहारी अब बलिया भए।
समुदायका ३७ जना महिला अहिले नियमित कुशबाट बनेका सामाग्री बनाइरहेका छन्। नियमित रूपमा बजार पाउँदा त मासिक रुपमा १५ हजार रुपैयाँसम्म प्रति व्यक्ति आम्दानी गर्छन्। कुनै समय बिक्रि नहुँदा समस्या हुन्छ। बजारिकरणका लागि सरकारले आफूहरूलाई सहयोग गरिदिए हुन्थ्यो भन्ने यो समूहका महिलाहरूको अपेक्षा छ।
‘हामी नियमित रुपमा उत्पादन गर्न सक्छौँ । हाम्रा सामाग्री गुणस्तरीय छन् । यसका लागि ठूलो बजारको खोजी गर्न आवश्यक छ,’ समूहकी सपना चौधरीले भनिन्, ‘स्थानिय तथा प्रदेश सरकारले थारू समुदायको परम्परागत संस्कृति जगेर्ना गर्न पहल गर्ने हो भने हामीले उत्पादन गरेका सामाग्रीलाई बजारीकरणको पहल गरिदिन आवश्यक छ।’
वीरेन्द्रनगर १० का वडा अध्यक्ष डिलबहादुर रखालले आफ्नो वडामा महिलाहरू यसरी व्यवसायमा जोडिएको देख्दा खुशी लागेको बताउँछन्। उनले आफूले पनि महिलाहरुलाई आयआर्जनमा जोड्न र आर्थिक रुपमा परिपक्क बनाउन योजना बुनिरहँदा यो पनि एक असल अभ्यास भएको भन्दै यसलाई आगामी दिनमा सरकारका तर्फबाट सहयोग गर्ने बताए।
‘हस्तकलाका सामाग्री घर सजावटका लागि आकर्षक सामाग्री भएकाले पनि यसलाई कसरी बजारीकरणमा सहकार्य गर्ने भनेर सोच्दैछु,’ अध्यक्ष रखाल भन्छन्, ‘महिला सशक्तिकरणमा आफ्नो वडालाई अब्बल बनाउने योजनामा छु।’
प्रतिक्रिया