भुटानी नेपालीको कथामा सानुमाया


काठमाडौं ।

भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथामार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावना प्रस्तुत गर्दै सानुमाया म्युजिक भिडियो सार्वजनिक गरिएको छ।

भिजुअल आट्र्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्मित भिडियो लेखक तथा निर्देशक विवेक रसाइलीको निर्देशनमा तयार पारिएको हो। भिडियोमा दीपक रसाइली, मिरुना मगर, र प्रेम सुब्बालाई फिचर्ड गरिएको छ।

भिडियोमा मिरुनाको पात्रले आफ्नो प्रेम र करियरबीचको संघर्ष झल्काउँछ, जसले समाजमा पहिचान नभएको अवस्थाबाट उत्पन्न हुने द्विविधा र कठिनाइलाई चित्रण गर्छ।

भिडियोमा मिरुनाले भुटानी नेपाली समुदायकी एक महिलाको भूमिका निर्वाह गरेकी छिन्, जो आफ्नो करियर र आफ्नो प्रेमबीच छनोट गर्नुपर्ने अवस्थामा छिन्। उनको पात्रले पहिचानको अभावले ल्याउने सामाजिक दबाब र व्यक्तिगत द्वन्द्वलाई जीवन्त रूपमा पर्दामा उतारेको छ।

गीतमा समेटिएका कथा र सांगीतिक संयोजनले दर्शकलाई पात्रको भावनामा डुबाउन मद्दत गर्छ। विजय बस्याल कार्यकारी निर्माता रहेको भिडियो भिजुअल आट्र्स स्टुडियो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।