बाजुरा ।
बडीमालिका नगपालिका–९ चौराटाका महाबिरे चँदारा गत साता भीरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो। स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा उहाँलाई अचेत अवस्थामा जिल्ला अस्पताल मार्तडी पुर्याइयो । जनरल फिजिसियनका अनुसार चँदराको टाउकोमा रगत जमेको थियो।
जिल्ला अस्पताल बाजुरामा उपचार हुन सकेन। महाबिरेलाई तत्काल सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरियो। पछिल्लो दिन धनगढी पुर्याउँदा अस्पतालले उहाँलाई मृत घोषणा गर्यो । जिल्लामा सहज उपचार नपाएर बीच बाटोमै मृत्युवरण गर्ने महाबिरे त बाजुराका एक प्रतिनिधिमूलक पात्रमात्र हुनुहुन्छ। जिल्लामा सहज उपचार नपाउँदा कयौं बिरामीको बाटोमै ज्यान गएका विवरणहरू आइरहन्छन् ।
‘सामान्य उपचारबाहेक गम्भीरखाले बिरामीको जिल्लामा उपचार हुने वातावरण नै छैन, न त पर्याप्त दक्ष जनशक्ति छ न त उपकरण नै छन्’, जिल्ला अस्पताल बाजुराका प्रमुख डा. चन्द्रशेखर यादवले भन्नुभयो– ‘बाजुराका नागरिकलाई जिल्लामै उपचार गराउने हो भने यो नवनिर्मित ५० श्ययाको अस्पताल स्वीकृत गर्नुपर्छ । यहाँ हाल कार्यरत चिकित्सकले चौबिसै घण्टा समय दिँदा पनि धेरै बिरामीलाई रेफर गर्नुपर्ने अवस्था छ । हाल १८ जना अस्पताल कर्मचारीको दरबन्दी छ । जम्मा १० जनामात्र कार्यरत छौं, बिरामीको चापले बिहानको खानै खान पाइँदैन ।’
जिल्ला अस्पतालमा बाजुरालगायत हुम्ला मुगुका बिरामी पनि बाजुरा आउँछन् । बिरामीको चाप दिनानुदिन बढ्दो छ । सरकारले स्वीकृति दिए जिल्ला अस्पताल बाजुरालाई रेफरसेन्टर बनाउन सकिन्छ निमित्त मेडिकल सुपरिटेन्डेन्ट यादवले बताउनुभयो ।
पछिल्लो समयमा एक जना स्त्रीरोग विशेषज्ञ डा. सुनिलकुमार साहलाई ल्याउँदा गर्भिणी महिलाको सीएस गर्न सहज भएको छ । महिलाको तल्लो पेट दुःख्ने आङ खस्ने, सेतो पानी बग्ने, योनी संक्रमणका समस्याको निदान हुँदै आएको छ । ‘थोरै बजेट, दक्ष जनशक्ति र अपर्याप्त औषधिका बाबजुद जिल्ला अस्पताल बाजुराले हाडजोर्नी, फिजियोथेरापी, ल्याब, ओसीएमसी, सेवा, लैंगिक हिंसा एकद्वार संकट व्यवस्थापन र पोषण केन्द्रलगायतका सुविधा दिइएको छ । यद्यपि, त्यतिमात्र पर्याप्त छैन’ –सूचना अधिकारी नृप गिरीले भन्नुभयो । पछिल्लो समयमा अक्सिजन प्लान्ट सञ्चालनमा ल्याउँदा बिरामीलाई धेरै सुविधा भएको छ, ५० श्ययाको अस्पतालका लागि जनप्रतिनिधिले चासो दिनुभयो भने बाजुरेलीका लागि वरदान हुनेछ’ –जिल्ला अस्पताल बाजुराका पूर्व अधिकृत रामचन्द्र यादवले भने ।
तत्कालीन स्वास्थ्य निर्देशनालयका डीजी एवं ओएनएम सर्भे कन्सलटेन्सी महेन्द्र श्रेष्ठका अनुसार दुुई वर्षअघि ओएनएम (अर्गनाइजेसन म्यानेजम्यान्ट) सर्भे गरी सकेको छ । बाजुरा जिल्ला अस्पताल जनसंख्या, बिरामीको चाप, भूगोल र दक्षजनशक्तिको आवश्यकतालगायत हरेक मापदण्डलाई विश्लेषण गर्दा उपयुक्त छ । बाजुराको सन्दर्भमा पचास श्ययाको अस्पताल अति आवश्यक भएको ओएनएम प्रतिवेदनमा उल्लेख छ । तर, प्रदेश सरकारले बजेट नभएको भन्दै प्रतिवेदन फाइल त्यतिकै थन्क्याएको अवस्था हो । सरकार सञ्चालकको इच्छाशक्ति भए बाजुरा जिल्ला अस्पतालमा पचास श्ययाको अस्पताल सञ्चालन गर्न कुनै गाह्रो छैन ।
‘पचास श्ययाको अस्पताल स्वीकृत भए हालको भन्दा २० गुना बढी सुविधा हुनेछ । आईसीयू कक्ष भेन्टिलेटर एनएसथेसिया, जीआई, सीटीस्क्यानलगायतका उपकरण जडान ओटी सेवाका लागि ११ जना एमडीजीपी विशेषज्ञ १२ जना मेडिकल अधिकृतसहित १४५ जना स्वास्थ्यकर्मीको स्थायी दरबन्दी हुनेछ । सोही परिकल्पनाअनुसार पचास श्ययाको अस्पताल भवन निर्माण भइसकेको छ । सरकारले स्वीकृत गर्नुप¥यो’ –कांग्रेस नेता कविराज पण्डितले भन्नुभयो । यद्यपि ५० श्ययाको अस्पताल सञ्चालनका लागि प्रदेश सरकार संघीय सरकारले त्यति चासो दिएको देखिँदैन।
सदरमुकाम मार्तडीको तालीमा अवस्थित उक्त भवन २८ करोड रुपियाँको लगातमा निर्माण कार्य सम्पन्न भएको बिल्डर्स कम्पनी पीएस कम्पनीका इन्जिनियर टेकराज भट्टले भन्नुभयो । भवन हेर्दा लोभलाग्दो छ सेवा प्रवाह भने टिठलाग्दो छ ।
प्रतिक्रिया