आयोजक समितिका ७० प्रतिशत चुनावी प्रक्रियाबाट बाहिर

अनेरास्ववियु क्रान्तिकारीको ३२ वर्षे उमेर हद लागू

1.13k
Shares

-अधिकांश पदाधिकारी आउट
-नयाँलाई अवसर, नयाँ अनुहारबीच भिडन्त
-माघ ५ गतेबाट निर्वाचन प्रक्रिया सुरु हुने , १२ गते मतदान

काठमाडौं ।

अनेरास्ववियु क्रान्तिकारीमा हालको आयोजक समितिका झन्डै दुई तिहाइ नेता  आउट भएका छन् ।  ३२ वर्षे उमेर हद पक्षधर विजयी भएपछि निवर्तमान कार्यसमितिका दुई तिहाइभन्दा बढी पदाधिकारी बिदा हुने देखिन्छ । त्यसमध्ये झन्डै १७ जना उपाध्यक्ष  उमेर हदको कारण आउट  भएका हुन ।

निर्वाचन आयोगले राति सार्वजनिक गरेको मत परिणाम अनुसार उमेर हद पक्षधरले खुला पक्षधरलाई २१ मतान्तरले पराजित गरेको हो । त्यससँगै आयोजक समितिका  अध्यक्ष, उपाध्यक्ष , महासचिव, सचिव लगायत मुख्य पदका उम्मेदवार निर्वाचन प्रतिस्पर्धाबाट हटेका हुन । 

आयोजक समितिका उपाध्यक्ष पवन कार्की, नरेश रेग्मी, मदन भुल, नारायण खनाल, तुकमान महरा, गजेन्द्र देव, सूर्यनारायण साह, मदन भट्टराई, अमरराज शाही, क्षितिज सापकोटा, मिलन एमसी, डिभी परेर अमेरिका गएका राजकुमार यास्सो, जिपी मैनाली लगायत १७ जना छन् । उपाध्यक्ष प्रविना अधिकारी मात्र उम्मेदवार हुने सम्भावना छ । महासचिव दिपेश पुन पनि उमेर हदको कारण आउँदो अधिवेशनमा प्रतिस्पर्धा गर्न पाउने छैनन् । उपमहासचिव प्रसुन कार्की, खगेन्द्र सुवेदी, प्रभाकर गुप्ता आउट भएका छन् ।

 उमेर हदको कारण बाहिरिएका सबै उपाध्यक्षले आगामी कार्यकालको लागि अध्यक्ष पदमा दाबी गरेका थिए । उपमहासचिवमा पाँच जना र सचिवमा करिब १० जना बाँकी रहेका छन् ।

 यसअघि असोज १० देखि १५ सम्म त्रिबिमा सम्पन्न २३ औँ राष्ट्रिय सम्मेलनमा उमेर हद लगाउने कि नलगाउने सम्बन्धमा विवाद भएपछि महाअधिवेशन स्थगित भएको थियो । त्यति बेला १० वटा समूहगत छलफलबाट आएका निष्कर्षको आधारमा २८, ३० र ३२ वर्षे उमेर हद राख्नुपर्ने सुझाव आएको थियो । उमेर हद लगाउने कि खुला गर्ने ? विषय विवाद अन्त्य गर्न शनिबार निर्वाचन भएको थियो । कुल २ हजार ३ सय ९८ मतदातामध्ये १ हजार ७ सय ८९ जनाले मत खसालेका थिए । जसमा ३२ वर्ष उमेर हद लागु गर्नुपर्छ भन्ने पक्षमा ९ सय मत परेको थियो भने विपक्षमा ८ सय ७९ मत परेको थियो ।

 २१ मतान्तरले पराजित भएपछि फेरी निर्वाचनमा होमिने तयारीमा रहेका आयोजक समितिका करिब ७० विद्यार्थी नेता नयाँ नेतृत्व हुनबाट रोकिएका छन् । विवाद समाधानगर्न पुस ९ गते माओवादीको केन्द्रीय कार्यालयमा बसेको निवर्तमान अध्यक्ष पञ्चा सिंह, सङ्गठनको इन्चार्ज हिमाल शर्मा, प्रमुख निर्वाचन अधिकृत मुक्ति प्रधान लगायतको संयुक्त बैठकले ३२ वर्ष उमेर हद लगाउने सहमति गरेको थियो । सोही आधारमा शनिबार देशभर भएको निर्वाचनमा उमेर हद कायम गर्ने पक्षले जितेका थिए ।

निर्वाचन समितिले आगामी माघ ५ गतेबाट नयाँ नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ । १२ गते नयाँ नेतृत्व चयन हुनेछ ।  माघ ५ गतेबाट सुरु हुने निर्वाचनमा वर्षमान र जनार्दन शर्माका नेताबीच प्रतिस्पर्धा हुनेछ । अब निवर्तमान उपमहासचिवबाट सुदिन पौडेल, हेमन्त राई, विजय सापकोटा, योगेन्द्र बुढा, रोशन थापामगर, प्रतीक कार्की, विष्णु ढुंगेल, विश्वमणि थापा लगायत नेताहरूले अध्यक्षमा दाबी  गरेका छन् ।

 पुन निकट पौडेल र शर्मा निकट हेमन्त राईबीच प्रतिस्पर्धा रहने सम्भावना रहेको एक विद्यार्थी नेताले जानकारी दिए । नारायणकाजी श्रेष्ठ निकट विष्णु ढुगेल, कृष्णबहादुर महरा निकट योगेन्द्र बुढा लगायत  नेताहरू अध्यक्षको दौडमा छन् । महासचिवमा देवेन्द्र शर्मा र  मदन ढकाल लगायत नेता लागिपरेका छन् । अन्यको विषयमा छलफल भैसकेको छैन । भर्खरै मत परिणाम आएको छ । कसले कुन पदमा उठ्ने भन्ने विषयमा केही दिनमा सार्वजनिक गर्ने होला–एक नेताले भने ।

 नयाँ कार्यसमितिले २ सय ४३ जनाको रहनेछ । त्यसमा ३३ पदाधिकारी रहने व्यवस्था छ । त्यसमा ९ उपाध्यक्ष, ७ प्रदेश ,उपत्यका विशेष र विश्वविद्यालय गरी ९ प्रदेश उपाध्यक्ष, सचिव र एक कोषाध्यक्ष लगायतका पदमा निर्वाचन हुनेछ । निवर्तमान अध्यक्ष पञ्चा सिंहले कति सदस्यीय कार्यसमिति हुने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । विधान अनुसार दुई तिहाइ सदस्य रहेको सचिवालय हुने व्यवस्था छ ।