गीतमा गुल्मी चन्द्रकोट


गुल्मी ।

गायिका सुशीला गौतमले पञ्चे बाजाको गीतमा गुल्मी चन्द्रकोट बारेमा रचिएको गीत सार्वजनिक गरेकी छन्। गीतमा गायक रबिन लामिछानेको शब्द र ईश्वर सिंहको संगीत रहेको छ भने गायिका गौतमलाई स्वरमा गायक रेशम निर्दोषले साथ दिएका छन्।

गुल्मीको चन्द्रकोटका पर्यटकीय स्थल चक्रेश्वर मेला, शान्तिपुर, टिमुरे डताल, डिब्रुङ देवी मन्दिरलगायतका स्थानलाई गीतमा समावेश गरिएको छ। गीतले माया प्रेमका अलावा चन्द्रकोट क्षेत्रको पर्यटकीय महत्वलाई दर्शाउन खोजेको गायिका सुशीला गौतमले बताइन्।

गायिका गौतम चन्द्रकोटको शान्तिपुरमा जन्मेकी हुन्। आफू जन्मे हुर्केको ठाउँको महत्वलाई गीतका माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यले गीत तयार पारिएको उनले बताइन्।

गीतमा चन्द्रकोट क्षेत्रसँगै आफनो मायालुमा कुनै पनि खोट नभएको चर्चा गरिएको छ। गीतको भिडियो चन्द्रकोटलाई लक्षित गरेर छायांकन गरिएको छ। गीत सुशीला गौतम युट्युब च्यानलबाट सार्वजानिक गरिएको हो।