सोनुले तताए चिसो काठमाडौं

1.22k
Shares

काठमाडौं ।

लोकप्रिय भारतीय गायक सोनु निगमले चिसिएको काठमाडौंलाई आफ्नो सांगीतिक प्रस्तुतिले तताएका छन्।
उनले क्रिसमसको अवसरमा बौद्धस्थित हायात रिजेन्सी परिसरमा बुधवार आफ्नो करिब दुई दर्जन गीतका साथ दर्शकलाई झुमाए।

सोनु निगम लाइभ इन नेपाल नामक कन्सर्टमा आफ्ना ब्याण्डका साथ प्रस्तुत भएका उनी आफ्नो सांगीतिक पर्खाइमा दिउँसोदेखि नै हायातको चौर परिसरमा जम्मा भएका दर्शकलाई साँझ ७ बजे आफ्नो सुपरहिट नेपाली गीत उकाली ओराली गर्दै गुनगुनाउँदै स्टेजमा झुल्किएका थिए। सोनु स्टेज चढेपछि दर्शकले उनलाई ताली र हुटिङले स्वागत गरेका थिए।

उनले नेपाली दर्शकलाई सम्बोधन गर्दै आफ्नो प्रस्तुतिलाई निरन्तरता दिए। लगातार तीन घण्टा आफ्ना विभिन्न गीतमार्फत मनोरञ्जन दिँदै सोनुले पुसको चिसोमा कन्सर्ट हेर्न आएका दर्शकलाई तताएका थिए। दर्शक पनि हरेक गीतमा उनलाई साथ दिँदै झुमेका थिए।

यू आर माई सोनिया, अल इज वेल, ये दिन दिवाना, मुझसे शादी करोगीजस्ता आफ्ना डान्सिङ नम्बरमा दर्शकलाई नचाएका सोनुले हर घडी बदलरहि हे रुप जिन्दगी, सन्देशे आते हेजस्ता गीतबाट भावुक बनाए।

भीआईपी, प्लाटिनम र जनरल गरि तीन श्रेणीमा बाँडिएर बसेका दर्शक सोनुलाई हेर्न आतुर थिए। जनरल श्रेणीका दर्शकलाई भने सोनुलाई हेर्न हम्मे हम्मे परेको थियो। जसका कारण दर्शकहरू एक अर्काको काँधमा चढेर सोनुलाई हेरेको दृश्य रोमाञ्चक थियो। आफ्ना गीत प्रस्तुत गर्दै बिच–बिचमा दर्शकलाई गरेको सम्बोधनले दर्शकहरूलाई अझ उत्साहित बनाएको थियो।

कन्सर्टको क्रममा उनले आफ्ना शुभचिन्तकले उपहार दिएको नेपाली झण्डा ओढेर प्रस्तुति दिएका थिए। कन्सर्टको अन्त्यमा उनले सन्देशे आते हे बोलको गीत गाउँदै मे वापस आउँगा नेपालमे आउँगा, काठमाडौंमे आउँगा भन्दै नेपाल आउने वाचा समेत गरे।

१९७३ ३० जुलाईमा भारतको फरिदाबाद, हरियाणामा जन्मिएका ५१ वर्षका सोनुले ४ वर्षको उमेरदेखि नै गीत गाउन थालेका थिए। आफ्ना पितासंग विवाह तथा विभिन्न पार्टीमा गाउँदै गायनमा लागेका उनले सन् १९९० मा फिल्म जनमका लागि पहिलो गीत गाएका थिए। तर त्यो गीत रिलिज भने भएन। सन् १९९३ मा रिलिज भएको फिल्म आजा मेरी जानमा समावेश ओ आसमान वाले जमी परमार्फत उनले सफलता हाँसिल गरे।

अच्छा सिला दिया तुने मेरे प्यार काबाट त उनको परिचय झनै फैलियो। सोनुले सन् १९९९ मा पहिलो सोलो एल्बम दिवाना प्रकाशन गरेका थिए। हिन्दी, कन्नड, पञ्जाबी, बंगाली, तमिल, असामी मराठीका भाषाका साथै नेपाली भाषामा पनि कयौं गीत गाएका उनका चर्चित नेपाली गीतमा फिल्म सिमानाको उकाली ओराली गर्दै र फूलको डालीडालीमा, फिल्म बादलपारीको बिरहीको भाकाले, फिल्म गोठालोको आँखाभित्र बस बस मायालु, म भएँ पागलजस्ता नेपाली गीतहरू गाएका छन्।

उनले नेपालमा छायांकन गरिएको फिल्म लभ इन नेपालमा पनि अभिनय गरेका थिए। नेपाल सुन्दरी तथा नेपाली नायिका झरना बज्राचार्यले उनका साथ त्यस फिल्ममा कतरा कतार बोलको गीतमा नृत्य गरेकी थिइन्। तर सोनु नायकका रूपमा भने जम्न सकेनन्। नेपाली टच नेपालले आयोजना गरेको कार्यक्रमका लागि आएका उनले बिहिवार बिहान पशुपतिको दर्शन गरे भने बिहिवार नै दिल्ली प्रस्थान गरेका छन्।