काठमाडौं ।
ग्रामीण फिल्महरूको महोत्सव नेपाल ग्रामीण फिल्म महोत्सव यस पटक पनि हुने भएको छ। सेलिब्रेटी नेपालले चौथो संस्करणको नेपाल ग्रामीण फिल्म महोत्सव आगामी वैशाखमा आयोजना गर्न लागेको हो।
पर्यटन प्रवर्द्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने उद्देश्यका साथ महोत्सव आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी गराए।
उनका अनुसार महोत्सवमा नेपाली ग्रामीण कथावस्तुमा बनेका फिल्म समावेश गरिनेछ। महोत्सवको लागि फिल्म दर्ता आह्वान गरिएको जनाउँदै उनले महोत्सवमा डकुमेन्ट्री, सर्ट फिल्म, फिचर फिल्म र भाषाभाषीका फिल्मलाई समावेश गरिने जानकारी गराए।
आफ्नै गाउँ, आफ्नै ठाउ, आफ्नै भाषा, आफ्नै फिल्म नाराका साथ हुने महोत्सवमा जुरीले छनोट गरेका फिल्म अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड प्रदान गरिनेछ।
चार वर्षदेखि हुँदै आएको महोत्सवमा मौलिक ग्रामीण विषयवस्तु समेटिएका फिल्म समेटिएको छ। महोत्सवमा फिल्म स्क्रिनिङसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउने छ भन्ने विषयमा अन्तरक्रिया र कार्यशाला गोष्ठीसमेत गरिनेछ।
पहिलो वर्ष गोरखाको लाप्राकमा आयोजना गरिएको महोत्सव दोस्रो पटक काभ्रेको भकुण्डेबेसी र तेश्रोपटक रामेछापमा आयोजना गरिएको थियो।
प्रतिक्रिया