–२२ जनालाई पुरस्कार र पदक, ४ जनामात्रै छात्र
– १४ हजार ३ सय ८ विद्यार्थी दीक्षित हुँदै
काठमाडौं ।
त्रिभुवन विश्वविद्यालयको ५० औँ दीक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरस्कार पाउनेमा छात्राहरूमात्रै झण्डै ८० प्रतिशत रहेका छन्। त्रिविले भोलि शनिबार ५० औँ दीक्षान्त समारोह मनाउँदै छ।
समारोहमा विभिन्न विधाका २२ जनाले स्वर्णपदक र पुरस्कार पाउँदैछन्। त्यसमध्ये ४जनामात्र छात्र रहेका छन् भने बाँकी १८ जना छात्रा रहेका छन् । दीक्षान्त समारोहमा महिलाहरूको वर्चस्व देखिएको हो ।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनाअनुसार २२ मध्ये एक जना छात्राले ३ स्वर्ण पदक पाउनुहुने भएको छ । ३ जना छात्राले २–२ वटा पदक पाउने भएका छन् । दीक्षान्त समारोहमा १४ हजार ३ सय ८ विद्यार्थी दीक्षित हुँदैछन् । दशरथ रंगशालामा हुने दीक्षान्त समारोहमा स्नातकतहदेखि पीएचडीसम्मका विद्यार्थी दीक्षित हुनेछन्।
दीक्षितमध्ये श्रीज्या काफ्लेले एमए व्यवस्थापन विषयमा सर्वप्रथम भएर तारापद चौधरी, खगेन्द्रमानसिं प्रधान र चन्द्रराज ढुंगेल पदक पाउने हुनुभएको छ । उहाँले सो विषयमा ३ दशमलक ६७ जीपीए अंक ल्याउनुभएको थियो ।
त्यस्तै, रेबिका भण्डारीले एमबीएस परीक्षामा प्रथम भएर नेपाल बैंक लिमिटेड सरदार गुञ्जमानसिंह स्वर्ण पदक र सोही विषयमा महिलाहरूमध्ये सर्वप्रथम भएर रामकृष्ण न्युच्छे प्रधान पुरस्कार प्राप्त गर्नुहुने भएको छ । उहाँले ३ दशमलव ९० जीपीए प्राप्त गर्नुभएको छ ।
अर्का छात्रा सुदीक्षा घिमिरेले नरेन्द्रमणि आचार्य दीक्षित र मोहनप्रसाद लाखे स्वर्ण पदक पाउनुहुने भएको छ । घिमिरेले एमए अंग्रेजी साहित्यमा सर्वप्रथम भएर दुईवटा स्वर्ण पदक पाउन लाग्नुभएको हो । उहाँले ३ दशमलव ८८ जीपीए ल्याउनुभएको छ ।
दुई पदक पाउने अर्का छात्रा आकृति झा हुनुहुन्छ । झाले स्नातक तहको परीक्षामा सर्वप्रथम अंक ल्याएर भाइस चान्सलर र भ्वाइस सत्य माँ स्मृति स्वर्ण पदक पाउनुहुने भएको छ । उहाँले ३ दशमलव ९९ प्रतिशत जीपीए ल्याउनुभएको छ ।
तथ्याङ्कअनुसार बीबीएसमा उत्कृष्ट अंक ल्याएर समिता ढुंगेलले नेबैलि छत्रबहादुर पदक पाउने हुनुभएको छ । वीएड परीक्षामा महिलाहरूमध्ये उत्कृष्ठ भएर शुशिलादेवी शर्मा पुरस्कार संगिता प्रजापतिले पाउनेहुनुभएको छ । एमएड तहमा महिलाहरूमध्ये उत्कृष्ठ स्थान ल्याउने सिताकुमारी श्रेष्ठ, एमए पत्रकारिता तथा आमसञ्चार विषयमा सर्वप्रथम हुने चेतना कुँवरले नारायण शान्ति मिश्र पदक पाउने हुनुभएको छ ।
त्यस्तै, एमएस्सी वनस्पति शास्त्र विषयमा सर्वप्रथम हुनुभएकी श्रीणा क्षेत्रीले इमिरेट्स प्राडा रामप्रसाद चौधरी स्वर्ण पदक पाउने हुनुभएको छ । एमएस्सी वातावरण विज्ञान विषयमा सर्वप्रथम हुनुभएकी रिकिता भण्डारीले मदन विद्या वातावरण विज्ञान पुरस्कार पाउने हुनुभएको छ ।
स्नातकोत्तर तहअन्तर्गत एमबीए तहमा सर्वोत्कृष्ट अंक ल्याउने सुधा काफ्लेलाई इन्द्रभक्त श्रेष्ठ स्वर्ण पदक प्रदान गरिने छ । व्यवस्थापन संकायअन्तर्गत एमफिल तहमा सर्वोत्कृष्ट अंक ल्याउनुभएकी हिरा श्रेष्ठले त्रिवि प्राध्यापक संघ सहिद उपप्राध्यापक हरिराज अधिकारी स्वर्ण पदक पाउने हुनुभएको छ ।
चार विद्यार्थी छात्रमध्ये सिभिल इन्जीनियरिङ विषयमा स्नातक तह( बिई सिभिल) विषयमा सर्वप्रथम हुनुभएका आशिष थापालाई शिवराज पन्त स्मृति पुरस्कार, एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कुटनीति विषयमा सर्वोत्कृष्ट हुने प्रतिकराज जोशीलाई डा.दुबसु क्षेत्री स्वर्ण पदक, एमएससी रसायनशास्त्रमा सर्वप्रथम हुने शुशिल पोखरेललाई अमृत पदक र एमए पुस्तकालय विज्ञान विषयमा सर्वप्रथम हुन सफल संजीवकुमार सिंहलाई शान्ति नारायण मिश्र पदक प्रदान गर्ने भएको छ ।
यो वर्ष दीक्षित गर्न त्रिविले ७३ हजार विद्यार्थीको ग्रेसलिस्ट पास गरेको थियो । तीमध्ये दीक्षान्त समारोहमा उक्त १४ हजार ३ सय ८ जनाले सहभागी हुन आवेदन दिएका थिए । दीक्षान्त समारोहमा ६३ वटा स्टलबाट दीक्षित प्रमाणपत्र प्रदान गरिने छ ।
प्रतिक्रिया