काठमाडौं ।
लोकप्रिय हास्य सिरियल सक्किगो नि समूहद्वारा निर्माणाधीन फिल्म लाज शरणम्को निर्माण सम्पन्न नहुँदै इन्टरनेसनल राइट्स बिक्री भएको छ।
शिवरात्रीको अवसर पारेर आगामी फागुन १४ गते रिलिजमा आउने फिल्मको भारत बाहेकको इन्टरनेसनल राइट्स सेभेन सिज इन्टरनेसनलले खरिद गरेको हो। फिल्म निर्माण कम्पनी जेपीटी क्रिएसनका तर्फबाट अर्जुन घिमिरे ‘पाँडे’ र वितरण कम्पनीका तर्फबाट प्याट्रिक सुवेदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सम्झौताअनुसार, सेभेन सिज इन्टरनेसनलले लाज शरणम्लाई दुई चरणमा विभाजित गरी अन्तर्राष्ट्रिय बजारमा वितरण गर्नेछ।
वितरक सुवेदीका अनुसार लाज शरणम् आगामी फेब्रुअरी २८ र मार्च ७ तारिखमा विभिन्न देशमा प्रदर्शन गरिनेछ। नेपालमा भने यो फिल्मको वितरण जिम्मा ब्यांकटेस इन्टरटेनमेन्टले लिएको छ। कुमार कट्टेल ‘जिग्री ब्रो’ द्वारा निर्देशित फिल्म सक्किगो नि टिमको प्रयासमा बनेकाले दर्शकमाझ निकै प्रतीक्षित मानिएको छ।
विजय बराल, मुकुन्द श्रेष्ठ, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामाका साथ सक्किगो नि टिमबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), हरिष निरौला (कक्रोज), प्रियना आचार्य (मुन्नी), कमलमणि नेपाल (खुपीका बाउ) लगायतका कलाकारले अभिनय गरेको फिल्म नवीन श्रेष्ठले निर्माण गरेका हुन्। फिल्ममा राम नरेश शाह र श्रीजना खड्का सह–निर्माता रहेका छन्।
प्रतिक्रिया