काठमाडौं ।
सभामुख देवराज घिमिरेले सरकारले आफ्नै जननी (आमा) को रूपमा रहेको संसद्सँग तर्कने, टाढा हुने प्रवृत्ति देखाउने गरेकोमा असन्तुष्टि व्यक्त गर्दै त्यस्तो प्रवृत्ति अन्त्य गर्नुपर्ने बताउनुभएको छ।
संघीय संसद् सचिवालयले भक्तपुरको नगरकोटमा आयोजना गरेको संसद्–सञ्चार सम्बन्ध विषयक अन्तरसंवादमा बोल्दै सभामुख घिमिरेले आफूलाई जन्मदिने संसद्प्रति सरकार पूर्ण रूपमा उत्तरदायी बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
‘संसद् सरकारको आमा हुन्, तर आफैंले जन्माएको सरकार आमाबाट टाढा हुने, तर्कने गर्छ भने त्यो गलत हो। सरकारले आफ्नो यस्तो प्रवृत्ति अन्त्य गरी आफूलाई जन्मदिने आमाप्रति माया गर्ने, उत्तरदायी बन्ने र पूर्ण रूपमा जिम्मेवार बन्नुपर्छ’ –सभामुख घिमिरेले भन्नुभयो ।
सभामुख घिमिरेले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका आ–आफ्नो जिम्मेवारी र अधिकारअनुसार अघि बढ्नुपर्ने र एकको अधिकारमा अर्को पक्षले हस्तक्षेप गर्न नहुने बताउनुभयो। उहाँले कानुन बनाउने विषयमा न्यायालयबाट कुनै प्रकारको अवरोध सिर्जना गर्न नहुने बताउनुभयो।
सभामुख घिमिरेले केही सांसदहरूले अनाहकमा सर्वोच्चमा मानहानिको मुद्दा व्यहोर्नु परिरहेको भन्दै यस्ता विषयमा न्यायालय पनि गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
सभामुख घिमिरेले क्यालेन्डर बनाएर प्रतिनिधिसभाको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने कार्य थालिएको र विधि पद्धति बसाल्ने कार्यलाई अघि बढाइएको बताउनुभयो । घिमिरेले सञ्चार क्षेत्रको महत्व र उपादेयता अत्यधिक बढिरहेको बताउँदै सञ्चार जगत्ले पनि जिम्मेवार भएर पत्रकारिता गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले आफू सञ्चार क्षेत्र र सञ्चारकर्मीसँगको सम्बन्ध प्रगाढ बनाउन सधैं उत्सुक रहेको बताउँदै सञ्चार क्षेत्र र संसद्को सम्बन्ध पनि वैज्ञानिक र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन प्रेसले ठूलो योगदान गरेको सन्दर्भ स्मरण गर्दै सभामुख घिमिरेले संघीय शासनलाई संस्थागत र विकास गर्न पनि प्रेस जगत्को सकारात्मक सहयोग आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा बोल्दै उपसभामुख इन्दिरा रानाले सञ्चार क्षेत्रले इमानदारिता गुमाएमा त्यसले मुलुकमा धेरै नै समस्याहरू सिर्जना हुन सक्ने बताउनुभयो।
उहाँले संसद् सचिवालय सञ्चारकर्मीसँग हातेमालो गर्दै अघि बढ्न तयार रहेको बताउँदै यसका लागि सञ्चारकर्मीले पनि सत्य तथ्य र वास्तविक समाचारमा गम्भीर ध्यान पुर्याउनुपर्नेमा जोड दिनुभयो। संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेले संसद्लाई सञ्चारमैत्री बनाउन आफूहरू तयार रहेको र सञ्चारकर्मीले पनि सत्य, तथ्य, निष्पक्ष र जिम्मेवारपूर्ण पत्रकारिता गर्नुपर्ने बताउनुभयो ।
संसद् सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा दुई दिनसम्म चलेको संसद् सञ्चार अन्तरसंवाद कार्यक्रममा यमबहादुर किसानले संसद्मा रिपोर्टिङ गर्ने सञ्चारकर्मीको दक्षता र क्षमता अभिवृद्धि गर्नुपर्ने र यसका लागि प्रदेशस्तरमा समेत विशेष कार्यक्रम लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो।
कार्यक्रममा संसद् सचिवालयका तर्फबाट सचिव डा. रोजनाथ पाण्डेले प्रभावकारी संसद्का लागि संसद् सञ्चार व्यवस्थापन, सञ्चारविज्ञ डा. जगत् नेपालले नेपालको संसदीय इतिहास, अभिलेख र सञ्चारकर्मीको भूमिका, वरिष्ठ पत्रकार हरिबहादुर थापाले संसदीय लोकतन्त्र प्रवद्र्धनमा मिडियाको भूमिकाबारेमा बेग्लाबेग्लै कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा सम्पादक तथा संसदीय रिपोर्टिङ गर्दै आइरहेका सञ्चारकर्मीले सुझाव प्रस्तुत गर्दै संसद्ले मिडियामैत्री नीतिहरू बनाउन नसकेको, अझै पनि पत्रकारले संसदीय रिपोर्टिङ गर्दा विभिन्न खाले दुःख झन्झट व्यहोर्नुपर्ने भएकाले त्यसको अन्त्य गर्नुपर्ने, मिडिया हाउस र संसद्को सम्बन्ध पनि प्रगाढ बनाउनुपर्ने, सांसदहरूको भूमिका प्रभावकारी बनाउनुपर्नेलगायतका सुझावहरू पेस गरेका थिए।
प्रतिक्रिया