रहेनन् ८ राष्ट्रिय पुरस्कार विजेता श्याम बेनेगल


एजेन्सी ।

बलिउड फिल्म उद्योगका लोकप्रिय व्यक्तित्व, फिल्म निर्देशक, पटकथा लेखक एवम् निर्माता श्याम बेनेगलको निधन भएको छ। लामो समयदेखि मिर्गौला रोगबाट पीडित उनको ९० वर्षको उमेरमा मुम्बई सेन्ट्रलको वोकहार्ट अस्पतालमा सोमवार राति निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।

दुई वर्षअघि दुबै मिर्गौला फेल भएको उनले डायलासिस गर्दै आएका थिए। उनले केवल १२ वर्षको उमेरमा फिल्मी करिअरको शुरुवात गरेका थिए। उनले आफ्ना पिता श्रीधर बेनेगलको क्यामेराबाट १२ वर्षको उमेरमा नै सर्ट फिल्म बनाएका थिए।

फोटोग्राफीमा रुचि राख्ने उनले पहिला अर्थशास्त्र र पछि फोटोग्राफीको पढाइ गरेका थिए। उनको यही रुचिले उनलाई फिल्म क्षेत्रमा प्रवेश गराएको थियो। सन् १९७४ मा पहिलो फिल्म अंकुर निर्माण गरेका उनले जुबैदा, द मेकिङ अफ द महात्मा, नेताजी सुभाष चन्द्र बोस : द फोरगटन हिरो, मण्डी, आरोहण, वेलकम टु सज्जनपुरजस्ता दर्जनौं फिल्महरू निर्देशन गरेका छन् भने सत्यजित रेमाथि डकुमेन्ट्री बनाउनुका साथै दूरदर्शनका लागि यात्रा, कथा सागर र भारत एक खोजजस्ता सिरियल पनि निर्देशन गरेका थिए।

आफ्नो करिअरमा उनले २४ फिल्म, ४५ वृत्तचित्र र १५ विज्ञापन फिल्म निर्माण गरेका छन्। मुजिबुर रहमानको जीवनमा आधारित फिल्म मुजिब–द मेकिङ अफ अ नेशन उनको अन्तिम फिल्म थियो। फिल्म जगतमा योगदानको लागि उनलाई सन् १९७६ मा पद्मश्री र सन् १९९१ मा पद्मभूषणद्वारा उनलाई सम्मानित गरिएको थियो भने सन् २००५ मा भारतीय सिनेमाको सर्वोच्च सम्मान दादासाहेब फाल्के अवार्ड पनि प्रदान गरिएको थियो।

उनी भारतमा सबैभन्दा बढी राष्ट्रिय पुरस्कार हासिल गर्ने व्यक्ति हुन्। उनको नाममा ८ राष्ट्रिय फिल्म पुरस्कारको कीर्तिमान रहेको छ। बेनेगलले आफ्ना फिल्ममार्फत नसिरुद्दीन शाह, ओम पुरी, अमरीश पुरी, अनन्त नाग, सबाना आजमी, स्मिता पाटिल र छायांकनकर्ता गोविन्द निहलानीजस्ता हस्ती जन्माएका थिए।

बेनेगल २०७१ सालमा नेपालको अस्कर फिल्म कलेजका विद्यार्थीमाझ प्रस्तुत भएका थिए। त्यो समयमा उनले नेपाली फिल्मको कथावस्तु र अन्तर्राष्ट्रियकरणबारे चासो र चिन्ता व्यक्त गरेका थिए। उनको मंगलवार मुम्बइस्थित शिवाजी पार्क ईलेक्ट्रिक क्रिमेटोरियममा अन्तिम संस्कार गरिएको छ।