काठमाडौं ।
वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा चारपाङ्ग्रे सवारीसाधनको आयात घटेको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा ९२ करोड तीन लाख ३६ हजार मूल्य पर्ने चार सय ८२ जीप, कार र भ्यान आयात भएका छन्।
गत आर्थिक वर्षको पाँच महिनाका तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा सङ्ख्याको आधारमा ३८.१३ प्रतिशत र राजस्वको आधारमा १६.४३ प्रतिशतले सवारीसाधनको आयात घटेको हो।
जबकि गत आर्थिक वर्षको सोही अवधिमा भने १ अर्ब २० करोड १४ लाख दुई हजार मूल्य पर्ने सात सय ७९ वटा जीप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले दुई अर्ब ८० करोड ९१ लाख राजस्व सङ्कलन गरेको थियो।
इन्धनबाट चल्ने जीप, कार र भ्यानको मात्रै नभएर वीरगञ्ज नाका हुँदै भित्रिने चारपाङ्ग्रे विद्युतीय सवारीसाधनको पनि आयात घटेको भन्सारको तथ्याङ्कले देखाएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा यो नाका हुँदै १४ करोड ७८ लाख छ हजार मूल्य पर्ने ९७ विद्युतीय जीप, कार र भ्यानको आयात भएको छ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा विद्युतीय सवारीसाधनको सङ्ख्याका आधारमा आयात ५९.०७ प्रतिशत र राजस्व सङ्कलनका आधारमा भने ५८.६३ प्रतिशतले गिरावट आएको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने ४६ करोड ५८ लाख ५३ हजार मूल्य पर्ने दुई सय ३७ वटा विद्युतीय जीप, कार र भ्यानको आयात भएको थियो। ती सवारीसाधन आयात हुँदा कार्यालयले २० करोड ३५ लाख ५८ हजार राजस्व सङ्कलन गरेको थियो।
प्रतिक्रिया