एजेन्सी ।
यतिबेला के–पप ब्यान्ड ब्ल्याक पिंककी रोज र अमेरिकी पपस्टार ब्रुनो मार्सको गीत एप्टले विश्वभर उल्लेख्य रुपमा लोकप्रियता कमाईरहेको छ।
विश्वका जुनसुकै कुनाको युवा पुस्ताको रोजाईमा परेको यो गीत बिना कुनै पनि पार्टी र जमघट नै अपुरो रहने झैँ भएको छ। अहिले विश्व हल्लाई रहेको यो गीतले रिलिजको एक महिनादेखि नै विश्वका सबै स्ट्रिमिङ प्लेटफर्ममा राम्रो प्रदर्शन गरिरहेको थियो।
सो गीत युट्युब, स्पोटीफाइ, आइट्युन, बिलबोर्ड चार्टमा शीर्षस्थानमा ट्रेन्डिङमा रहेको छ। यो गीतले लामो समयसम्म ट्रेन्डिङमा रहनुका साथै सर्बाधिक छिटो ६ सय मिलियन भ्युज बटुल्ने म्युजिक भिडियोको विश्व रेकर्ड तथा के पप भिडियो र पहिलो के पप गायिकाको समेत रेकर्ड राखेको छ।
हालै यस गीतले युट्युबमा कीर्तिमान रचेको हो। गत अक्टोबर १८ मा रिलिज भएको यो गीतले स्ट्रिमिङको ५९ दिन १८ घण्टामै यो रेकर्ड कायम गरेको हो। रोज र मार्सले गत नोभेम्बरमा क्यालिफोर्निया र जापानमा आयोजित सन् २०२४ को एसियन म्युजिक अवार्डमा प्रस्तुति दिएपछि यो गीतको चर्चा झनै चुलिन पुगेको थियो।
रिलिजको केहि हप्तादेखि नै बिलबोर्डका दुई सय उत्कृष्ट गीतमध्ये शीर्ष स्थानमा रहेको यो गीत हाल सो लीस्टको आठौं स्थानमा रहेको छ। यो गीत रिलिजदेखि नै युट्युबको ग्लोबल ट्रेन्डिङको शीर्षस्थानमा रहनुका साथै नेपालमा पनि ट्रेन्डिङ नम्बर एकमा आएको थियो।
खासमा यो गीतमा दोहोर्याएर भनिने आपाट्युको अर्थ अपार्टमेन्ट हो। जसलाई छोटकारीमा एपीटी भनिन्छ भने यो शब्द कोरियन ड्रिङकीङ गेम अर्थात मदिरा पिएर खेलिने रमाईलो खेलसंग सम्बन्धित। यस खेललाई अपार्टमेन्ट गेम भनिन्छ। एक अर्काको हात तलमाथि राख्दै अंक गनेर खेलिने सो खेलमा हार्नेले मदिराको एक शट पिउनुपर्ने हुन्छ र खेल फेरि सुरु हुन्छ।
ग्रामी अवार्ड विजेता गायक ब्रुनो र ब्ल्याक पिंककी रोजले यो गीतमा सहकार्य गर्नूको पनि छुट्टै कथा छ।
कोरियनमा निकै लोकप्रिय यो गीत रोजलाई निकै मनपथ्र्यो। उनी आफ्नो स्टुडियोमा फूर्सद हुँदाको समय यहि खेल खेल्ने गर्थिन् र आफ्ना विदेशी साथीहरुलाई सिकाउने गर्थिन्। ब्रुनो मार्स आफ्नो कन्सर्टमा कोरिया गएको बेला रोज र ब्रुनोको भेट भएको थियो।
ब्रुनोका साथ दोस्ती बढेपछि रोजले उनलाई आफ्नो स्टुडियोमा आउन निम्तो दिईन् र अन्य विदेशी साथीहरु जस्तै ब्रुनोलाई पनि आपट्यु खेल्न सिकाइन्। यो खेलको लोकप्रियताका कारण रोजले गीत लेख्ने विचार गरिन्। जसको शब्द र संगीतमा ब्रुनोले पनि मद्धत गरे र साथीहरुको सल्लाहमा उनीहरु दुईजनाकै स्वरमा सो गीत रेकर्ड भयो।
गीतमा आपाट्यु खेलबारे भनिएको छ भने भिडियोमा पनि खेल खेलेको रमाइलो दृश्य समावेश छ। यसरी एक देशको संस्कृतिक पक्षसँग जोडिएको खेलमा आधिरित गीत दुई देशका गायकगायिकाको सहकार्यमा निर्माण भयो भने यो गीतले संसारभर तहल्का पिटिरहेको छ। सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, रिलदेखि टिकटकमा समेत यो गीतको जर्बजस्त लोकप्रियता देखिएको छ।
प्रतिक्रिया