काठमाडौं ।
चलचित्र विकास बोर्डको आयोजनामा राजधानीमा जारी ५ दिने फिल्ममेकिङ मास्टरक्लास शुक्रबार सम्पन्न भएको छ।
कार्यशालामा टिम सिक्स बडिज्ले निर्माण गरेको फिल्म सिगरेट अभिनय, निर्देशन, कला, स्कृप्ट, प्रोड्युसरसहित उत्कृष्ट चलचित्र बन्न सफल भयो।
फिल्मको निर्देशन आरडि लामाले गरेका थिए भने कथा पनि उनकै थियो। त्यस्तै टिम युनिटीको गिल्टीले साउण्ड, छायांकन र सम्पादनको अवार्ड जितेको छ।
५८ जना फिल्मका विद्यार्थी तथा फिल्मकर्मीको सक्रिय सहभागिता रहेको मास्टर क्लासको अन्त्यमा सहभागीहरूले ७ समूह फेम चेजर्स, टिम यूनिटी, टिम लायन, रोरिङ ईगल, सिक्स बडिज्, टिम शुन्य र र्याण्डम क्रियटर्स नाममा विभाजित भएर २४ घण्टामा लघु फिल्म निर्माण गरी प्रदर्शन गरेका थिए। अंग्रेजी र अन्य विदेशी फिल्मसरह दृश्य सोच तथा उत्पादन गर्न सक्ने क्षमता अभिवृद्धिको उद्देश्यका साथ शुरू गरिएको मास्टरक्लास अष्ट्रेलियामा फिल्ममा स्नातकोत्तर गरेका सरोज कुमार चौहानले नेतृत्व गरेका थिए।
चलचित्र विकास बोर्डको प्रेक्षालयमा सम्पन्न मुभि स्क्रिनिङ एवं फिल्म मेकिङ मास्टरक्लास क्लोजिङ समारोहको फिल्म प्रतिस्पर्धाको निर्णायकमा दिपेन्द्र गौचन, सुशन प्रजापति, पूर्णेन्दु झा, र गौतम धिमाल रहेका थिए। कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले सहभागी तथा विजेतालाई अवार्ड र प्रमाणपत्र प्रदान गरेका थिए।
प्रतिक्रिया