लोकसेवा र शिक्षक सेवा आयोगका तयारी कक्षा निःशुल्क सञ्चालन गर्दै अनेरास्ववियु


काठमाडौं ।

अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीले लोकसेवा आयोग र शिक्षक सेवा आयोगका लागि निशुल्क रुपमा तयारी कक्षाहरु सञ्चालन गर्ने भएको छ। कमिटीको पुस १ गते बसेको तेस्रो पदाधिकारी बैठकले सो निर्णय गरेको हो।

बैठक अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौँ जिल्ला इन्चार्ज धर्मराज तिमिल्सिनाको प्रमुख आतिथ्यता र अध्यक्ष निराजन थापाको अध्यक्षतामा सम्पन्न भएको थियो। युवालाई देशमै रोजगारीमा अभिप्रेरित गर्ने अभिप्रायले तयारी कक्षाहरु सञ्चालन गर्न लागेको अनेरास्ववियुले विज्ञप्तिमा जनाएको छ।

विभिन्न पेसा व्यवसाय, भौगोलिक विकटता वा अन्य विविध कारणले इन्स्टिच्युट पुग्न नसकेर सरकारी सेवा प्रवेश गर्न नसकेका युवालाई लक्षित गरी सो कक्षा सञ्चालन गर्न लागिएको संगठनले जानकारी दिएको छ। लोकसेवा आयोग र शिक्षक सेवा आयोगका विभिन्न पदका लागि अनलाइनमार्फत तयारी कक्षा सञ्चालन गरिने आयोजकले जनाएको छ। त्यसको लागि पुस १५ गते भित्र गुगल फारम भर्नुपर्ने छ।

कक्षा सञ्चालनको लागि अनेरास्ववियु केन्द्रीय कमिटी सदस्य तथा काठमाडौं जिल्ला इन्चार्ज धर्मराज तिमिल्सीनाले जुटाउने जिम्मेवारी लिएका छन्। विकट र फरक क्षमता भएका, आर्थिक अभावमा रहेका देश भरिका युवाहरू तथा पेसा, व्यवसायको कारण अध्ययनमा कम समय दिने युवालाई कक्षा सञ्चालन गर्न लागिएको तिमिल्सीनाले जानकारी दिए।