भ्रमको खेती नहोस्


दशवर्से जनयुद्धमा हजारौं नेपालीको नरसंहार गरेको नेकपा माओवादीले इजरायलले प्यालेस्टिनीमाथि नरसंहार गरेको भन्दै त्यसको विरुद्ध देशव्यापी हस्ताक्षर अभियान चलाउने घोषणा गरेको छ । यो घोषणासँगै माओवादीको विगतको ज्यादतीले सम्झना दिलाउने कोशिश गरेको छ। हो, इजरायलले प्यालेस्टिनीमाथि गरेको ज्यादतीको जति विरोध गरे पनि त्यो अपूरो नै हुन्छ। आधुनिक मानव इतिहासमा इजरायलले प्यालेस्टिनीमाथि गरेको क्रुर हत्याको विरोध विश्वबाट जति हुनुपर्ने हो त्यो भएको पाइँदैन । शक्तिशाली मुलुकका अघि कुनै पनि देशले त्यस्ता अपराधलाई प्रश्रय दिएको पाइन्छ तर यो मानव इतिहासमा कलंकको रुपमा दर्ज हुनेछ ।

हिजो आफूले भनेको नमानेको भन्दै नृशंस हत्यामा उत्रिएको माओवादीले अहिले इजरायल र प्यालेस्टिनीमाथि भएको आतंक तथा हत्याको बारेमा हस्ताक्षर अभियान चलाउँदा विगतमा आफूले गरेको व्यक्ति हत्याको बारेमा माओवादीले आत्मालोचना गर्नुपर्दछ वा पर्दैन ? त्यो विषय अहिले सतहमा आएको छ । हजारौं निर्दोष प्यालेस्टिनीको हत्यामा संलग्न रहेको इजरायलमाथि उचित दण्ड हुनुपर्दछ। कुनै एक अमुक समूह वा व्यक्तिले गरेको हिंसाको सिकार जसरी निर्दोष जनतालाई बम र बारुदले उडाउने इजरायलमाथि विश्व समुदायले दबाब दिएर उसले गरेको कुकृत्यको भण्डाफोर गर्न विश्व जनमत तयार हुनुपर्दछ।

इजरायली हिंसाबाट पीडित भएकाहरु आज आफ्नो देश छोडेर शरणार्थीको जीवन बिताउन छिमेकी मुलुकहरुमा सहारा लिई कष्टकर जीवन बिताइरहेका छन्। आतंकवादको नाइके हमासले गरेको गल्तीको सिकार प्यालेस्टिनीलाई बनाउने इजरायलको कदम कुनै हालतमा स्वीकार गर्न सक्ने अवस्था देखिँदैन। निहत्था नागरिकको कत्लेआम हत्या गरेर आफूलाई गौरवान्वित बनाउन कोशिश गर्ने इजरायललाई मानवताविरोधी अभियोगमा अन्तर्राष्ट्रिय अदालतमा नै उभ्याउनुपर्ने देखिन्छ। साना दुधे बालबालिकादेखि वृद्धवृद्धासम्मलाई बम र मिसाइलको सिकार बनाएर विश्वसामु रुवाबासी गर्नुको कुनै अर्थ छैन।

यता हमासले अपहरण गरेको विपिन जोशीको सकुशल रिहाइको पहल गरेको भनेर नेपालीमाथि राजनीति गर्ने प्रयास गरिएको छ। आफूमाथि लागेको कालो धब्बा छल्न विपिन जोशीको रिहाइका लागि इजरायल लागेको भन्दै आफन्तलाई सान्त्वना दिने र नेपालीमाथि भ्रमको खेती गर्ने गरेको पाइन्छ।

यदि विपिन जोशीको रिहाइको पहल इजरायलले गरेको भए जोशीको अवस्था पहिले नै पत्ता लाग्ने थियो । तर यसले नेपालमा इजरायलीमाथि घृणा नफैलियोस् भनेर विपिन जोशीको कार्ड फ्याँकिरहेको छ भन्दा फरक नपर्ला। माओवादीले गरेको हस्ताक्षर अभियान र इजरायलले विपिनको रिहाइको पहल गरिरहेको भन्ने अभियान दुवै हास्यास्पद हो भन्दा फरक पर्दैन। आफूले विगतमा गरेको मानवताविरोधी अपराधको ढाकछोप गर्न दुवै पक्ष सक्रिय रुपमा लाग्नुले उनीहरुको नियत के हो भन्ने प्रस्ट हुन्छ।