काठमाडौं ।
राजधानीको थापागाउँस्थित मण्डला नाटकघरमा भोलि बिहीबारदेखि नाटक हरि हजुरबा मञ्चन हुने भएको छ। नाटक अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशनमा मञ्चन हुन लागेको हो।
अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङको निर्माणमा मञ्चन हुने नाटकमा नाजिरसँगै विजय बराल, रियुल्साङ, सबिना थापा, रोहित शाह, सुजना पाण्डे, मनीष पाण्डे र रिसु राउतले अभिनय गर्नेछन्।
नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्ने जनाइएको छ। चिठी पुर्याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ।
तीन सातासम्म मञ्चन हुने नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ। जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ। यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमा सिर्जना गरिएको दाबी गरिएको छ। नाटक पुस २८ गतेसम्म मञ्चन हुनेछ।
प्रतिक्रिया