एजेन्सी ।
विश्व प्रसिद्ध भारतीय तबलावादक उस्ताद जाकिर हुसेनको सोमबार बिहान निधन भएको छ। विश्व प्रतिष्ठित ग्रामी अवार्ड विजेता समेत रहेका उनको ७३ वर्षको उमेरमा इडियोप्याथिक पल्मोनरी फाइब्रोसिस नामक रोगको उपचारको क्रममा निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
दुई साताअघि अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा भर्ना भएका उनको अवस्था थप बिग्रिएपछि आईसीयूमा राखिएको थियो। सन् १९५१ मार्च ९ मा मुम्बईमा जन्मिएका हुसेन सानैदेखि तबलावादनमा रुचि राख्ने गर्थे। उनका पिता उस्ताद अल्लारख्खा कुरैशी पनि तबलावादक थिए।
उनले केवल ११ वर्षको उमेरमा अमेरिकामा कन्सर्ट गरेका थिए भने १९७३ मा पहिलो एल्बम निकालेका थिए। तबलावादनमा जादु छर्दै सफलता र लोकप्रियताको शिखर चुमेका उनले सन् १९८८ मा पद्मश्री, २००२ मा पद्म भूषण र २०२३ मा पद्म विभूषणजस्ता पुरस्कारबाट पुरस्कृत भएका थिए।
हुसेन आफ्नो करिअरमा चारपटक ग्रामी अवार्डबाट सम्मानित भएका थिए। उनी आफ्नो अद्वितीय तबलावादन कलाबाट विश्वभरका संगीतप्रेमीमाझ लोकप्रिय भएका थिए। उनले कथ्थक डान्सर, प्रशिक्षक एवम् आफ्नो म्यानेजर एन्टोनिया मिनेकोलाका साथ विवाह गरेका थिए। उनीहरूको दुई छोरीहरू रहेका छन्। उनको निधनपछि भारतीय राजनीतिज्ञ, सेलिब्रेटी एवम् फ्यानहरूले शोक व्यक्त गरिहेका छन्।
प्रतिक्रिया