मानिसको आँखाबाट तब आँसु झर्छ, जब उसको कोही आफन्त वा परिवारजनको मृत्यु हुन्छ वा ऊ धेरै पीडामा हुन्छ । पछिल्लो समय बाटोमा जुत्ता सिलाउनेदेखि मकै पोल्ने, साग बेच्ने, चटपटे बेच्नेसँग सहकारीको कुरा गर्नेबित्तिकै उनीहरु आँखाबाट आँसु झार्छन् । कोही रुन थाल्छन् त कोही अँध्यारो अनुहार लगाएर बोल्दैनन् । देशभर ३५ हजार बढी सहकारी दर्तामा रहेका छन् । यी सहकारीमध्ये आधाभन्दा बढी भागिसकेका छन् । नभागेका सहकारी पनि डुबेका छन् । बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन् । सहकारीमा करोडौं बचतकर्ताले निक्षेप राखेका थिए । तर, सहकारी रातारात भागेपछि उनीहरुको रुवाबासी भएको छ । सहकारीमा एकै व्यक्तिको एक लाखदेखि करोडौ डुबेको छ ।
अर्काको घरमा भाडा माझ्नेदेखि ज्यालादारी गर्ने, व्यापार व्यवसाय गर्नेहरुले सहकारीमा खाई–नखाई बचत गरेका छन् । अहिले सहकारी भाग्दा उनीहरुको बिल्लीबाठ भएको छ । ‘खाना साँच्यो अरुलाई, काम साँच्यो आफैंलाई’ भनेझैं मानिसहरुले खाई–नखाई आपत विपतमा काम लाग्छ भनी सहकारीमा निक्षेप राखे । तर, सञ्चालक र अध्यक्षहरु एकाएक भागेपछि अहिले त्यही रकमका कारण मर्नु कि बाँच्नु अवस्थामा पुगिएको छ ।
आफ्नो पुख्र्यौली सम्पत्ति बेचेर, विदेशमा वर्षौं रगतपसिना बगाएर कमाएको वा स्वदेशमै दिनरात काम गरी कमाएको रकम मानिसहरुले सहकारीमा राखेका थिए । सहकारीका अध्यक्ष, सञ्चालक र कर्मचारीहरुले आम सर्वसाधारणलाई बढी ब्याजको प्रलोभन देखाए । उनीहरुले निक्षेपको २२ प्रतिशतसम्म ब्याज दिने भन्दै रकम ताने । यसरी ब्याजको प्रलोभनमा परेर मानिसहरुले लाखदेखि करोडौं राखे ।
अहिले त्यो रकम डुब्दा कतिपयले सहन नसकेर आत्महत्यासमेत गरेका छन् । कतिपय भने डिप्रेसनमा गएका छन् । सहकारी भाग्दा वा निक्षेप फिर्ता नगरिदिँदा कतिपय बचतकर्ताको त उपचार गर्ने पैसा नभएर ज्यानै गएको छ । सहकारीले एक–दुईजनाको मात्र बिचल्ली बनाएको छैन । करोडौं सर्वसाधाराणलाई घर न घाटको अवस्थामा पु¥याएको छ । अहिले सहकारीप्रति सर्वसाधारण आक्रोशित हुँदै गएका छन् ।
उनीहरु कुनै पनि सहकारी संस्थाको बोर्ड देख्नेबित्तिकै त्यहाँ तोडफोड गर्न पुग्छन् । तर, घरधनीहरुले आफ्नो घरमा क्षति नपुर्याउन आग्रह गरेपछि फर्किन्छन् । सहकारीका कारण बचतकर्ता त पीडित भए नै, सँगै घरधनीहरु पनि समस्यामा परेका छन् । हिजो सहकारी सञ्चालन गर्न घर भाडामा दिएका उनीहरुलाई अहिले बचतकर्ता दिनहुँ तोडफोड गर्न आएपछि कसो गरौं भइरहेको छ । कतिपय घरधनीहरु त वडा कार्यालय गुहार्न पुगेका छन्। आफ्नो घर खाली गरिदिन उनीहरु हारगुहार गर्छन् ।
सहकारी संस्थालाई नै बक्यौता भाडा नदिनु तर घर खाली गरिदिनु भनेर उनीहरु बिन्ती गर्न थालेका छन्। अहिले कतिपय घरधनीले आफ्नो घर तोडफोड हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सहकारी संस्था सञ्चालनमा रहे पनि बाहिरको बोर्ड भने हटाइदिन्छन् । आफ्नो घरमा सहकारी सञ्चालनमा नरहेको उनीहरु देखाउँछन् ।
राजनीतिक दलहरुले ‘टोलटोलमा सहकारी, घरघरमा धानको भकारी’ भनेर नारा लगाए । आज त्यही सहकारीले सर्वसाधारणलाई मर्नु कि बाँच्नु अवस्थामा पुर्याएको छ । केही वर्षअघिसम्म म्यानपावर, कन्सलटेन्सी ठग, चोर भनिन्थ्यो । तर, अहिले त सहकारी संस्थालाई महाठग भन्न थालिएको छ । यस्तो हुँदासमेत सहकारीमन्त्री र सहकारी विभागका महानिर्देशक सहकारीमा पैसा नराख्नुस् भनेर सार्वजनिक सूचना निकाल्दैनन् ।
यता, प्रदेश तथा स्थानीय सरकार पनि सहकारीमा निक्षेप नराख्न आम सर्वसाधारणलाई सचेत गराउँदैनन्। विज्ञापन बोर्ड पनि आम नागरिकलाई सचेत गराउँदैन। अहिले जनता भन्छन्, ‘सञ्चारकर्मीहरुले हामी थप डुब्नबाट जोगाए। उनीहरुले सहकारी डुब्दै छ भनेर बेलैमा सचेत गराए । जसले डुब्ने त डुबिहाले तर नडुबेकाहरु पनि डुब्नबाट बचे ।’
जनता सरकारभन्दा सञ्चारमाध्यममाथि बढी विश्वास गर्छन्। किनकि मिडिया भनेको जनतालाई ऐना देखाउने एउटा माध्यम पनि हो। यदि मिडियाले बेलैमा सहकारीबारे नागरिकलाई सचेत नगराएको भए आज देशभरका जनता सहकारीपीडित हुन्थे। अहिलेभन्दा कैयौं गुणा बढी जनता सहकारीबाट पीडित हुन्थे। यद्यपि, मिडियाको खबरदारीका कारण अरु करोडौं जनता डुब्नबाट जोगिए।
सरकारमा बसेकाहरु अहिले पनि सहकारी ठीकठाक रहेको ठोकुवा गर्छन्। उनीहरु सहकारीले यत्रो सर्वसाधारणको बिचल्ली बनाएको देख्दैनन्। देख्नु पनि त कसरी, सहकारीमार्फत जनता डुबाउनुमा सरकार र राजनीतिक दलहरुकै त हात छ। यिनीहरुकै मिलेमतोमा सीधासाधी जनतालाई सहकारीमार्फत फसाइएको हो। मुलुकको आधाभन्दा बढी सहकारीमा नेता तथा कर्मचारीको लगानी गरेको भेटिएको छ। दलका एकपछि अर्को नेता सहकारी ठगीमा मुछिएका छन् ।
सरकार पनि आफ्नालाई जोगाउने खेलमा छ। प्रधानमन्त्री आफ्ना पार्टीका नेताले सहकारीमार्फत जतिसुकै जनता ठगे पनि केही गर्दैनन् । उनी जनताप्रति न जवाफदेही छन्, न जिम्मेवार । सरकार बचतकर्ताको निक्षेप फिर्ता नगर्ने सहकारी सञ्चालक, अध्यक्षहरुलाई कारबाही गर्दैन, जसले गर्दा उनीहरुको मनोबल झनै बढेको छ ।
अझै पनि सहकारी सञ्चालक, अध्यक्षहरु सोझासाझा नागरिक ठग्ने दाउमा छन् । उनीहरु बचतकर्ताको रकम फिर्ता गर्दैनन् । अनि रकमको साटो घरजग्गा, गाडी वा शेयर लिन भन्छन् । त्यो पनि उनीहरुले भनेको मूल्यमा । एक लाख आनामा बिक्री नहुने दुर्गम ठाउँको जग्गा उनीहरु २० लाखदेखि करोडसम्म भन्छन् । दुई लाखमा नबिक्ने गाडी र सय रुपियाँ नपर्ने शेयर पनि दशौं गुणा बढीमा बेच्न खोज्छन् ।
बचतकर्ताहरुले ती धितो नलिने भनेमा सीधै भन्छन्, ‘लिने भए लिनुस्, नभए हामी निक्षेप फिर्ता गर्न सक्दैनौं ।’ हिजो मीठा–मीठा कुरा गरेर बचत गर्न लगाउने अनि कहिले निक्षेप माग्दा यस्तो भन्न पाइन्छ ? बजारमा घरजग्गा, गाडी र शेयरको मूल्य घट्दै गएको छ तर सहकारीहरु भने बचतकर्तालाई महँगोमा भिडाउन खोजिरहेका छन् ।
छिट्टै नाफा कमाउन र घुसको प्रलोभनमा सहकारीहरुले सम्पूर्ण कर्जा घरजग्गा, गाडी र शेयरमा लगानी गरे । कोरोना महामारीपश्चात् यो क्षेत्रमा आएको मन्दीका कारण सहकारीहरु डुबेका हुन् । अहिले पनि अधिकांश सहकारीका सञ्चालक, अध्यक्षहरु लुकेर हिँडिरहेका छन् । बचतकर्ताले कुटपिट गर्ने वा जेल कोच्ने डर उनीहरुमा छ । तर, सहकारीको मात्र नभई बैंकको पनि लगानी यही तीन क्षेत्रमा रहेको छ ।
यो क्षेत्रमा लगानी गरेकै कारण अर्बौंको कारोबार गर्दै आएका सहकारी त डुब्नुप¥यो भने बैंक पनि डुब्न सक्छ । अहिले बैंकमा समस्या देखिसकेको छ । बैंकले कर्जा उठाउन सकिरहेको छैन । अर्कोतर्फ, धितोको मूल्य दिनप्रतिदिन घट्दै गएको छ । यद्यपि, मूल्य घटे पनि बिक्री भने शून्य छ । बैंकमा जम्मा गरेको रकम निकाल्नेको भीड बढ्दै गएको छ । यसले गर्दा बैंक पनि संकटमा परिसक्यो । सहकारी त घरजग्गा, गाडी र शेयरमा लगानी गरेकै कारण भाग्नुप¥यो । अब बैंक पनि टाट पल्टिने अवस्थामा पुगेको छ ।
– रुषा थापा ।
प्रतिक्रिया