कार्साङमा जितु नेपाल गम्भीर


काठमाडौं ।

सानो पर्दाबाट हास्य कलाकारका रूपमा लोकप्रियता कमाएका जितु नेपाल ‘मुन्द्रे’ ठूलो पर्दामा पनि जमिरहेका छन्।
दयाहाङ राई मुख्य भूमिकामा रहेको फिल्म कार्साङमा जितुको जोडी दयाहाङसँग जोडिएको छ।

उनी यो चलचित्रमा दलित समुदायको पात्रमा देखिएका छन्। यसमा उनले दर्शकलाई हसाउने छन्। हसाउनु सँगसँगै केही गम्भीर चरित्र रहेको जितुले खुलाएका छन्। फिल्मका मुख्य कलाकार जितु नेपाल, सिर्जना निङलेखु, दिया मास्के लगायतले पूर्वी नेपाल पुगेर फिल्म हेर्न दर्शकलाई अपिल गरिरहेका छन्।

कलाकारहरूले आम ग्रामीण परिवेशको नेपालीको कथा कार्साङले भन्ने भन्दै फिल्ममा आफ्नै ठाउँ र समुदायको कथा फिल्ममा देख्न सकिने बताए। यम शेर्पाको डेब्यु निर्देशन र लेखनमा निर्मित फिल्म आगामी २६ गते रिलिजमा आउँदैछ।

शेर्पा समुदायको संस्कृतिमा आधारित फिल्ममा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन, सुरवीर पण्डित लगायतले अभिनय गरेका छन्।

यार्सा फिल्म्स् र पुरुषोत्तम प्रधान फिल्म्स्को प्रस्तुतिमा निर्मित फिल्मको सह–निर्माता गोविन्द बोहरा, कार्यकारी निर्माता आङछिरिङ शेर्पा र लाइन प्रोड्युसर वीरेन्द्र शाही हुन्।