एजेन्सी ।
अंग्रेजी नयाँ वर्ष सन् २०२५ शुरू हुनै लाग्दा विश्व चर्चित पप स्टार एड सिरनले दक्षिण एसियाली राष्ट्रमा कन्सर्टको घोषणा गरेका छन्। चर्चित बेलायती गायक, गीतकार तथा संगीतकार सिरनले दक्षिण एसियाली मुलुक भुटान, भारत लगायतका विभिन्न देशमा कन्सर्ट गर्ने भएका हुन्।
सिरनको वेब साइटमा जनाइएअनुुसार उनले भुटानको राजधानी थिम्पुमा सन् २०२५ जनवरीको अन्तिम साता कन्सर्ट दिनेछन्। सिरनको यो कार्यक्रम भुटानको सांगीतिक कार्यक्रममध्यकै भव्य हुने जनाइएको छ।
भुटानको चाङ्लीमिथाङ रंगशालामा हुने कन्सर्टको सबैभन्दा सस्तो टिकट शुल्क १० डलर रहेको छ। त्यसै गरी उनले भारतको सिलोङ, पुणे, हैदराबाद, चेन्नइ, बैंग्लोरु, दिल्लीजस्ता शहरमा समेत कन्सर्ट दिनेछन्। चीनको हाङ्जोउ, बहराइन, कतारका साथै युएईको अबुधाबीमा पनि उनको कार्यक्रम तय भएको छ। उनले गणितका चिन्ह (जोड, घटाउ, बराबर, भाग र गुणन चिन्ह) लाई लिएर कन्सर्ट आयोजना गर्न लागेका हुन्।
इङ्ग्ल्याडमा जन्मिएका सिरन सन् २००८ मा आफ्नो सांगीतिक करियर पछ्याउन लन्डन गएका थिए। एडको पहिलो सोलो गीत द ए टिम रिलिजको पहिलो हप्तामा ५८ हजारभन्दा बढी प्रति बिक्री भएको थियो।
सन् २०१२ मा सर्वश्रेष्ठ ब्रिटिस पुरुष एकल कलाकार र सफल वर्ष कलाकारको अवार्ड चुमेका सिरनको चर्चित गीत सेप अफ यू सर्वाधिक बढी बिक्री भएको एकल गीतको लिस्टमा पर्छ।
उनले अगस्ट २०१९ मा ६ महाद्वीपमा गरेको कन्सर्ट सर्वाधिक धेरै कमाउने तेस्रो कन्सर्ट हो। जसको करिब ९० लाख टिकट बिक्री भएको थियो।
प्रतिक्रिया