काठमाडौं ।
सौरभ चौधरीको निर्देशनमा बन्ने फिल्म कर्माको शुभ–मुहुर्तसँगै छायांकन आरम्भ गरिएको छ। निर्देशक चौधरीले शुक्रबार एक्सन फिल्मको छायांकन दाङको घोराहीबाट शुरू गरेका हुन्।
४० दिन दाङ र ६ दिन रुकुममा छायांकन हुने फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने कलाकार विपिन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र दिव्यदेवको सहभागितामा शुभ–मुहुर्तसँगै छायांकन आरम्भ गरिएको हो।
फिल्ममा उपासना अभिनेता कार्कीको जोडीको रूपमा देखिने छिन् भने मुकुन नेगेटिभ क्यारेक्टरमा देखिने भएका छन्। विपिन र उपासनाले पहिलो पटक फिल्ममा सहकार्य गर्न लागेका हुन्।
एक्सन ड्रामा जनरामा निर्माण हुने फिल्मको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन्। निर्देशक चौधरीका अनुसार फिल्ममा अभिनेता विपिनलाई पहिलोपटक एक्सन अवतारमा प्रस्तुत गरिनेछ। निर्देशक चौधरीले यसअघि अगस्त्यः च्याप्टर १ निर्देशन गरेका थिए। उक्त फिल्मबाट उनले दर्शक र समीक्षकको राम्रो प्रतिक्रिया पाएका थिए।
आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बसन्त लम्सालद्वारा निर्माणाधिन फिल्म छायाकंन शुरू हुनु अगावै अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्री गर्न सफल भएको छ। फिल्म नयाँ वर्षको छेको पारेर आगामी चैत्र २९ गते रिलिजमा ल्याइने भएको छ।
प्रतिक्रिया